काठमाडौं– पूर्व उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवको निर्णय स्वास्थ्यमन्त्री भानुभक्त ढकालले सच्याउन थालेका छन् ।
मन्त्री ढकालले मन्त्रालय र विभागका कतिपय ठाँउमा दिइएका जिम्मेवारी नमिलेको बताएका ढकालले त्यसको सुरुवात औषधि व्यवस्था विभागबाट सुरु गरेका छन् । विभागको महानिर्देशकको जिम्मेवारीमा पुन नारायण ढकाललाई फर्काइएको छ ।
मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै विभागको महानिर्देशकको जिम्मेवारी ढकाललाई दिइएको हो ।
कर्मचारी समायोजनअघि विभागको महानिर्देशक रहेका एघारौँ तहका ढकाललाई त्यसपछिको पदस्थापनमा राष्ट्रिय औषधि प्रयोगशाला प्रमुखको जिम्मेवारी दिइएको थियो ।
सर्वोच्च अदालतले पुनःबहाली गरे पनि ढकाललाई लगत्तै काजमा मन्त्रालय तानेर दशौँ तहका पानबहादुर क्षेत्रीलाई निमित्तको जिम्मेवारी दिएको थियो ।
राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रको निर्देशकमा सुनिल शर्मा
स्वास्थ्य सेवा विभाग अन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशकमा सुनिल शर्मा नियुक्त भएका छन्।
तत्कालिन स्वास्थ्य मन्त्री उपेन्द्र यादवले उनलाई मन्त्रालयमा तानेका थिए। शर्मा मन्त्रालय तानिएपछि १० औं तहका कुञ्ज जोशीलाई जिम्मेवारी दिइएको थियो।
हालका स्वास्थ्य मन्त्री ढकालले मन्त्रालयमा जिम्मेवारी बिहिन रुपमा रहेका शर्मालाई पुनः निर्देशकको जिम्मेवारी दिएका हुन्।