काठमाडौं- प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ ।
एपेन्डिसाइटिसको शल्यक्रियापछिको प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे साँझ ७:३० बजे अस्पतालले दोस्रो पटक विज्ञप्ति सार्वजनिक गर्दै स्वास्थ्य स्थिर रहेको जनाएको हो ।
‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको स्वास्थ्यमा समस्या आई आज मिति २०७६/८/१० गते मंगलबार बिहादेखि यस सेन्टरमा उपचाररत रहनु भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीयज्यूको शल्यक्रिया पश्चात हाल सघन कक्षमा उपचार भइरहेको तथा हाल उहाँको स्वास्थ्य अवस्था स्थिर रहेको व्यहोरा जानकारी गराइन्छ ।’
प्रधानमन्त्री ओलीले मंगलबार दिउँसो महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा एपेन्डिसाइटिसको शल्यक्रिया भएको हो । पेट दुखेपछि मंगलबार बिहान ९ बजे प्रधानमन्त्री ओलीलाई स्वास्थ्य परीक्षणका लागि सेन्टरमा लगिएको थियो ।