काठमाडौं- सरकारले सर्वसाधारणको ‘टेलिफोन ट्रयाक’ गर्ने प्रणाली खरिद गर्ने प्रक्रिया अघि बढाएको छ। यो प्रणाली खरिदको मुख्य उद्देश्य निश्चित भूस्थिति पत्ता लगाउनु र लक्षित मोबाइल फोन प्रयोगकर्तालाई ट्रयाक गर्नु हो। यसलाई ‘सिम लोकेटर सिस्टम’ भनिएको छ।
नेपाल प्रहरीअन्तर्गतको केन्द्रीय अनुसन्धान ब्युरोले गत मंसिर १६ मा टेलिफोन ट्रयाकिङ गर्ने प्रणाली खरिद गर्न विद्युतीय बोलपत्र आह्वान गरिसकेको छ। राष्ट्रिय अनुसन्धान विभागलाई ‘फोन ट्यापिङ’ गर्न सक्ने प्रस्तावित व्यवस्थाको विरोध भइरहेकै पृष्ठभूमिमा ‘टेलिफोन ट्रयाक’ मेसिन खरिद प्रक्रिया अघि बढेको हो। यो प्रक्रियाको दुरुपयोग हुन सक्ने आशंका गरिएको छ।
नेपाल पुलिसले भौगोलिक खोजी र लक्षित मोबाइल फोन प्रयोगकर्ता ट्रयाक गर्न यसका लागि नेपाल प्रहरीले लक्षित मोबाइल फोनको सटीक भौगोलिक स्थान निर्धारण गर्न प्रणाली प्राप्त गर्दछ । सीआईबीका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक निरजबहादुर शाहीले अपराधमा संलग्न मान्छे कहाँ छ भन्ने पत्ता लगाउन यो प्रविधि चाहिएको बताए। हाल टेलिकमबाट मात्रै यो सुविधा उपलब्ध हुँदै आएको छ । टेलिकमबाट यो सुविधा लिँदा दुरुपयोग भएका थिए। कसैको कल डिटेल लिँदा अदालतको स्वीकृतिमा मात्र लिनु भन्ने आदेश सर्वोच्च अदालतबाट भएको थियो।
गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव केदारनाथ शर्माले सरकारले दिएको बजेटमा रहेर प्रहरीले आवश्यक उपकरण खरिद गर्न सक्ने स्पष्ट पारे ।