‘कांग्रेसभित्रको विवाद समाधान क्षणिक अंशभाजन मात्र’

लोकप्रिय

काठमाडौं- नेपाली कांग्रेसभित्रको विवाद भागबन्डाको अंशभाजन मात्र गरिएकाले दीर्घकालीन नहुने संकेत देखिएको छ ।

तत्कालका लागि नेता त्रयबीच अंशभाजन गरेर आवरणमा विवाद मिलान गरेजस्तो गरिएपनि गुटगत स्वार्थ भने कत्ति पनि कम भएको छैन ।

नेपाली कांग्रेसभित्रको गुटगत लडाईं आजको होइन । कांग्रेसको स्थापनाकालदेखि नै गुटहरुको एकीकृतरुपमा रहेको कांग्रेसभित्र समय बित्दै जाँदा पात्रमात्र फेरिएका हुन् । गुटगत लडाईंमा पुरानै मान्यता र संस्कार चलि नै रहेको छ ।

गुटको शक्तिका आधारमा नै शक्ति सन्तुलन हुने भएपछि कांग्रेस नेताहरुले लामो समयदेखि पार्टीभित्र ठेक्कामा लगाइने प्रतिशतजसरी नै पदहरु प्रतिशतमा भागबन्डा गरिरहेका छन् ।

पछिल्लोपटक देखिएको विवादको पनि कांग्रेसका तीन नेताले त्यसैगरी भागबन्डा गरेर मिलाए ।

गत महाधिवेशनमा पाएको मतको प्रतिशतका आधारमा नै पार्टीका संरचनाहरुमा भागबन्डा गर्न सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला तयार भए । त्यसलाई कांग्रेसभित्रको विवाद मिलेको बताइयो ।

कुनै दर्शन र सिद्धान्तमा नभइ कांग्रेसको झगडा खुद्रा–मसिना पदका लागि मात्र थियो भन्ने पुष्टि यही भागबन्डापछिको मिलनले गरेको छ ।

तर, यो मिलन अर्को नयाँ पदका विषयमा ‘बार्गेनिङ’ सुरु गर्नुअघिलाई मात्र हुनसक्छ ।

कांग्रेसबारे लामो अध्ययन गरेका राजनीतिक चिन्तक पुरन्जन आचार्य ‘कांग्रेसभित्रको अहिलेको विवाद समाधान क्षणिक अंशभाजन मात्र हो’–भन्छन् ।

प्रमुख प्रतिपक्षको हैसियतले अहिले कांग्रेसले राष्ट्रिय मुद्दामा आफूलाई दरिलो ढंगबाट प्रस्तुत गर्नुपर्ने थियो । त्यसमा त ऊ चुकेकै छ ।

प्रतिपक्ष दलले जनतमा जुन प्रकारको उत्साह र ऊर्जा थप्नुपर्ने थियो, यो झगडाले यस्तो ऊर्जा थप्नुभन्दा आफ्नै कार्यकर्तालाईसमेत निराश बनाइदियो । जुटेको भनेर प्रचार गर्दासमेत कार्यकर्ता उत्साही बन्नसकेका छैनन् ।

राजनीतिक चिन्तक आचार्य बूढाहरुको पार्टीको रुपमा कहलिएको कांग्रेसमा युवाहरु पनि उनकै पछि लाग्दा यस्तो अवस्था देखिएको तर्क गर्छन् ।

आवरणमा मिले जस्तो गरिएपनि कांग्रेस विवाद अझै मिलिसकेको छैन । अहिले पनि एउटा समूहका नेताहरु पार्टी कार्यालयमा लाठीमुंग्रीपछि अनशनमा छन् ।

एउटा विवाद मिल्दा नमिल्दै फेरि अर्को विवादको झिल्को कांग्रेसमा देखिसकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

उर्मिला अर्याल राष्ट्रिय सभाको उपाध्यक्ष बन्दै

काठमाडौं-राष्ट्रिय सभा उपाध्यक्षको आज निर्वाचन हुँदै छ । आज मध्याह्न १२ बजे बस्ने राष्ट्रिय सभा बैठकबाट उपाध्यक्ष पदमा अर्याल निर्विरोध...

छुटाउनुभयो कि?