शिक्षा दिवसमा महालक्ष्मी नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थी, शिक्षक र विद्यालयलाई पुरस्कार

शिक्षा दिवसमा महालक्ष्मी नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थी, शिक्षक र विद्यालयलाई पुरस्कार

काठमाडौं एक्सप्रेस

ललितपुर– महालक्ष्मी नगरपालिकाले नगर क्षेत्रका उत्कृष्ट विद्यार्थी, शिक्षक तथा विद्यालयलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ ।

युनाइटेड एकेडेमी, इमाडोलमा मंगलबार भएको विशेष समारोहमा नगरपालिकाका मेयर हरिगोविन्द श्रेष्ठ, उपमेयर लक्ष्मी महर्जन लगायतले उत्कृष्ट विद्यार्थी, शिक्षक तथा विद्यालयलाई सम्मान तथा पुरस्कार प्रदान गरे । नगरपालिकाका प्रमुख शिक्षा अधिकृत चिरञ्जीवी पौडेलले शिक्षा दिवस २०८० को अवसरमा उत्कृष्टलाई सम्मान गरको जानकारी दिए ।

नगरपालिकाले ‘समावेशी र सीपमुलक शिक्षा : स्वदेशमै युवा राष्ट्रको इच्छा’ भन्ने आदर्श वाक्यका साथ शिक्षा दिवसमा विभिन्न कार्यक्रम आयोजना गरेको प्रमुख शिक्षा अधिकृत पौडेलले बताए ।

कार्यक्रममा नगरस्तरीय निबन्ध प्रतियोगितामा आधारभूत तहबाट पहिलो भएका आयुष तिमल्सिना, दोस्रो भएका स्तुति पौडेल, तेस्रो भएको छसाङ्मु शेर्पा र सान्त्वना वैभव रेग्मीलाई पुरस्कार प्रदान गरिएको थियो । उनीहरुलाई क्रमशः ७ हजार, ५ हजार, ४ हजार र ३ हजार प्रदान गरिएको थियो ।

आधारभूत तहको निबन्ध वाचनमा प्रथम, दोस्रो, तेस्रो र सान्त्वना भएका क्रमशः मुस्कान कटुवा, केमन तामाङ, जसराज राई र सोनीकुमारी बान्ठालाई पुरस्कृत गरिएको छ ।

कार्यक्रममा गएको वर्ष अवकास पाएका शिक्षकलाई दीर्घ सेवा सम्मान गरिएको थियो ।

कार्यक्रममा कक्षा ८ को परीक्षामा उत्कृष्ट छात्रछात्राहरु रितिका भट्ट, स्पर्श भट्टराई, मिलन कालिकोटे र दीक्षा आचार्यलाई नगद जनही १२ हजार सहित पुरस्कृत गरिएको थियो ।

नगरपालिकाले २०७९ सालको एसईई परीक्षामा उत्कृष्ट अञ्जना ओझा, कृतिका न्यौपाने, निश्चयराज श्रेष्ठ, सुजिताकुमारी शाह, युनिक महर्जन, युनिशा श्रेष्ठ र विनम्र आचार्यलाई जनही नगद १५ हजारसहित पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा महालक्ष्मी नगरपालिकाको शैक्षिक अभियानमा योगदान दिने संघ संस्था तथा व्यक्तिहरु ईसीईसी जावलाखेल, सीएसएन काठमाडौं, राइट्स टू स्टडी नेपाल काठमाडौं, कारखाना समूह र रामचन्द्र अधिकारीलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा महालक्ष्मी नगरपालिकाका मेयर हरिगोविन्द श्रेष्ठले विद्यालयहरुलाई सहकार्य शैक्षिक गुणस्तर वृद्धि गर्नतर्फ केन्द्रित हुन सुझाव दिए । उनको भनाइ थियो, ‘साना र ठूला विद्यालयबीच सहकार्य हुने हो भने शैक्षिक गुणस्तर र पूर्वाधार विकासमा सहयोग हुन्छ ।’ उनले सहकार्यका लागि नगरपालिकाले सहजिकरण गर्ने बताए ।

मेयर श्रेष्ठले नगरपालिकाले विद्यालयको अनुगमलाई तीब्रता दिने बताउँदै अनुगमन भन्नेवित्तिकै नतर्सन अपिल गरे ।

उपमेयर लक्ष्मी महर्जनले महालक्ष्मी नगरपालिकालाई शैक्षिक हब बनाउने प्रतिबद्धता व्यक्त गरिन् । उनले विद्यार्थी विदेशिने समस्या जटिल हुँदै गरेको बताउँदै नीतिगत सुधारमा जोड दिइन् ।

प्रमुख प्रशासकीय अधिकृत रुद्रलाल भूसालले पनि महालक्ष्मी नगरपालिकालाई शैक्षिक हब बनाउने उद्देश्यमा सबैको सहकार्य रहने विश्वास व्यक्त गरे ।

Logo