ओली-नेपाल सम्बन्ध कहिले घाम कहिले छाया

लोकप्रिय

काठमाडौँ- झापा आन्दोलन हुँदै को–अर्डिनेशन केन्द्रमा जोडिन आएका केपी ओली र कोर्डिनेशन केन्द्रबाटै पार्टी एकीकरण अभियानमा लागेका माधव नेपालबीच करिब ४७ वर्ष लामो सम्बन्ध रहेको देखिन्छ। भनिन्छ मदन भण्डारीको मृत्युपछि यी दुई नेता देशव्यापी कार्यक्रममा जाँदा एउटै जहाज र एउटै गाडीमा हिँड्दैनथे। उनीहरूमा पार्टी प्रतिको लगाव र माया यति धेरै थियो कि त्यसले गर्दा कहिले काहीँ मनमुटाब भए पनि चाडै नै मिल्न सक्ने क्षमता राख्थे। तर दुई वर्ष अघि भदौदेखि उनीहरूबीच सम्बन्ध यसरी बिग्रियो कि त्यसले करिब करिब नदीको दुई किनारा जस्तै बनाइदियो।

नेकपा हुँदा ओलीलाई गरिएको कारवाही र एमाले व्यूतिएपछि नेपालमाथि चलाइएको डन्डाले ओली-नेपालको सम्बन्ध नदीको दुई किनारा कै अवस्थामा पुगेको छ। भेट भए पनि खास दिल खुस हुने अवस्था देखिँदैन।

दुई वर्ष अघि अर्थात् २०७६ भदौ पाँच गते प्रधानमन्त्री ओली स्वास्थ्य उपचारको क्रममा सिंगापुर जाने तयारीमा थिए। त्यस बेला तत्कालीन नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र चौथो वरियताका वरिष्ठ नेता माधव नेपालबीच भनाभन भयो। भनाभन हुँदा ओलीले आफू मरोस् भन्ने चाहेको जस्तो गम्भीर आरोप नेपाललाई लगाएका थिए।

दुई कित्तामा उभिएका पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली र सचिवालय सदस्य माधवकुमार नेपालबीच लामो चर्काचर्की भएपछि झन्डै ४५ मिनेट लामो बैठक तिक्ततापूर्ण वातावरणमा सकिएको थियो।

बैठकको सुरुवात गर्दै प्रधानमन्त्री ओलीले आफू सिंगापुरमा जान लागेको र आफ्नो अनुपस्थितिमा पनि पार्टीले निर्णय लिन सक्ने बताएका थिए। तर त्यसको लागि आफूसँग सहमति लिनुपर्ने प्रस्ताव उनले गरेका थिए। प्रधानमन्त्रीको सो प्रस्तावको सचिवालय सदस्य माधवकुमार नेपालले प्रतिवाद गरेपछि दुई नेताबीच चर्काचर्की नै भएको थियो। त्यही क्रममा ओलीलाई माधव नेपालले स्वास्थ्य लाभको कामना गर्दा ओलीले लिन अस्वीकार गरेपछि सम्बन्धमा दरार मात्रै उत्पन्न भएनन् पार्टीभित्रको मूल किचलो बढ्नुमा यो पनि प्रमुख कारण रहेको छ।

लामो सम्बन्ध र एकै राजनीतिक पुस्ताका यी नेताका बीचमा भनाभन चलेपछि नेकपा सचिवालय बैठक एजेन्डा प्रवेश नै नगरी छिटो छिटो नेताहरूले स्थगित गराउनु परेको थियो। ओली-नेपाल भनाभन यतिसम्म तल झरेर भएको थियो की, अर्का पार्टी अध्यक्ष प्रचण्ड, नेता वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले नै भनाभन रोक्नका लागि हस्तक्षेप नै गर्नुपरेको थियो।

राजनीतिको विभिन्न पृष्ठभूमिबाट मुलुकको सर्वोच्च पद सम्हाली सकेका नेताहरूबीचको तिक्ततालाई हेर्ने हो भने यसकै कारण मुलुकले दुःख भोगिरहेको आभाष समेत हुने गरेको छ। अहिलेको अवस्थामा मुलुक राजनीतिक ‘डेडलक’मा एमालेको विवाद पनि कारक बन्दै गएको छ। यसमा ओली-नेपालको विवाद मुख्य कारक हो भन्दा अतिशयोक्ति हुँदैन।

सानैमा आमा गुमाएका ओली बाल्यकालमा झापाका कम्युनिस्ट नेता रामनाथ दाहालको आश्रयमा बसेका थिए। अर्काका घरमा बसेर उनले बाल्यकालको शिक्षा लिएका थिए। उनी दाहालकै प्रेरणाबाट कम्युनिस्ट पार्टीमा लागेका हुन। उनले झापामा दाहालसँगै अन्य कम्युनिस्ट नेताको सामीप्यमा रहेर काम गरेका थिए।

तर ओलीको भन्दा फरक पृष्ठभूमिबाट नेपाल राजनीतिमा आएका हुन्। बाल्यकालदेखि नै परिवारको छत्रछायामै हुर्कने र पढ्ने अवसर नेपालले पाएका थिए। राजनीतिमा आउनुअघि केही समय बैङ्कका जागिरे नेपाल वाणिज्य शास्त्रमा स्नातक हुन्। उनी पनि सानैदेखि राजनीतिमा चासो राख्थे। पार्टी सङ्गठनमा भने तल्लै कमिटीबाट जिम्मेवारी लिँदै माथिल्लो सर्वोच्च पदमा पुगेका नेता हुन् नेपाल।

ओली भने २०४४ मा १४ बर्से जेल जीवनपछि केन्द्रीय कमिटी पुगेका थिए। भूगोलको जिम्मेवारी लिएर काम गरेको अनुभव ओलीको तुलनामा नेपालको कयौँ गुणा बढी छ। उनी पार्टीभित्रका कुशल सङ्गठन पनि मानिन्छन्। हाल ओली–नेपाल दुवै राजनीतिको केन्द्रमा रहने र राजनीतिलाई आफू अनुकूल केन्द्री करण गर्न चाहने नेता हुन्।

ओली सानैदेखि सङ्गठन गर्ने भन्दा पनि आफूलाई केन्द्रमा राखेर कुरा गर्न सक्ने खुबी भएका नेता हुन्। ओलीमा वाक्पटुता छ। उनी आफ्नो विचार र अडानमा स्पष्ट छन्। नेता–कार्यकर्तालाई उखान–टुक्का मिसिएको भाषण सुनाउन माहिर छन्, ओली। तर नेपालमा त्यो खुबी छैन। नेपालसँग ओलीको जस्तो वाक्पटुता छैन।
नेपालमा सबैलाई मिलाएर लैजाने क्षमता रहेको छ। एमालेको सातौँ महाधिवेशनपछि ओलीले नेपाललाई पार्टीभित्र चल्न नदिएपछि नेपालले ओली पक्षबाट केन्द्रीय सदस्य हारेका १४ जनालाई एकै पटक केन्द्रीय कमिटीमा प्रवेश दिएर पार्टीभित्रको सन्तुलन मिलाएका थिए। त्यसपछि आठौँ महाधिवेशनमा झलनाथ खनाल अध्यक्ष भएपछि ओलीले कयौँ पटक गुट भेला गर्दा नेपाल र खनालले ओलीलाई कुनै प्रतिक्रिया नदिई बसेका थिए।

यसले गर्दा नेपालले पार्टीभित्र आफूलाई समन्वयकारी नेताका रूपमा चिनाएका छन्। तर ओली मनोगत वादी र एकलकाँटे प्रवृत्ति भएका नेता हुन्। ओली आफ्नो अडान हतपत छोड्न चाहँदैनन्। तर आवश्यकताका आधारमा नेपाल भने अडानमा लचिलो पनि हुन्छन्।

ओली-नेपाल बीचको विवाद र बेमेलका अनेकन् प्रसङ्गहरू छन्। तत्कालीन नेकपाभित्र आफ्नो समूहका नेताहरूलाई पेल्ने रणनीतिमा ओली लागेका, वरियताका विषयमा झलनाथ र आफ्नो बीचमा नियोजित रूपमा खेल्ने कोसिस भएको भन्दै नेपाल ओलीसँग रुष्ट थिए। प्रदेश पदाधिकारी चयन देखि पछिल्लो सचिवालय बैठक सम्ममा आइपुग्दा पार्टी निर्णयमा नेपालले दुई पटक आफ्नो लिखित फरक मत राखिसकेका भए पनि त्यसलाई ओलीले रद्दीको टोकरी मिल्काइदिएपछि ओली-नेपालको सम्बन्ध झन् चिसिएको थियो।

करिब १५ वर्ष महासचिवको रूपमा पार्टीको नेतृत्व गर्दा पनि नेपालको पार्टीभित्रको प्रतिस्पर्धा ओलीसँगै चल्यो। २०५६ को संसदीय चुनाव र सातौँ महाधिवेशनका बेलामा पनि ओली–नेपालका बीचमा अन्तर्विरोध देखा परेको थियो। त्यस बेला ओलीले पार्टी महासचिव नेपाल भएकाले दलको नेता आफू बन्न चाहेका थिए, तर नेपालले दिएनन्।

त्यसपछि नै ओलीले पार्टीभित्र गुट बनाउँदै आफूलाई शक्तिमा ल्याउने प्रयास थालेका हुन्। ०७० को संसदीय दलको चुनावपछि पनि यी दुई नेताका बीचमा तिक्तता देखियो। पार्टीको आठौँ महाधिवेशनमा ओलीलाई काँध थापेका नेपाल दलको चुनावमा तत्कालीन अध्यक्ष खनालको पक्षमा थिए। तर बाजी मारे ओलीले।
‘नेतृत्व हस्तान्तरण, उमेर पुगेका नेताहरूको अवकाश र नयाँ पुस्तालाई अवसर’ भन्ने नारा लिएर ओली दलको चुनावमा खनालसँग भिड्न पुगेका थिए। तर ०४८ यता पार्टी नेतृत्वमा रहेका व्यक्ति नै दलको नेता पनि बन्ने परम्परा एमालेमा थियो। त्यो ओलीले भङ्ग गरिदिए।

खनाल पार्टी अध्यक्ष हुँदाहुँदै पनि उनले खनाललाई चुनावमा पराजित गरिदिएपछि तत्कालीन एमालेमा तरङ्ग उत्पन्न भएको थियो। ओलीको पहिलो प्रधानमन्त्रीको कार्यकालमा सत्ता सहयात्री तत्कालीन माओवादीले समर्थन फिर्ता लिएर अविश्वास प्रस्ताव दर्ता गरायो। त्यस बेला नेपालले ओलीको बचाउ गर्नुको सट्टा संसद्मा कार्यशैलीगत कमजोरीको प्रश्न मात्रै उठाइदिए।

त्यसपछि त झन् ओली–नेपाल द्वन्द्व अस्वाभाविक चुलियो। त्यसअघि माधव नेपालले ओलीको बचाउनमा लागेका धेरै प्रसङ्गहरू रहेका छन्। जस्तो कि २०६३ सालमा नेपालले ओलीका लागि राजनीतिक जोखिम मोलेका छन्। अर्थात्, नेपालले ओलीलाई सहयोग गरेका छन्। २०६२-०६३ सालको जनआन्दोलनपछि १५ वैशाखमा तत्कालीन एमालेको स्थायी कमिटी बैठक बसेको थियो। उक्त बैठकमा स्थायी समितिका धेरै नेताले सरकारमा जाने रहर गरेका थिए। रहर गर्नेमा ओली, झलनाथ खनाल, ईश्वर पोखरेल, अमृत बोहरालगायत थिए। त्यति बेला नेपालले ओलीको नाम प्रस्ताव गरे।

ओलीको नेतृत्वमा एमाले सरकारमा सहभागी बन्यो। दोस्रो पटक प्रधानमन्त्री बन्ने बेला पनि ओलीलाई नेपालले सहयोग गरेका थिए। नेपालकै प्रस्तावमा ओली प्रधानमन्त्री भएका हुन्। यद्यपि २०७१ सालमा एमालेको नवौँ महाधिवेशनमा माधव नेपाल ओलीसँग पराजित भए। करिब ४३ मतले मात्रै पराजित भएका नेपाललाई ओलीले भित्तामै पुग्ने गरी पेलेपछि अहिले एमालेभित्र अलग अलग भेला सम्मेलन र कार्यक्रम गर्ने सम्मको अवस्था आइपुगेको छ।

त्यति मात्र होइन ओलीले नेपाललाई पार्टीबाटै हटाउने गरी कारबाहीको डन्डा चलाउने तयारी गरिरहेका छन्। एमाले निर्माणमा सबैभन्दा बढी योगदान गरेका नेपाल आफै बाहिरिनु पर्‍यो भने जसले घर बनायो उही घरबाट निकालिएको जस्तै नहोला भन्न सकिन्न।

  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

‘ताउ–ते’ का कारण मौसम प्रतिकुल हुन सक्ने भन्दै पर्वतारोहीलाई सजग रहन अपील

देशभरको मौसम कस्तो रहन्छ, ताउ–ते चक्रवातको प्रभाव कहाँ कस्तो?काठमाडौँ – पूर्वीमध्य अरब सागरमा बनेर हाल भारतको गुजरातसहितका क्षेत्रमा पुगेको...

छुटाउनुभयो कि?

  •  
  •  
  •