पोखरा– सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले आइतबार राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
निर्वाचन अधिकृतको कार्यालय कास्की पोखरा पुगेर आइतबार श्रेष्ठले उम्मेदवारी दर्ता गरेका हुन् । श्रेष्ठको प्रस्तावकमा गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेत छन् । उम्मेदवार्ता दर्ता गर्न नेकपाकै भगवती न्यौपाने पनि श्रेष्ठसँगै गएकी थिइन् ।
नेकपाको सचिवालय बैठकले गण्डकी प्रदेशको अन्यबाट श्रेष्ठलाई उठाउने निर्णय गरेको थियो । माघ ९ गते रिक्त राष्ट्रियसभा सदस्यका लागि निर्वाचन हुँदैछ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आइतबार विहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म उम्मेद्वारले मनोनयन दर्ता गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ ।
रिक्त १८ पदमा माघ ९ गते निर्वाचन हुँदैछ । त्यसका लागि सम्बन्धित प्रदेशमा रहेका निर्वाचन अधिकृत कार्यालय पुगेर उम्मेदवारले मनोनयन दर्ता गराउनु पर्छ ।
राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश २ मा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपा र राष्ट्रिय जनता पार्टी राजपाले तालमेल गरेका छन् । यहीं नेपाली कांग्रेस र समाजवादी पार्टीले पनि दुई–दुई सिट बाँड्ने गरी तालमेल गरेका छन् ।