संघर्ष, लगनशीलता र मिहिनेतको प्रतिफल : उर्लावारीका युवा रोशन तिम्सिनाको सफलता कथा

लोकप्रिय

काठमाडौं- काठमाडौंको डिल्लीबजारस्थित ग्लोबल कम्प्युटर ट्रेड र ग्लोबल कम्प्युटर सेन्टर नाम गरेका दुई वटा कम्पनी छन् । यी कम्पनीले उपत्यकाका संघसंस्थादेखि सरकारका विभिन्न निकायहरुलाई कम्प्युटर,प्रिन्टर तथा अन्य एसोसेरिसको सप्लाइ गर्दै आएको छ ।

विगत १७ वर्षदेखी ग्लोबल कम्प्युटर सेन्टरले नेपालमा कम्प्युटर र यससँग सम्बन्धित सम्पूर्ण हार्डवेयरको कारोबार गर्दै आएको छ । वार्षिक करोडौंको कारोबार गर्ने यो कम्पनीमा प्रत्यक्ष/अप्रत्यक्ष गरेर करिब सयजनाले रोजगारी पाएका छन् । यी कम्पनीले उपलब्ध गराउने कम्प्युटर तथा हार्डवेयरहरु देशका विभिन्न कुनाकाप्चामा प्रयोग भइरहेका छन् ।

मोरङ उर्लावारीका रोशन तिम्सिना यी कम्पनीका सञ्चालक हुन् । २०५७ सालमा काठमाडौं उपत्यका प्रवेश गरेका उनके अथक मिहिनेत,लगाब अनि परिश्रमका कारण उनले कम्पनीलाई यो मुकामसम्म ल्याएका हुन् ।

पढाइसँगै जागिर खाँदै काम गर्न भनेर २०५७ सालमा काठमाडौंमा छिरेका तिम्सिना अहिले रियल स्टेट,सेयर बजारलगायत विभिन्न क्षेत्रमा सफलतामा हासिल गरिरहेका छन् । योग्यताका लागि पढाइ र समृद्धका लागि बिजनेस गर्नुपर्ने उनको बुझाइ छ ।

साविकको उर्लाबारी गाविस-७(हाल उर्लावारी नगरपालिका-२) देविझोडाका रोशन तिम्सिनाले काठामाडौं बसाइको करिब २ दशकमा व्यापार व्यवसायमा सफलता हासिल गरेका छन् । तर कसरी ? उनी भन्छन्,’निरन्तरता, लगानशीलता,इमान्दारिता र संघर्ष ।’

रोशनको घर उर्लावारीको मंगलबारेस्थित देविझोडा । उनका बुवाका ६ सन्तान । उनी घरका कान्छा छोरा । कान्छा छोरा सबैको प्यारो हुनुपर्ने हो तर अभावमा बित्यो । पारिवारिक अवस्था सामान्य नै थियो । बुवाको सरकारी जागिर भएपनि ६ जना सन्तान पाल्न मुस्किल हुन्थ्यो । खेती त थियो तर अपुग ।

मंगलबारेको सुनपकुवा माविबाट,दमक बहुमखी क्याम्पसमा आइकम र महेन्द्र मोरङमा बीकम हुँदै उनी उच्च शिक्षाका लागि काठमाडौं पुगेका हुन् ।

व्यापार व्यवसायमा आउनु अघि उनलाई प्रहरी सेवामा लाग्ने सपना थियो । माओवादी द्वन्द्वका कारण देशमा प्रहरी सेवामा आकर्षण थिएन। असईमा लिखित नाम निकालेपनि उनले परिवारिक दबाब र देशको परिस्थितीका प्रहरीको जागिर खाएनन् ।

साथीभाइसँगको सहकार्यमा सुनौलो भविष्य खोज्नका लागि भनेर काठमाडौं गएका रोशनको नाम हरेक जसो हुने सामाजिक कार्यहरुमा आउने गर्छ ।

काठमाडौं बसाइको सुरुवाती दिन उनको सुःखद रहेन । दुःखै दुःखमा बित्यो । कोचिएर एउटा कोठा धेरै साथीहरुसँग बस्नुपर्ने बाध्यता,जागिर नपाएर भौंतारिनुपर्ने अवस्था अनि जागिर पाएपनि तलब नपाइने समस्या ।

धेरै ठाउँहरुमा काम गर्दा उनलाई तलब दिइएन । तलब र जागिर नपाएपछि एक हिसाबले उनमा निराशा छाएपनि हरेश भने खाएनन् । जागिर खोजिरहे ।

५९/६० सालतिर उनी न्युरोडस्थित म्ट्रेस व्यवसाय गर्ने एउटा इम्पोर्ट एक्सपोर्ट कम्पनीमा काम गर्न थाले । उक्त कम्पनीमा काम गर्दा उनको तलब २५ सय रुपैयाँ थियो । साथीभाइहरुलाई तलब सुनाउन लाज लागेर उनले अलिक बढाइचढाइ रकम भनिदिएका थिए । त्यही भएर उनलाई फोन आइरहन्थ्यो । काम गर्ने कम्पनीमा उनको साथीहरुको धेरै फोन आउन थालेपछि सञ्चालक झर्किएका थिए ।

दिनमा ४/५ कल फोन कम्पनीको ल्यान्ड लाइनमा आउन थालेपछि सञ्चालक उनीप्रति रिसाउँदै ‘धेरै फोन आउनेले छुट्टै आफ्नो कम्पनी खोल्नु नि’ भनेर झर्किएको रोशनले सुनाए । उनी भन्छन्,’कम्पनी सञ्चालकको उक्त वाक्य मेरो जीवनका लागि टर्निङ प्वाइन्ट बन्यो । ममा लुकेर बसेको व्यापार व्यवसाय गर्ने सोचलाई मलजल गर्यो । त्यसबेला मलाई चित्त पनि दुखेको थियो तर मैले अठोट गरेर मैले किन मेरो छुट्टै व्यापार नगर्ने भन्ने सोच पलायो । ‘

स्नातक पढ्दै गर्दा उनलाई व्यापारको भूत सवार भयो । बीचमा पढाइ ग्याप भएपनि उनले कम्प्युटुर,आईटीलगायत इलेक्ट्रोनिकल सामानहरुबारे जानकारी र सिक्ने काम गरिसकेका थिए । विभिन्न तालिमहरु पनि लिएका थिए । नेपालमा पनि भर्खरै इलोक्ट्रोनिक बजारले आकार लिँदै थियो ।

त्यो समयमा मोबाइल बोक्नु ठुलो कुरा हुन्थ्यो । कसैले कानमा मोबाइल राखेर कुरा गर्दै हिँड्दा धेरैले फर्किफर्की हेर्थे । कम्प्युटर नेटवर्क बिजनेसमा लाग्दा मोबाइल फोनको आवश्यक देखेपछि उनले सेकेन्ड ह्यान्ड एउटा ब्ल्याक एन्ड वाइट मोबाइल किने । १४ हजार ५ सय ५० रुपैयाँमा पैसा नेपाल टेलिकममा डिपोजिट गरेर सिम कार्ड किने । उनको पुँजी पनि त्यही थियो । त्यसपछि उनले कम्प्युटर नेटवर्कीङको व्यापार गरे ।

मोबाइल फोन बोक्ने मान्छे भनेर उनलाई धेरे व्यपारीहरुले बाँकी पत्याए । सामान दिन्थे । अनि रोशन त्यही सामान अरुलाई बेचेर बाँकी तिर्थे अनि नाफा कमाउथे । रोशन सम्झन्छन्,’ किन हो किन मोबाइल बोक्दा त्यसबेला मानिसहरुले हेर्ने नजर नै फरक थियो । मभन्दा धेरै ठूलो कारोबार गर्नेहरुसँग मोबाइल थिएन । उनीहरुले विश्वास गर्न थाले । मलाई बाँकीमा सामानहरु दिन थाले ।’

उनी भन्छन्,’ मसँग त्यो बेला एकपैसा पनि थिएन । बजारबाट सामान उठाए अफिसमा दिन्थेँ ।’ कम्प्युटर र आईटी सम्बन्धीका कोर्सहरु गरेकाले उनलाई बजारमा सामान चिन्न र गुणस्तरबारे थाहा पाउँदा उनले धेरै कठिनाई झेल्नुपरेन ।

व्यापार थालेको पहिलो महिनामा उनले १८ हजार कमाए । यो पैसा भनेको उनले अघिल्लो जागिरमा काम गर्दा कमाउने ७ महिनाको तलब थियो । रोशन हौसिए । खट्न थाले अनि व्यापार बढ्दै गयो ।

‘यो व्यवसाय मैले रहरभन्दा पनि आवश्यकता र जीविकोपार्जनका लागि सुरु गरेको थिएँ तर सफलता हासिल गरेर यो आवस्थामा आउँछु भन्ने थिएन,’ उनले भने । कारोबार बढ्दै गएपछि उनले कम्‍पनीको आवश्यकता देखे । अनि उनले ग्लोबल कम्प्युटर सेन्टरको स्थापना गरे । संघर्षका दिन डिल्लीबजारमा सुरु भएकाले अफिसमा पनि त्यही खोले ।

देशमा गणतन्त्र आएसँगै उनले आफ्नी प्रेमिका सोभा सापकोटासँग लगनगाँठो कसे । श्रीमतीलाई पनि यो व्यवासयमा लाग्न प्रेरित गरे । ग्लोबल कम्प्युटर ट्रेड श्रीमतीको नामबाट सञ्चालन गरेर उनले व्यापार विस्तार गरिरहेका छन् । योबीचमा उनले रियल इस्टेड,कम्प्युटर ट्रेड,घडेरी,सेयर मार्केटको क्षेत्रमा पनि लगानी गरे । यी क्षेत्रबाट उनका लागि थप आम्दानीको स्रोत बन्यो ।

विगत र वर्तमान हेर्दा उनी कुनै पनि कामलाई निरन्तरता दिनुपर्ने बताउँछन् । काठमाडौंको पेप्पसीकोलामा बस्दै आएका रोशन कुनै पनि काममा इमानदारिता,लगनशीलताका साथ मिहिनेत गर्ने हो भने सफलता हासिल गर्ने बताउँछन् । ‘म चाही अपवादमा पर्छु होला जसको सुरु व्यापारबाटै नाफा कमाउन थाल्यो । प्रायः व्यापारमा सुरुमै राम्रो नहुन सक्छ तर कालान्तरमा त्यसले प्रतिफल दिन्छु । हरेश खानु हुँदैन । ‘

युवाहरु विदेशिनुभन्दा स्वदेशमा केही काम गर्न उनी सुझाव दिन्छन् । स्वदेशमा काम गरेर विदेशमा चाही डुल्न जाने र विदेशीहरुलाई नेपालमा ल्याएर जागिर खुवाउनुपर्ने सपना देख‍्न उनी सुझाउँछन् । ‘नेपालमै आत्मसम्मानका साथ काम गर्न सकिन्छ भने विदेश किन जाने ?,’ रोशन प्रति प्रश्न गर्छन् । काममा इमान्दारिता देखाउन सक्नुपर्ने उनको सुझाव छ ।

व्यापार व्यवसायलाई उनी विस्तार गर्ने क्रममा छन् । हाल उनी क्यानेडामा आफ्नो व्यापार फैलाउने सोचमा छन् । उनी त्यहाँबाट पनि आफ्नो व्यापारालई विस्तार गरेर नयाँ उचाइ दिने ध्यानमा छन् । उनी भन्छन्,’सधै विदेशबाट आयात गरेर सामान ल्याउनुभन्दा किन विदेशमै व्यापार विस्तार नगर्ने ? ‘ रोशनको कम्पनीले नेपाल,भारत र चीनबाहेक बई,कतार,इजरायल,कोरिया,अमेरिका, सिंगापुरलगायतका मुलुकहरुबाट पनि सामान आयात गर्छ । उनी व्यापारका दौरान एसियाका अधिकास मुलुक,युरोपका दर्जनबढी मुलुक,अमेरिका,क्यानाडालगायतका मुलुकहरुको भ्रमण गरिसकेका छन् ।

रोशनको सक्रियता व्यापार व्यवसायमा मात्रै नभएर सामाजिक क्षेत्रमा पनि छ । किवानिज र लायन्स क्लबमा उनी आबद्ध छन् । लायन्स क्लबको सयौं वर्षिकोत्सव सम्मेलनमा उनी स‌ंस्थाको प्रतिनिधि भएर अमेरिकासम्म पुगेका छन् । लायन्स क्लब अफ काठमाडौं कालिकाका पूर्व कोषाध्यक्ष उनी किवानिज क्लबको इमिडेट पास्ट प्रेसिडेन्ट हुन् ।

सामाजिक क्षेत्रमा उनको सक्रियतामा काठमाडौंमा मात्रै नभएर जन्मथलो उर्लावारीमा उस्तै छ । उर्लावारीका कोही मानिहसरु बिरामी हुँदा होस् या अन्य कुनै शुभ सामाजिक कार्य गर्दा नै किन नहोस् उनी सहयोग गर्ने पहिलो पंक्तिमा हुन्छन् । लकडाउनमा पनि उनले उर्लावारीमा खाद्यान्न वितरण अभियानका क्रममा सहयोग गरेका छन् । गाउँमा बिरामी पर्दा र आवश्यक परेको खण्डमा उनी सधै आर्थिक र नैतिक रुपमा सहयोग गर्न अगाडि हुन्छन् ।

जीवनमा सफलता पाउनका लागि काममा इमान्दर र मिहिनेत चहिने उनी बताउँछन् । व्यापारमा सफलता हासिल गर्न ग्राहकसँग गर्ने व्यवहार राम्रो हुनुपर्ने,सबैलाई एउटै व्यवहार गर्नुपर्ने, व्यापारमा हुने लेनदेन कारोबार समयमा तिरे सबैले विश्वास गर्ने र विजेनेसमा हरेश खाएरभन्दा पनि निरन्तरता दिनुपर्ने उनको सुझाव छ । यसले एकदिन पक्कै सफलता हासिल हुने उनले विश्वास व्यक्त गरे ।

उनले युवा पस्ताहरुलाई लगानी गर्न र आयमुलुक क्षेत्रमा लगानी गर्न आग्रह गर्दै कुनै पनि काम गर्दा सुरुमा सफलता हासिल भएन भनेर नछाड्न पनि आग्रह गरे । लागेकोलाग्यै गर्दा एकदिन सफलता अवश्य हासिल हुने रोशनको अनुभव छ । यसका लागि सधै इमान्दारिता र लगनशील भएर काम गर्न उनले सुझाव दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

महालक्ष्मीमा नगर प्रहरी, मेयरले लगाइदिए दर्ज्यानी चिन्ह (फोटो फिचरसहित)

ललितपुर, महालक्ष्मी नगरपालिका ललितपुरका नगर प्रमुख रामेश्वर श्रेष्ठको अध्यक्षतामा नव नियुक्त नगर प्रहरीका लागि सञ्चालित ३० दिने आधारभूत तालिमको...

छुटाउनुभयो कि?