काठमाडौं- जिल्ला प्रशासन कार्यालय काठमाडौंले गायिका आस्था राउतविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । राउतलाई अभद्र व्यवहार कसुरको जाहेरी दर्तामा पक्राउ गर्न प्रशासनले आज प्रहरीलाई अनुमति दिएको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तम सुवेदीले गायिक राउतविरुद्ध पक्राउ पूर्जी जारी भएसंगै अब थप प्रक्रिया अघि बढ्ने बताए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक सुरक्षा कार्यालयमा कार्यरत प्रहरी जवान रमिता श्रेष्ठले उनीविरुद्ध महानगरीय प्रहरी कार्यालय र प्रशासन कार्यालयमा उजुरी दिएका थिइन ।
गत बुधबार काठमाडौंबाट भद्रपुर जान लागेकी राउतले विमानस्थलमा सुरक्षा जाँचका क्रममा प्रहरीसंग भएको भनाभनलाई लिएर प्रहरी संगठन र सुरक्षाकर्मीलाई गालीगलौज गरेको भिडियो सार्वजनिक भएको थियो ।
गायिका राउतले विमानस्थलमा सुरक्षा जाँचका नाममा आफूमाथि दुव्र्यवहार भएको दाबी गर्दै सामाजिक सञ्जाल मार्फत ‘आपत्तिजनक शब्द’ सहितको भिडियो पोष्ट गरेपछि उनी विवादमा तानिएकी हुन् ।
तर सीसीटीभी फुटेजमा भने गायिका राउतले सुरक्षा जाँचमा अटेर गर्न खोजेपछि भनाभन भएको देखिएको प्रहरीको भनाइ छ ।