Thursday, April 22, 2021

कोभिड ‐१९, भोक र गरिबीको व्यवस्थापन

धेरै पढिएको

  • सूर्यबहादुर थापा

कोरोना भाइरस ( कोभिड–१९ ) को महामारीले गर्दा आज विश्व नै प्रभावित हुन पुगिरहेको छ । यसको सन्त्रास र डरका कारण विश्व नै आक्रान्त भइरहेको अवस्था छ । आज सम्म २१३ देशहरुमा यसको प्रभाव देखिएको छ भने यो लेख तयार गर्दा सम्म २ लाख ३९ हजार ७४० मानिसहरुको मृत्यु भइसकेको छ । ३४ लाख ४२ हजार २ सय ३४ मानिसहरु संक्रमित भइसकेका छन् । मृत्यु हुनेको संख्या र संक्रमित हुनेहरुको संख्या दिनानुदिन बढी रहेको छ । कोभिड–१९ को महामारी थप फैलिन नदिन र यसबाट हुने जन धनको क्षति न्यूनिकरण गर्न विभिन्न देशहरुले लकडाउन लगायत विभिन्न उपायहरु अवलम्वन गरिरहेका छन् । नागरिकहरुलाई सुरक्षित रहनका लागि आह्वान पनि गरिरहेका छन् र जनचेतनाका कार्यक्रमहरु पनि सञ्चालन गरिरहेका छन् । नेपालले पनि सक्रमण फैलावट र मानिसको मृत्यु भइरहेको विश्वको परिस्थितिलाई मध्यनजर गरी चैत्र ११ गतेबाट सुरु गरेको लकडाउन क्रमशः विस्तार गर्दै वैशाख २५ गते सम्मको लागि अवधिका लागि लकडाउनको घोषणा गरिसकेको छ ।

अत्यावश्यक वस्तु र सेवा प्रवाहका काम बाहेक अरु सबै सेवाहरु बन्द समेत गरेको छ । नागरिकहरुबाट पनि स्वःस्फूर्त रुपमा लकडाउनलाई पालना गरी सरकारलाई सहयोग गर्दै घरमा नै बसिरहेका छन् । नेपाल सरकारले बेलैमा सावधानी अपनाएर लकडाउनको घोषणा गरेको, सरकारको तर्फबाट चालिएका विभिन्न प्रयास र आम जनसमुदायले पनि साथ दिएको कारणले आज सम्म यस कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८२ मात्र पुगेको छ भने त्यसमध्ये पनि १६ जना पूर्ण रुपमा ठीक भएर घर गइसकेको अवस्था छ । यद्यपी नेपालमा विस्तारै संक्रमितको संख्या भने बढ्दै गइरहेको छ । यसले हामीमा थप सन्त्रास फैलाइरहेको छ । आजसम्म दक्षिण पूर्वी एसियामा नेपालको अवस्था सामान्य रहेको भनेर सरकारको तर्फबाट घोषण समेत गरिएको छ । तर दु:खको कुरा विदेशमा रहेका ७३ जना नेपालीहरु र अरु विदेशी नागरिकहरुको मृत्युले हामीलाई दुःखी बनाएको छ । आज सम्म नेपाल भित्र कोही पनि नेपालीहरुको कोरोना भाइरसको कारण मृत्यु भएको छैन् । यो हामी सबै नेपालीहरुको लागि खुशीको कुरा हो ।

यसको अलवा ८१ वर्षको संक्रमित र ६१ वर्षको डायबेटिज संक्रमित बिरामी पनि ठीक भएर घर फर्केको केशहरुले गर्दा हामीमा एक प्रकारको साहस हौसला र पे्ररणा मिलेको छ । विश्वमा नै अचानक रुपमा देखिएको कोरोना भाइरसले महामारीको रुप लिए पछि सबै देशहरुले रोकथाम तथा उपचारका लागि सक्दो प्रयासहरु गरेको देखिएको छ । यति गर्दा गर्दै पनि ठूलो संख्यामा मानिसहरुको मृत्यु भइरहेको छ । आर्थिक रुपमा सम्पन्न र विकसित राष्ट्रहरुलाई समेत यस कोरोनाले हायल कायल बनाइरहेको छ ।

नेपाल जस्तो गरिब तथा विकासोन्मुख राष्ट्रले पनि आफ्नो जनताको जीवन रक्षाको लागि चालिएका प्रयासहरुलाई हामीले मुक्तकण्ठले प्रशंसा गर्नै पर्ने हुन्छ । यद्यपी काम गर्ने सवालमा कहिँ कतै कमजोरी देखिनु स्वभाविकै हो । जनचाहना अनुसार र विश्व परिस्थितिलाई हेरी सरकारको तर्फबाट तत्काल लकडाउनको घोषणा गर्नु निकै नै प्रशंसनिय कार्य हो । यसको अलवा आफ्नो सीमित स्रोत र साधनका बावजुद तत्काल स्वास्थ्य सामाग्रीहरुको खरिद, विभिन्न स्थानहरुमा स्वास्थ्य जाँचका व्यवस्था, क्वाराइनटाइनको व्यवस्थापन, तत्काल उपप्रधानमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय समितिको गठन, सुरक्षा निकायको परिचालन, कोरोना भाइरसको सहयोगको लागि राहत कोषको स्थापना, नेपालको दक्षिण सिमा क्षेत्रबाट जनताको आवतजावतलाई रोक्न सुरक्षाकर्मीको परिचालन आदि सरकारले चालेका सकारात्मक र प्रशंसनिय कामको रुपमा लिनु पर्दछ । यद्यपी क्वारेन्टाइनको व्यवस्थापन र सिमापारी आएर बसेका नेपाली जनताको व्यवस्थापन, नियमित स्वास्थ्य सेवा प्रवाह गर्न र निजी अस्पतालहरुलाई विपद्को समयमा सरकारले परिचालन नसक्नु, आवश्यक मात्रामा स्वास्थ्य जाँचको सामाग्रीहरु उपलब्ध गराउन नसक्नु, लकडाउनका कारण अप्ठ्यारोमा परेका र बिहान बेलुका छाक टार्न अप्ठ्यारोमा परेका मानिसहरुलाई समयमा राम्रोसँग सम्बोधन गर्न सकिएको भने देखिएन । अर्को तर्फ कोठामा खाद्यान्न सामाग्री नभएर अप्ठ्यारोमा परेका र रोजगारी नभएका मानिसहरुलाई सम्बोधन गर्न र आफ्नो गाउँ घर जानको लागि पनि समयमा नै सहज वातावरण बनाउन सकेन । अन्तमा मानिसहरु जसरी पनि दुःख कष्ट सहेर हिँडेरै, लुकिछिपी र आफ्ना स्थानीय सरकार र जनप्रतिनिधिहरुको सहयोग र सहजीकरणमा आ–आफ्नो घर तिर जाने काम भयो । त्यही काम सरकारको तर्फबाट एक हप्ता अगाडि स्थानीय सरकारसँग समन्वय गरि गर्न सकेको भए पीडित जनताको तर्फबाट र सबै क्षेत्रबाट सरकारले स्याबासी नै पाउने थियो । त्यहाँनिर चाँही सरकार चुकेको नै हो भन्ने लागि रहेको छ । यद्यपी समग्रमा सरकारको काम राम्रै र प्रशंसनिय नै देखिएको छ ।

नेपालमा कोरोना भाइरसको संक्रमितको संख्या कम छ र धेरै मात्रामा फैलिएको छैन भनेर ढुक्क भएर बस्न हुने अवस्था अहिले पनि छैन । अबको सरकारको काम भनेको सिमा क्षेत्रलाई केहि समयको लागि शिलबन्दी नै गरिरहनु नै पर्ने हुन्छ । भारतसँग सिमाना जोडिएका क्षेत्रमा मानिसहरुको आवतजावत नहोस भन्नका लागि निगरानी वढाउनु पर्ने हुन्छ । विदेशबाट आएका नेपालीहरुको तथ्याङ्कका आधारमा जोखिमको अवस्थाको विश्लेषण गरी सबैको स्वास्थ्य जाँच गराउनमा जोड दिनुपर्दछ तिनलाई केही समयको लागि क्वारेन्टाइनमा राख्नुपर्दछ । आवश्यक पर्ने स्वास्थ्य सामग्रीहरुको खरिद र भण्डारण गरि राख्नु पर्ने हुन्छ । अति जोखिम, जोखिम र मध्यम स्तरको भौगोलिक क्षेत्रको पहिचान गरि त्यसै अनुरुप स्वास्थ्य सेवाको व्यवस्थापन, क्वारेन्टाइनको व्यवस्थापन, स्वयम् सेवकको व्यवस्थापन, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको मनोवल बढाउने खालको कामको निरन्तरता, बाहिरबाट आएका मानिसहरुको ट्रयाकिङ्ग र ट्रेसिङ्ग गर्ने कामलाई पनि निरन्तरता दिनु पर्दछ । केही समयको लागि एउटा जिल्लाबाट अर्को जिल्लामा जाने मानिसहरुलाई पनि रोक लगाउनु पर्ने हुन्छ । यसको साथै जनचेतना र सचेतनामूलक कामहरुलाई पनि निरन्तरता दिनु पर्ने हुन्छ । कुनै कारणवस जान आउन परेमा अनिवार्य रुपमा ३ हप्ता क्यारेन्टाइनमा बस्नै पर्ने व्यवस्था गरिनुपर्दछ । यसरी आवत जावत गर्नेको तथ्याङ्क पनि स्थानीय सरकारले वडामा राख्ने व्यवस्था गर्नुपर्दछ । लकडाउनसँगै मानिसमा भोकमरी, गरिवी र रोजगारीको अभाव नहोस् र देशमा आर्थिक संकट नआओस भन्नका लागि साना साना रोजगारीमूलक, आय आर्जन, जीविकोपार्जन र उद्योगधन्दा सञ्चालन तथा विकासका आयोजनाहरु सञ्चालन गर्नका लागि सरकारले विशेष कार्यक्रमहरु ल्याउनु पर्दछ । यो सबै कामहरुमा स्थानीय सरकारलाई सक्रिय र जिम्मेवार बनाउनुपर्दछ । स्थानीय सरकारकै नेतृत्वमा जन सहभागिता जुटाउन र सामाजिक संघ संस्था, सहकारी, सामुदायिक संस्था, टोल विकास संस्था, युवा तथा महिला समुहहरुलाई समेत परिचालन गर्ने र उत्पे्ररणा जगाउने खालका कार्यक्रमहरुमा जोड दिनु पर्ने हुन्छ ।

यस्ता कार्यक्रमहरु सञ्चालन गर्दा गरिब, बेराजगार, विपन्न, अपाङ्गता भएका सिमान्तकृत वर्गका मानिसहरुलार्ई विशेष प्राथमिकतामा राखि विशेष योजना निर्माण तथा कार्यक्रम संञ्चालन गर्नु पर्दछ । राम्रो र उदाहरणीय काम गर्ने स्थानीय तहलाई विशेष अनुदान, सहयोग अवसर र उत्पे्ररणा जगाउने खालका प्याकेजहरु संघ र पे्रदेश सरकारबाट दिनु पर्ने हुन्छ । जसले गर्दा काम गर्ने र नगर्ने स्थानीय तह बीच भिन्नता छुट्टियोस्, राम्रो काम गर्नेलाई प्रोत्साहन मिलोस र यसले गर्दा स्थानीय तहबीच पनि स्वच्छ प्रतिस्पर्धा हुन सकोस । अहिलेको अवस्थामा सरकारले विशेष गरी कृषि क्षेत्रको उत्पादन बढाउने, रोजगारीको अवस्था श्रृजना गर्ने, आयआर्जनमा सहयोग पुग्ने काममा जोड दिनु पर्ने हुन्छ । उत्पादनको बिक्री र वितरणको लागि पनि स्थानीय बजारमा नै खपत हुन सक्ने कुरामा जोड दिनु पर्ने हुन्छ ।

स्थानीय बजारमा बिक्री वितरण हुन नसक्ने अवस्था आएमा सरकारले नै खरिद गरि अन्य क्षेत्रमा बिक्री वितरण गर्नको लागि सहयोग र सहजीकरण गर्नु पर्ने हुन्छ । अहिलेको अवस्थामा नेपालले बाहिरी देशहरुबाट पनि धेरै कुराहरु सिक्न सक्ने अवस्था प्राप्त गरेको छ । आफ्नै अनुभवहरुबाट पनि केही कुराहरु सिकिरहेका छौं । तसर्थ यो सिकाइहरुलाई सही ढंगबाट उपयोग गर्न जरुरी रहेको छ । नेपालको भौगोलिक अवस्था, जनताको मनोभावना र देशको अवस्थालाई विश्लेषण गरि त्यसै अनुरुपका योजनाहरु निर्माण गरि कार्यान्वयन गर्न सकेमा कोरोनाको महामारीलाई सामना गर्न सकिने छ । अर्को तर्फबाट रोजगारीका अवस्था श्रृजना हुन गई भोक, रोग र शोकबाट बच्न सकिने छ । यसको साथै आर्थिक र समाजिक अवस्थालाई पनि व्यवस्थापन गर्दै हामी अगाडि बढ्न सफल हुनेछौं ।
लेखक राष्ट्रिय प्रकोप व्यवस्थापन सञ्जाल नेपाल(डिमान)का अध्यक्ष तथा प्रकोप पूर्व तयारी सञ्जाल नेपाल (डिपिनेट नेपाल)मा आबद्ध हुनुहुन्छ ।

spot_img

2 COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

भर्खरै

राजनीतिक प्रकृतिका मुद्दा फिर्ता हुन्छन् : कानूनमन्त्री श्रेष्ठ

लोकतान्त्रिक शासन प्रणालीमा विधिको शासन अपरिहार्य मानिन्छ । संविधानतः व्यवस्थापिकाका रूपमा विधि निर्माणको थलो संसद् र कानूनको कार्यान्वयनकर्ता कार्यपालिका...
spot_img

छुटाउनुभयो कि ?