काठमाडौं- सभामुखको उम्मेदवार टुंगिएसँगै विपक्षी दलका नेताहरू उपसभामुखको उम्मेदवारको आन्तरिक छलफलमा जुटेका छन् ।
संवैधानिक व्यवस्थाअनुसार सभामुख र उपसभामुख एकै दलको हुन नपाउने भएपछि उपसभामुख आफ्नो दलको बनाउन सरकार बाहिरका दल सक्रिय भएका हुन् ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेताहरूले पनि उपसभामुखमा दावेदारी प्रस्तुत गरिसकेका छन् ।
सरकार बाहिर रहेर पनि नेकपालाई सघाउँदै आएको राष्ट्रिय जनता पार्टी (राजपा) ले यसबारे केही नबोले पनि उपसभामुखको आकांक्षी देखिएको छ ।
नेकपाबाट उपसभामुख सम्भव नभए पनि नेकपाले जुन दललाई समर्थन गर्छ उसैले उपसभामुख पाउने पक्का छ ।
राष्ट्रियसभा निर्वाचनमा नेकपालाई सघाउने सहमति गरेको र सभामुखमा समर्थक बसेकाले विपक्षी दलमध्ये राजपाले उपसभामुखमा नेकपाको समर्थन पाउने सम्भावना रहेको छ ।