राजनीतिक दलका शीर्ष नेताहरुको संयुक्त बैठक बस्दै

राजनीतिक दलका शीर्ष नेताहरुको संयुक्त बैठक बस्दै

काठमाडौं एक्सप्रेस

काठमाडौं, – राष्ट्रिय सभा निर्वाचनमा सिट बाँडफाँटको विषयमा छलफल गर्न प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुको संयुक्त बैठक आज फेरि बस्ने भएको छ ।

बुधबार बेलुकाको छलफल टुंगोमा पुग्न नसकेपछि बिहीबार बिहान ९ बजे फेरि बैठक बस्न लागेको एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले जानकारी दिए ।

बिहीबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका शीर्ष नेताको संयुक्त बैठक बसेको थियो । सो बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभाको सिट बाँडफाँटमा एमालेलाई नछुटाउन आग्रह गरेका थिए ।

एमालेको सो आग्रहबारे के गर्ने भन्ने टुंगो नलागेपछि आ–आफ्नो दलभित्र छलफल गरेर पुनः बैठक बस्ने सहमति भएको थियो । सोही सहमति अनुसार आज बिहान दलका शीर्ष नेताहरु फेरि बैठक बस्न लागेका हुन् ।

राष्ट्रियसभाका २० सदस्यको कार्यकाल आगामी २० फागुनमा सकिँदै छ, जसमा राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनासहित ९ जना एमालेबाट निर्वाचित सदस्य छन् ।

कार्यकाल सकिनुभन्दा एक महिना अघि नै निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था भएकाले आगामी माघ ११ गते निर्वाचन हुँदैछ । त्यसका लागि यही पुस २३ गते मनोनयन दर्ता हुँदै छ ।

Logo