‘थ्री इडियट्स, दंगल’ जस्ता विभिन्न फिल्ममा काम गरिसकेका आमिर खान भारतका एक चर्चित अभिनेतामध्ये एक हुन् । आफ्नो भूमिकामार्फत् मानिसहरुको मनमा बस्न सफल ‘मिस्टर परफेक्सनिस्ट’ को फिल्मको मानिसहरुले व्यापक प्रतीक्षा गर्ने गर्छन् । यत्तिको नाम–चर्चा पाएपछि पनि आमिरको जीवनमा यस्तो समय थियो जब उनी निकै तनावमा हुने गर्दथे । यतिमात्रै होइन उनी घर आएर रुने गर्दथे । यो कुरा अभिनेता आफैंले बताएका हुन् ।
आमिर खानले फिल्म ‘होली’ मार्फत् फिल्मी दुनियाँमा कदम राखेका थिए तर उनले फिल्म ‘कयामत से कयामत तक’ बाट पहिचान पाएका थिए । फिल्म सुपरहिट साबित भएको थियो र आमिर खान रातारात चर्चित भएका थिए । त्यसपछि आमिरसँग फिल्मको लाइन लागेको थियो र उनले करिब ८–९ फिल्म साइन गरेका थिए । तर पनि उनी निकै तनावमा हुने गर्दथे र घर आएर रुने गर्दथे । यसबारे आमिरले एक कार्यक्रममा कुरा गरेका थिए । यो कार्यक्रममा अभिनेताले आफ्नो करियरबारे कुरा गरेका थिए ।
आमिर खानले भनेका थिए, ‘फिल्म कयामत से कयामत तक’ पछि मैले कहानीको आधारमा लगभग ८ वा ९ फिल्म साइन गरेको थिएँ । त्यतिबेला लगभग सबै निर्देशक नयाँ थिए । यी फिल्मले बमबारी सुरु गरेका थिए तर मलाई मिडियाले ‘वन फिल्म वन्डर’ भन्न थालेका थिए । तर मेरो करियर डुबिरहेको थियो र म असाध्यै हतारमा भएको जस्तो भान हुन्थ्यो । म असाध्यै दुःखी थिएँ, घर आएर रुने गर्दथेँ ।’
आमिरले थपे, ‘म जोसँग काम गर्न चाहन्थेँ, उनीहरुले ममाथि रुची लिइरहेका थिएनन् र त्यतिबेला मैले जुन फिल्म गरिरहेको थिएँ, त्यो राम्रा थिएनन् भन्ने मलाई लागेको थियो । कयामत से कयामत तकको पहिलो दुई वर्षम मैले आफ्नो जीवनको सबैभन्दा कमजोर अवस्था अनुभव गरेँ । जुन फिल्म साइन गरेको थियो, त्यो एकपछि अर्को गर्दै फ्लप हुन थाले । म अब खत्तम हुँदै छु भन्ने मलाई लाग्थ्यो । त्यसपछि मैले जबसम्म मैले राम्रो निर्देशक, राम्रो स्क्रिप्ट वा एउटा राम्रो निर्माता नपाएसम्म कुनै पनि फिल्म साइन नगर्ने सोचेँ ।’
आमिरले थपे, ‘४४ वर्षको उमेरमा निर्देशक र निर्माता राजकुमार हिरानीले फिल्म ‘थ्री इडियट्स’ मा विद्यार्थीको भूमिकाका लागि मलाई सम्पर्क गर्नुभयो । मैले सोचेँ, ‘मैले कलेज विद्यार्थीको भूमिका कसरी निभाउन सक्छु ?’ तर म फिल्मको मूल विचार ‘सफलताको पछाडि नभाग, क्षमतालाई पछ्याउ’ भन्नेबाट निकै प्रभावित भएको थिएँ । त्यसपछि मैले फिल्ममा अभिनय गर्ने निर्णय गरेँ । फिल्म रिलिज भएपछि हिट भयो । ’
यो फिल्मलाई मानिसहरुले आज पनि त्यत्तिकै रुचाउँछन् । त्यसपछि आमिरले पीके, दंगलजस्ता फिल्ममा अभिनय गरे । अब आमिरको आउँदो फिल्म ‘लाल सिंह चड्डा’ छ, यसलाई पनि मानिसहरुले व्यग्रताका साथ प्रतीक्षा गरिरहेका छन् ।-एजेन्सी