काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए)का उपाध्यक्ष अर्जुनकुमार श्रेष्ठले नवलपरासीमा प्रवासबाट फर्किएका नेपालीहरुले चिस्यान केन्द्र स्थापना गरेर उदाहरणीय कार्य गरेको बताएका छन् ।
३ हजार मेट्रिक टन क्षमताको चिस्यान केन्द्रको शेयर खुला हुनुअघि भएको अन्तर्क्रिया कार्यक्रमलाई नवलपरासीको कावासोतीमा सम्बोधन गर्दै उपाध्यक्ष श्रेष्ठले स्थानीयसँग पनि हातेमालो गरेर अघि बढ्न अपिल गरे । ‘स्थानीयका लागि चिस्यान केन्द्र सुवर्ण अवसर हो,’ उनले भने, ‘स्थानीयसँग हातेमालो गरेर अघि बढ्नुहोला ।’ चिस्यान केन्द्रले स्थानीय कृषकहरुलाई कृषि उपजहरुको वृद्धि प्रबर्द्धन गर्न सहयोग पुग्ने उनको भनाइ थियो ।
कार्यक्रममा प्रतिनिधिसभाका सांसद तिलक महतले चिस्यान केन्द्र मुलुककै नमूना हुने बताउँदै सजग भएर सञ्चालन गर्न आग्रह गरे । उनले आफूले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।

वैदेशिक रोजगारबाट फर्किएका युवाहरूको संगठन रिटर्नी कृषि तथा पशुपालन समूह लिमिटेडले ३ हजार मेट्रिक टन क्षमताको चिस्यान केन्द्र निमार्णमा लगानी गर्ने तयारी गरेको हो ।
कावासोती नगरपालिकास्थित अग्यौलीमा ३ हजार मेट्रिक टन क्षमता भएको चिस्यान केन्द्र निर्माणको लागि आवश्यक प्रक्रियाअघि बढाएको हो।
उक्त चिस्यान केन्द्रमा ७० प्रतिशत नेपाल सरकारको अनुदान रहने र बाँकी ३० प्रतिशत लगानी कम्पनीका सेयर सदस्यहरूको रहने बताइएको छ।
परियोजनामा लगानी गर्ने सेयर सदस्यहररू छनोट गर्दा रिटर्नी माइग्रेन्ट नेपालका सदस्यहरूलाई प्राथमिकतामा राखिने छ ।
कार्यक्रमम रिटर्नी माइग्रेन्ट नेपालका अध्यक्ष उत्तम अधिकारी, दामोदर नेपाललगायतले चिस्यान केन्द्रका विविध पक्षबारे धारणा राखेका थिए ।