काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरेका राम्रा कामहरूको विषयमा समाचार नै नबन्ने गरेको गुनासो गरेका छन्। नेपाल चेम्बर अफ कमर्सका व्यवसायीहरूसँगको भेटघाटका क्रममा आज प्रधानमन्त्री ओलीले सरकारका राम्रा कामबारे समाचार नै नबन्ने गरेको गुनासो गरेका हुन्।
सडक मानवमुक्त अभियानको चर्चा गर्दै प्रधानमन्त्री ओलीले अहिले सडकमा कुनै पनि वेवारिसे मानिस नभेटिने दाबी गरे। ‘‘पहिले-पहिले बालबालिकाहरू कुकुरसँग लडाइँ गरेर खानेकुरा टिपिरहेको देख्ने गरिन्थ्यो। अहिले यो सरकार आएपछि काठमाडौंका सडकमा बालबालिका छैनन्। उनीहरुलाई राख्ने, बस्ने, पढाउने प्रवन्ध मिलाइएको छ। मान्छेहरू सडकमा लडिरहेका हुन्थ्ये, झिंगा भन्किराख्या हुन्थ्यो, कुकुरसँग सुतिराख्या हुन्थे, कुकुरले घाउ चाटिराख्या हुन्थ्यो। तर आज त्यस्ता व्यक्तिहरू सडकमा छैनन्। ठग बेघरलाई घर पठाई दिने र साँच्चिकैको बेघरको प्रवन्ध सरकारले गर्दै आएको छ’’, प्रधानमन्त्रीले ओलीले भने, ‘‘हेर्दा यी साना कुरा लाग्छन् तर सामाजिक रुपमा यसले अर्थ राख्छ। हामीले काम गरेका छौं। त्यस्ता कामहरूको प्रशंसामा लेख्ने,प्रसारण गर्ने टेलिभिजन छैनन्। त्यस्ता काम छाप्ने पत्रपत्रिका छैनन् । त्यस्ता काम प्रशंसा गर्ने मुटु भएका, मन भएका सम्पादक छैनन्। छ्यास्सछुस्स कसैले लेखिहाल्यो भने पनि गाली खान्छ। राम्रा कुरा पनि गर्न थालिस विग्रिन्छस् भन्छन्, सकारात्मक कुरा पनि गर्न थालिस् भन्ने आउँछन् !’’
प्रधानमन्त्री ओलीले आफुले जहाजको कुरा गर्दा, रेलको कुरा गर्दा ठट्टाका रुपमा लिने गरिएको भएपनि अहिले काम भइरहेको दाबी गरे । ‘‘मैले जहाजका कुरा गरें, पूर्व-पश्चिम रेलका कुरा गरें, उत्तर-दक्षिण रेलका कुरा गरें। अहिले त्यसको कामहरू लगभग सकिएर निर्माण भइरहेको छ। पहिले हामीलाई रोडको समस्या थियो। अहिले कोलकाता मात्रै नभइ विसखापट्टनम, मुम्बइ, पूर्व—पश्चिम सबै ठाउँबाट रोड छ। चीनसँग पनि हामीले विभिन्न सम्झौता गरेका छौं । धेरै नाकाहरु खुलिसकेका छन्’’, उनले भने, ‘‘हाम्रो समाज छाउपडी र छाउगोठवाला समाज हो । हामी कहाँ छौं भन्दा छाउपडीवालाहरुको दुनियाँमा छौं । तर त्यसबाट बाहिर आउनुपर्छ । सामाजिक जागरणमा अगाडि बढ्नुपर्छ।’’
प्रधानमन्त्री ओलीले चेम्बरका व्यवसायीहरूलाई लगानीमैत्री वातावरण निर्माणका लागि ऐन कानूनहरूमा संशोधन आवश्यक परे त्यसका लागि तयार रहेको पनि बताएका थिए।