काठमाडौं– भावी सभामुखबारे सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा बहस भइरहेकाबेला प्रवक्ता नारायणकाजी श्रेष्ठको धारणा सार्वजनिक भएको छ ।
बीबीसी नेपाली सेवामा सोमबार साँझ अन्तर्वार्ता दिँदै प्रवक्ता श्रेष्ठले उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेको बढी हक लाग्ने बताएका छन् । ‘उपसभामुखले दाबी गर्नुलाई अस्वभाविक मान्न मिल्दैन, अन्यथा पनि लिनु हुँदैन,’ उनले भने, ‘उहाँलाई बढी हक पनि छ । आफ्नो कुनै कमजोरीका कारणले उहाँले छाड्नु परेको होइन, नयाँ परिस्थितिमा म सक्षम छु भन्नुलाई अन्यथा लिनु हुँदैन ।’
पार्टीका सबै सांसदहरुलाई सभामुखका निम्ति योग्य छु भन्ने अधिकार रहेको बताउँदै प्रवक्ता श्रेष्ठले अब पूर्वएमाले र पूर्वमाओवादी नभन्न अपिल गरे । ‘अब पूर्व यो, पूर्व उ भन्दैनौं, पार्टी एकता टुंगिसकेको छ, पूर्वएमाले र पूर्वमाओवादी कसैले भनेका छैनन्,’ उनको भनाइ थियो, ‘सांसदको नाम लिँदा अरु कसैले पूर्वएमाले, पूर्वमाओवादी भन्नुभयो भने मेरो भन्नु केही छैन तर अहिले हामी नेकपाका नेता कार्यकर्ता हौं ।’
प्रवक्ता श्रेष्ठले प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालबीच सोमबारे भएको भेटमा स्थायी कमिटीका निर्णयबारे छलफल भएको दाबी गरे । उनले पार्टीमा सभामुखबारे औपचारिक छलफल नभएको उल्लेख गरे ।