दिल्ली- भारतमा गएको २४ घण्टामा एक लाखभन्दा बढी कोरोना संक्रमित थपिएका छन् ।
भारतमा पहिलोपटक एकैदिन एक लाखको संख्यामा कोरोना संक्रमित थपिएको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो ।
मन्त्रालयको जानकारी अनुसार गएको २४ घण्टामा भारतमा १ लाख ३ हजार ५५८ कोरोना संक्रमित थपिएका हुन् ।
सोही अवधिमा कोरोनाका कारण ४७८ जनाको मृत्यु भएको छ ।
यसैबीच कोरोना भाइरसको संक्रमण निकै तीव्र गतिमा फैलिन थालेपछि भारतको महाराष्ट्र राज्यमा कडा प्रतिबन्धको घोषणा गरिएको छ ।
सरकारले रातको समयमा कर्फ्युका साथै साप्ताहिक विदाका समयमा अर्थात् शनिबार र आइतबार लकडाउन समेत हुनेगरी सोमबारदेखि यस्तो प्रतिबन्धको व्यवस्था लागु गरेको हो ।
यहाँको सरकारले दिएको जानकारीअनुसार यस राज्यमा रातिको समयमा कर्फ्यु लगाइने छ भने हप्ताका अन्तिम दिन तथा विदाका दिनहरु शनिबार र आइतबार पूर्ण रूपमा लकडाउन लागु हुने बताइएको छ ।