एजेन्सी- विश्व स्वास्थ्य सङ्गठनले चीनबाट फैलिएको नयाँ कोरोनाभाइरसबारे पूरै विश्व सावधान हुनुपर्ने बताएको छ । उसले यसको फैलावट रोक्न सम्पूर्ण विश्वले मिलेर कदम चाल्नुपर्नेमा जोड दिएको छ ।
विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओको स्वास्थ्य आपतकाल कार्यक्रमका प्रमुखले चीनको वुहानबाट सुरु भएको कोरोनाभाइरस संक्रमणबारे सम्पूर्ण विश्व सावधान हुनुपर्ने बताएका छन् ।
डाक्टर माइक र्यानले घातक भाइरससँग जुध्न चीनले चालेका कदमहरूको प्रशंसा गर्दै चुनौती निकै ठूलो भए पनि त्यसको सम्बोधनका लागि देखाइएका प्रतिक्रिया पनि व्यापक रहेको उल्लेख गरेका छन् ।
डब्लुएचओले यो भाइरसले विश्वव्यापी आपतकालीन अवस्था निम्त्याएको हो कि होइन भनी फैसला गर्न आज बैठक डाकेको छ । गत साताको बैठकमा उसले त्यस्तो घोषणा गरेको थिएन ।
जेनेभामा बोल्दै डब्लुएचओका महानिर्देशक टेड्रोस एड्हानोमले मानिसबाट मानिसमा सरेका प्रमाण निकै चिन्ताजनक रहेको भन्दै हालसम्म चीन बाहिर संक्रमितहरूको संख्या थोरै नै देखिए पनि त्यो बढ्ने सम्भावना औंल्याएका छन् ।
यो भाइरसबाट संक्रमितहरुको संख्या ७ हजार पुगेको छ भने १ सय ७० जनाको ज्यान गएको छ । संक्रमित प्रत्येक पाँच जनामध्ये एक जनामा न्युमोनियाजस्ता गम्भीर समस्या देखिएका छन् ।