काठमाडौं– समाजवादी पार्टी सरकारबाट बाहिरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग गरेको संविधान संशोधनलगायत दुईबुँदे सहमति कार्यान्वयन नभएको भन्दै पार्टीले आफू सरकारबाट बाहिरिएको घोषणा गरेको हो ।
पार्टीका अध्यक्षसमेत रहेका उपप्रधान एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री यादवले ‘यही पुस ७ गतेको मन्त्रिपरिषद् बैठकमा आफूले संविधान संशोधनका लागि आवश्यक गृहकार्य गर्न संविधान विज्ञ सम्मिलित विज्ञ सुझाव समिति गठन गर्न गरेको प्रस्तावलाई अस्वीकार गरेकाले’ आफूले मन्त्रीबाट राजीनामा दिएको उल्लेख गरेका छन् ।
दुईबुँदे सहमतिबाट सरकार पछि हटेको तथा सहमतिलाई एकतर्फी रुपमा तोडेको प्रष्ट भएकोले नैतिकताको आधारमा सरकारमा बसिरहन औचित्य नभएको हुँदा राजीनामा दिएको बताए ।
समाजवादी पार्टीबाट सरकारमा प्रतिनिधित्व गर्ने शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राईले पनि राजीनामा दिएका छन् । उनले शहरी विकास मन्त्रालयको मन्त्री पदमा नियुक्त गर्नुभई कामकाजको जिम्मेवारी दिएको तथा सहकार्य गर्ने अवसर दिएकोमा विशेष धन्यवाद दिएका छन् ।