‘फागुन ३ गतेपछि प्रदेश २ को सरकार फेरिन्छ’

लोकप्रिय

गएको मंगलबार उपेन्द्र यादव र बाबुराम भट्टराई नेतृत्वको समाजवादी पार्टी केपी शर्मा ओली सरकारबाट बाहिरियो । उपेन्द्रको बहिर्गमनले राष्ट्रिय राजनीतिसँगै प्रदेश नम्बर २ मा राजनीतिक तरंग पैदा गर्‍यो । तर, प्रदेश नम्बर २ को सबैभन्दा ठूलो दल नेकपाको संसदीय दलका नेता सत्यनारायण मण्डल भने यस समाचारबाट बेखबर थिए । जिल्लाबासी एक मुटु बिरामीको समस्या लिएर दिनभर गंगालाल हृदय रोग केन्द्रमा रहेका यादवलाई काठमाडौं एक्सप्रेस टिमले नै उपेन्द्रले सरकार छाडेको खबर सुनाएको थियो । उपेन्द्र यादवको बहिर्गमनको असरबारे हामीले नेता मण्डलसँग कुराकानी गरेका छौं । प्रस्तुत छ, अन्तर्वार्ताको सम्पादित अंश

उपेन्द्र यादवले सरकार छाड्दा प्रदेश नम्बर २ को राजनीतिमा केही असर पार्छ ?
जरुर पार्छ । स्वभाविक रुपले राजपाहरु संघीय सरकारमा सहभागी हुन्छन् । दुई वर्ष हुन लाग्यो तर प्रदेश नम्बर २ को सरकारले गति लिन सकेको छैन । प्रदेश नम्बर २ का जनताले कुनै अनुभूति लिन सकेका छैनन् । स्थानीय सरकारमा पनि उहाँहरुको बहुमत छ । तर, भ्रष्टाचार धेरै बढेको छ । कतिपय फाइलहरु अख्तियारले लिएको छ । एउटा सानो उदाहरण मेरो निर्वाचन क्षेत्रको म यहाँ राख्न चाहन्छु, २५ लाख रुपैयाँको बाटोमा कसैलाई थाहा छैन । तर, साथीहरुले कीर्ते उपभोक्ता बनाएर उत्तर हाइवेतिर बन्नुपर्ने बाटो दक्षिण दसगजा क्षेत्रमा सार्ने काम भयो । यस काण्डमा राजपाका दुई जना केन्द्रीय सदस्य र सडकका डिभिजन इञ्जिनियर संलग्न भेटिए । अहिले अख्तियारमा मुद्दा छ ।

यस्ता विकृति धेरै छन् ?
संघीयताको अनुभूति भएको छैन । खाली संघीय सरकारलाई दोष दिने काम भएको छ । कुनै काम पारदर्शी भएको छैन । प्रतिपक्ष अहिले नेकपा छ । तर, प्रतिपक्षलाई एक अर्ब भौतिक मन्त्रालयको बजेटमा मन्त्रीहरुले २७ प्रतिशतसम्म लिएका छन् । सभामुखको अध्यक्षतामा छानबिन समिति बनाउनुपर्‍यो । सभामुखको प्रतिवेदनमा पनि यो कुरा आएको छ । ५१ प्रतिशत भुक्तानी दिएको छैन ।

अबको सत्तासमीकरण कस्तो हुन्छ त ?
अहिले प्रदेश नम्बर २ मा नेकपा सबैभन्दा ठूलो पार्टी हो । राजपाभन्दा चार सीट बढी भएकाले समाजवादी पार्टीले त्यसबेला मुख्यमन्त्री लिएको हो । अहिले राजपाबाट सभामुख हुनुहुन्छ भनेपछि ठूलो पार्टी हुनुको नाताले नेकपाले मुख्यमन्त्री पाउनुपर्छ ।

भनेपछि तपाईंलाई मुख्यमन्त्रीको बधाई दिन पाइयो त ?
पार्टीको अलग कुनै निर्णय भएन भने संसदीय दलको नेता हुनुको नाताले म ‘वेटिङ चिफ मिनिस्टर’ हो ।

तपाईं मुख्यमन्त्री हुनुभयो भने प्रदेश नम्बर २ को विकासका लागि के छन् योजनाहरु ?
हिउँदमा सुख्खा र बर्षायाममा बाढी आउने समस्या प्रदेश नम्बर २ मा बढी छ । म मुख्यमन्त्री भएँ भने प्राकृतिक दोहनलाई रोक्ने प्रयास गर्छु । अहिले चुरे दोहन रोक्न सकेन भने समस्या धेरै आउँछ । पहिले धान चामल निर्यात कम्पनी नै थियो । धान चामल निर्यात हुन्थ्यो । अहिले आयात बढेको छ । तराईको शिक्षा सुधार्नु पर्ने अवस्था छ । त्यहाँको शिक्षाको अवस्था खस्कनुमा हामी नै दोषी छौं । बाटोघाटोको समस्या पनि छ । पथलैयादेखि वीरगन्ज रक्सौलसम्म ६ लेन निर्माणाधिन छ । ढल्केबर जनकपुरको ६ लेन आगामी आर्थिक वर्षमा पूरा हुन्छ । रुपनीदेखि कुनौलीसम्म, सिरहा, सर्लाही, रौतहटदेखि हुलाकी सडकको कामहरु तीब्र भइरहेको छ । हामीले बनाएका संरचनाहरुले नै हामीलाई बिनास गरिरहेका छन् । त्यसलाई सच्याउनुपर्ने अवस्था छ । मैले तराईका समस्याहरुबाट आजमात्रै प्रधानमन्त्री र नेकपा अध्यक्ष पुष्पकमल दाहालसँग ध्यानाकर्षण गराएका छौं ।

प्रदेश नम्बर २ को सरकारले कतिपय संघीय कानुनसँग बाझिने कानुनहरु बनाएको छ । तपाईंले त्यसलाई निरन्तरता दिनुहुन्छ ?
संघीय कानुन नबनेसम्म त्यहाँ बनेका कानुनहरु पनि लागु हुँदैन । कतिपय त्यस्ता कानुन निर्माण हुँदा हामीले विरोध गरेका थियौं । अहिलेसम्म ती कानुन लागू भएका छैनन् । प्रदेशको प्रहरी चाहिने कुरा त संविधानले नै स्पष्ट पारेको छ ।

प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले राजीनामा दिनुभएन भने के गर्नुहुन्छ ?
उहाँले अब नैतिकताका आधारमा नै छाड्नुपर्छ । तर, छाड्नुभएन भने उहाँ मुख्यमन्त्री भएको फागुन ३ गते दुई वर्ष पुग्छ । त्यसपछि हामीले अविश्वासको प्रस्ताव ल्याउँछौं । अर्को कुरा उहाँहरुको पार्टीमा पनि मारामारको अवस्था छ । त्यहीँ विद्रोह हुन्छ ।

भावी सत्तासमीकरणको बारेमा राजपाका नेताहरुसँग कुरा गर्नुभएको छ ?
भावी सत्तासमीकरणको विषयमा त कुरा भएको छैन । तर, म सिनियर भएका कारणले पनि उहाँहरुको असन्तुष्टि धेरैपटक पोख्नुभएको छ । कहिले कहिले त हामीभन्दा सत्तापक्षले नै चर्को विरोध गर्नुभएको छ । नीति तथा कार्यक्रम पारित गर्ने दिन मुख्यमन्त्रीले रोस्टममा नै उभिएर मन्त्रीहरु उपभोक्तावादी भएको बताउनुभएको छ ।

तपाईं पार्टी स्थायी कमिटीको बैठकमा सहभागी हुन काठमाडौं आउनुभएको छ, स्थायी कमिटीको बैठक हिजोमात्रै सकिएको छ । बैठकको सन्देश के छ ?
बैठकले पार्टीलाई जीवन्त बनाएको छ । एकीकरणपछि पार्टी सुनसान थियो । पार्टीको बैठक भएन भन्ने गुनासो पनि थियो । अर्को कुरा, एकीकरणको काम महत्वपूर्ण हो । त्यसलाई पूरा गरिएको छ । सरकारको बारेमा जनतामा कतिपय भ्रम परेको छ । ठूला योजनाहरुको काम अगाडि बढाएको छ । त्यसको रिजल्ट तत्कालै त देखिँदैन । अब भनेको समाजवादमा पुग्नका लागि उत्पादक शक्तिहरुलाई कसरी बलियो पार्ने हो, त्यसका लागि सरकारलाई दिशानिर्देश गरेको छ । राज्यका मेसिनरीहरुमा समस्या देखिएको छ । सरकारले अब कानुन संशोधन गरेर त्यस्ता राज्यका मेसिनरीलाई सही ठाउँमा ल्याउने काम गर्नुपर्छ भनेर स्थायी कमिटीले निर्देश गरेको छ ।

एउटा भावनाको कुरा गरौं, तपाईं भूमिगत कालदेखि लामो समयसम्म केपी ओलीसँग निकट रहनुभएको छ । यसपटकको बैठकको अध्यक्षता अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुभयो । तपाईंले कस्तो अनुभूति गर्नुभयो ?
म केपी ओलीको नेतृत्वमा बसेर लामो समयदेखि काम गरेँ । २०४८ सालतिर म सिरहा जिल्ला कमिटी सचिव थिएँ । महाधिवेशन पनि सिरहामा भयो । हाम्रो व्यवस्थापनमा महाधिवेशन सम्पन्न भयो । झलनाथ खनाल महासचिव हुनुहुन्थ्यो । सिरहा महाधिवेशनबाट मदन भण्डारी महासचिव हुनुभयो । मैले जीवनको महत्वपूर्ण सफलता हात पारेँ । केपी कमरेडलाई महाधिवेशनमा लैजाँदा कृष्णगोपाल श्रेष्ठ र मैले पालो गरीगरी राति बोकेर पु¥यायौं । बैठकमा उहाँलाई नदेख्दा केही खिन्नता महसुस भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

उर्मिला अर्याल राष्ट्रिय सभाको उपाध्यक्ष बन्दै

काठमाडौं-राष्ट्रिय सभा उपाध्यक्षको आज निर्वाचन हुँदै छ । आज मध्याह्न १२ बजे बस्ने राष्ट्रिय सभा बैठकबाट उपाध्यक्ष पदमा अर्याल निर्विरोध...

छुटाउनुभयो कि?