काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १४ औ महाधिवेशन २०७७ फागुनमै गर्ने गरी कार्यतालिका संशोधन गरेको छ ।
पार्टी कार्यालय सानेपमा बसेको कार्यसमिति बैठकले पूर्वनिर्धारित कार्यतालिका अनुसार नै महाधिवेशन गर्ने गरी वडा तहदेखि प्रदेश तहसम्मको कार्यतालिका संशोधन गरेको हो ।
काँग्रेसको १४ औं महाधिवेशन २०७७ फागुन ७-१० मा नै हुनेछ । तल्लो तह वडा तहको अधिवेशन १६ कातिक २०७७ मा हुनेछ । यसअघि वडा तहको अधिवेशन २०७७ मंसिर ९ मा तोकिएको थियो ।
त्यसैगरी मंसिर ११ का लागि तोकिएको गाउँ तथा नगरपालिकाको अधिवेशन अब कातिक १८ मा हुनेछ । तीन सय ३० प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन कातिक २१ मा गरिने भएको छ । यसअघि प्रदेशको अधिवेशन मंसिर १५ का लागि तय भएको थियो ।
यसैगरी प्रतिनिधिसभा क्षेत्र र एउटा मात्र प्रतिनिधिसभा क्षेत्र भएको जिल्लाको अधिवेशन कातिक २१ २०७७, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन कातिक २३ र सातै प्रदेशको अधिवेशन मंसिर २९ मा हुनेछ । यसअघि प्रदेश अधिवेशन पुस १५ का लागि तोकिएको थियो ।
शीर्ष नेताहरुबीच भएको सहमतिपछि महाधिवेशनको कार्यतालिका हेरफेर गर्दै क्रियाशील सदस्यता फागुन र चैत महिनाभित्र वितरण गर्ने निर्णय भएको छ । बैठकले पार्टीको अन्तरिम संरचना समायोजनको काम माघ मसान्तभित्रै सक्ने निर्णय पनि गरेको छ ।
यस्तै क्रियाशील सदस्यता छानविन समिति बनाउने निर्णय पनि गरेको छ । मंसिर २६ गते बोलाइएको केन्द्रीय समिति बैठक वरिष्ठ नेता रामचन्द्र पौडल र कृष्णप्रसाद सिटौला समूहले लगातार बहिष्कार गरेपछि बस्न सकेको थिएन ।
माघ १० मा बूढानिलकण्ठ बैठकमा नेताहरुबीच सहमति भएपछि हिजो केन्द्रीय समिति बैठक बसेको हो ।