प्रधानमन्त्रीको अडान व्यक्ति होइन, प्रणालीका लागि

लोकप्रिय

गत असोजमा कृष्णबहादुर महराले राजीनामा दिएपछि खाली भएको सभामुखको कुर्सी अझै भरिएको छैन । महरालाई बलात्कारको बात लागेपछि उनको सभामुख पद सहित लामो राजनीतिक जीवनको असामयिक बिसर्जन भएको हो । महराको यो असामयिक बहिर्गमनसँगै यस पदका लागि धेरै जिउँदाहरुको सल्बलाहट भयो । तर यसको पहिलो दाबेदारको रुपमा रहेकी उपसभामुखप्रति कसैको आँखा गएन ।

वास्तवमा ‘उप’ जोडिएको पद भनेको मुल पात्र नभएका बखत कामकाज गर्ने हो । तर मूल पात्रको सदाका लागि बहिर्गमन भयो भने त्यसको पहिलो दाबेदार उनै उप हुन् भन्ने हेक्का संगठन र कमिटी प्रणालीमा आवद्ध भएर आएका सबैलाई थाहा हुनु पर्ने विषय हो । तर नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)मा वैकल्पिक सभामुखका बारेमा बहस यस्तो गरी सुरु गरियो कि वर्तमान उपसभामुख शिवमाया तुम्वाहाङफे बाहेकका पात्रलाई केन्द्रमा राखेर मनोखुशी सभामुख चयन गर्न थालियो र शिवमायाको राजिनामाको प्रतिक्षा संसद,सरकार,नेकपा र आम जनताले पनि गर्न थाले । केहीले महराको गल्तीको सजाय शिवमायाले पाउनु पर्ने भन्दै बहस र विवाद गरे । तर यस्ता बहस आम रुपमा भएनन् । सञ्चारमाध्यमले पनि शिवमायालाई सभामुखको दाबेदार देखेनन्न् । उनीहरुले अमूक पात्रलाई सभामुखको खाली कुर्सीमा बिराजमान गराइरहेका छन् ।

यस विषयमा शिवमाया लामो समय मौन पनि बसिन् । उनले केही निकटस्थहरुसँग संविधानले सभामुखको बेमौसमको बहिर्गमनमा उपसभामुख नै सभामुखको दाबेदार भएको दलिल पेश गरिन् । महराको बहिर्गमन संसद नचलेका बेला भएको थियो । त्यस कारण असोज,कातिक र मंसिर सभामुख चयनको बिषय मिडियाको ‘फिलर एजेण्डा’ बन्यो तर मुल एजेण्डा बनेन । जब राष्ट्रपतिबाट पुष ४ गतेलाई संसदको हिउँदे अधिवेशनका लागि आह्वान भयो त्यसपछि चाँही यो बिषय पार्टी र मिडियाको मूल एजेण्डा बन्यो ।

प्रधानमन्त्रीको साथ प्रणालीलाई हो, व्यक्तिलाई होइन । सभामुखले आचारण विपरीत काम गरेकोले त्यसको मारमा उपसभामुख पर्नु हुँदैन भन्ने आम तर्कमा दम छ ।

सुरुमा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वसभामूख सुवासचन्द्र नेम्वाङलाई सभामुखमा प्रस्ताव गरेको चर्चा बाहिरियो । नेम्वाङले पनि आफू नै सभामूखको लागि एक मात्र पात्र भएको जिकिर प्रत्यक्ष, अप्रत्यक्ष रुपमा मिडियामा फाले । उता पूर्व माओवादी खेमामा सभामुखको लागि अनेक व्यक्तिले दाबी गर्न थालेपछि प्रचण्डले पनि आजित भएर नेम्वाङलाई समर्थन गरुँला जस्तो प्रतिक्रिया दिए । तर जब प्रचण्डका विश्वासपात्र हरिबोल गजुरेलको नेतृत्वमा प्रचण्डलाई पूर्व माओवादीले कुनै पनि हालतमा सभामुख छोड्न नहुने दबाब दिए । त्यसपछि स्थिति बदलियो ।

शिवमायालाई राष्ट्रपतिले साथ दिएको, प्रधानमन्त्रीले साथ नदिएको जस्ता तर्क बाहिरिएर स्थितिलाई रुमल्याउने अनेक प्रयास भए । तर प्रधानमन्त्रीको साथ प्रणालीलाई हो, व्यक्तिलाई होइन । सभामुखले आचारण विपरीत काम गरेकोले त्यसको मारमा उपसभामुख पर्नु हुँदैन भन्ने आम तर्कमा दम छ । तर संविधानले एउटै पार्टीको व्यक्ति सभामुख र उपसभामुख चयन गर्न नहुने व्यवस्था गरेकोले नेकपाले कि सभामुख छाड्नु पर्दछ कि उपसभामुख छाड्नु पर्दछ । मर्यादाको हिसाबले पाँचौ पदको रुपमा रहेको सभामुख छाड्न नेकपा तयार छैन । त्यो हो भने उपसभामुखलाई स्तरोन्नति नगरी पनि नेकपालाई धर छैन ।

उपसभामुख शिवमायाको राजनीतिक इतिहास थिएन भने उनलाई सेरमोनियल पदमा राखेको भन्न सकिन्थ्यो । उनको योग्यता थिएन भने संसद चलाउने ढंग नपुर्‍याउलिन् भनेर शंका गर्न सकिन्थ्यो । तर कानुनमै पिएचडी हासिल गरेकी र हालसम्म कुनै विवादमा नआएकी बरु बहादुरीपूर्वक संविधानले निर्दिष्ट अधिकार प्रयोग गरेकी शिवमाया सभामुखका लागि उपयुक्त पात्र हुन् । सांसद विद्या भट्टराईको सपथ ग्रहण र सूचना आयोगका पदाधिकारी सिफारिस समितिको बैठकमा शिवमायाले सभामुखको अनुपस्थितिमा उपसभामुखले प्रयोग गर्ने हैसियत प्रयोग गरिन् । त्यतिमात्र होइन संविधानविपरीतको संसद नियमावली बोलेर होइन काम गरेर खारेज गरिदिइन् । संविधानमा सभामुखको अनुपस्थितिमा सभा सञ्चालन गर्ने अधिकार दिँदादिँदै नियमावलीमा रोकेको अधिकार उनले खारेजमात्र गरिदिइनन् अहिलेसम्म उपसभामुखले अध्यक्षता नगरेको कार्यव्यवस्था परामर्श समितिको बैठकको नेतृत्व गरेर संसदीय अभ्यासमा नौलो थालनी गरिदिइन् । यसलाई केहीले विवादको रुपमा बढाउन खोजे पनि उनै शिवमायाको तर्कले ती विवादका लहरा झांगिन पाएनन् ।

शिवमायालाई सभामुख बनाउन प्रधानमन्त्री ओलीको मौन समर्थन रहेको बुझ्न धेरै चिन्तन गरिरहनु पर्दैन । कतिपयले भन्छन्- शिवमायाको अडान प्रधानमन्त्रीको व्याक फोर्स पाएर बलियो भएको हो । त्यो पनि होइन । शिवमायाको अडान पनि प्रणाली विकास गर्नका लागि हो । प्रधानमन्त्री र शिवमायाको अडानमा के समानता पाइन्छ भने दुवैले प्रणालीलाई जोड दिएका छन् ।

जसले प्रचण्डलाई एउटा पाठ के सिकाएको छ भने हौसिएर, उत्साहित भएर वा निराश भएर गरिएका निर्णय पार्टीमा लागु हुँदैनन् । त्यसका लागि त सुझबुझपूर्ण तर्क, संवैधानिक व्यवस्थाको जानकारी लिएपछि मात्र निर्णय गर्नुपर्दछ । यो नेकपा हो । माओवादी केन्द्र होइन ।

कार्यकारी अध्यक्षको हैसियतमा पुस २६ गते सचिवालयबाट शिवमायालाई राजिनामा गराउने एक मात्र निर्णय गरेको नेकपाको बैठक नै विवादित हुँदै गएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीको अनुपस्थितिमा भएको यो बैठकको निर्णय अहिले बिस्याहार भएको छ । कार्यकारी अधिकार पाएर हौसिएका प्रचण्डले गरेको यो निर्णय सजिलै लागू हुनसक्ने अवस्थामा देखिदैन । जसले प्रचण्डलाई एउटा पाठ के सिकाएको छ भने हौसिएर, उत्साहित भएर वा निराश भएर गरिएका निर्णय पार्टीमा लागु हुँदैनन् । त्यसका लागि त सुझबुझपूर्ण तर्क, संवैधानिक व्यवस्थाको जानकारी लिएपछि मात्र निर्णय गर्नुपर्दछ । यो नेकपा हो । माओवादी केन्द्र होइन । माओवादी केन्द्रमा प्रचण्डका मनमा जे पलायो त्यो पार्टी निर्णय हुन्थ्यो । यसरी मनमा पलाएका कतिपय कुराहरु नेपाली राजनीतिमा भद्धा मजाक भएर इतिहासमा अभिलेखिकरण भएका छन् । तर अब त्यो समय सकियो । नेकपाको राजनीति मनोगत धारणामा होइन प्रणालीमा चल्छ । पूर्व एमाले त्यही प्रणालीबाट विकास भएर आएको पार्टी हो । त्यसका अध्यक्ष ओली अहिले नेकपाका पनि अध्यक्ष भएकोले उनले यहाँ पनि प्रणाली नै स्थापना गर्नेछन् । कसैका मनोगत चाहना पार्टी बैठकको ब्रेक टाइम वा खाजा ब्रेकमा सुनाउन काम लाग्छन् । यस्ता कुराले सुन्ने र भन्ने दुवैलाई मनोरञ्जन र आनन्द पनि दिन्छन् तर यी पार्टी निर्णय हुनसक्दैनन् ।

त्यस कारण प्रणाली बसाउनका लागी पनि उपसभामुख शिवमाया अब सभामुखको उम्मेदवार हुन् । ठूलो पार्टीको हैसियतमा नेकपाले सभामुख लिन्छ नै । विधि र प्रणालीले त्यसका लागी शिवमायालाई नै सभामुखको हैसियतमा उकाल्छ पनि । त्यस कारण शीतल निवास वा बालुवाटार जहाँको साथ भए पनि नभए पनि यी तीनै पक्षले अघि सारेको कुरा प्रणालीको हो । व्यक्तिको होइन । संसद भनेको यसै पनि विधि, पद्धति र प्रणाली बसाउने थलो हो । त्यही थलोमा गैर बैधानिक अभ्यास हुन थाले भने देशका अरु अवयव कसरी विधानमा चल्लान् र ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

उर्मिला अर्याल राष्ट्रिय सभाको उपाध्यक्ष बन्दै

काठमाडौं-राष्ट्रिय सभा उपाध्यक्षको आज निर्वाचन हुँदै छ । आज मध्याह्न १२ बजे बस्ने राष्ट्रिय सभा बैठकबाट उपाध्यक्ष पदमा अर्याल निर्विरोध...

छुटाउनुभयो कि?