कान्छा वडाध्यक्षका उम्मेदवारको सपना– चाङ्गाथलीलाई उपत्यकाकै नमूना वडा बनाउने (पूर्णपाठसहित)

लोकप्रिय

काठमाडौं– ललितपुरको महालक्ष्मी वडा नम्बर ७ को वडाध्यक्षमा नेकपा एमालेका उम्मेदवार २७ वर्षीय सुजित बस्नेतले चाङ्गाथलीलाई उपत्यकाकै नमूना वडा बनाउने बताउनुभएको छ ।

भौतिक निर्माण, शिक्षा, स्वास्थ्य, खानेपानी र सर्वसुलभ सेवामा वडाकै नमूना बनाउने बस्नेतको दाबी छ । ‘वडा कस्तो हुनुपर्छ म अबको ५ वर्षमा देखाउँछु,’ उहाँले भन्नुभयो, ‘नगरको मात्र होइन उपत्यकाकै नमूना वडा बनाएर देखाउँछु ।’

बस्नेतले नेकपा एमालेको तर्फबाट आगामी वैशाख ३० गते हुने निर्वाचनमा उम्मेदवारी दर्ता गर्नुभएको छ । बस्नेत सम्भवतः नगरपालिकामा प्रमुख दलका वडाध्यक्ष उम्मेदवारमध्ये सबैभन्दा कम उमेरका हुनुहुन्छ ।

बस्नेत एमाले निकट राष्ट्रिय युवा संघ नेपालका ललितपुर जिल्ला कोषाध्यक्ष तथा महालक्ष्मी नगर कमिटीका अध्यक्ष हुनुहुन्छ । चाङ्थाथली टोल विकासलगायतका विभिन्न संघ संस्थामा रहेर उहाँले सामाजिक अभियान पनि सञ्चालन गर्दै आउनुभएको छ ।

युवा अवस्थामा नै नगरमा राजनीतिक छवि बनाउनुभएका बस्नेतले राजनीतिलाई पेसा होइन, समाजसेवाको अभिन्न अंग बनाउने बताउनुभएको छ ।

बस्नेतले आफ्नो अलग्गै घोषणापत्र तयार गर्दै वडाको विकास खाका कोर्नुभएको छ ।

स्थानीय तह निर्वाचन २०७९
महालक्ष्मी नगरपालिका वडा नम्बर ७ मा नेकपा (एमाले)का उम्मेदवार
सुजित बस्नेतको घोषणापत्र

आदरणीय महालक्ष्मी नगरबासी आमाबुवा, दिदीबहिनी तथा दाजुभाइहरु
यही २०७९ वैशाख ३० गते सम्पन्न हुन गइरहेको स्थानीय तह निर्वाचनको अवसरमा हाम्रो पार्टी नेकपा (एमाले) महालक्ष्मी नगरपालिका वडा नम्बर ७ निवासी आमाबुवा, दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक अभिवादन व्यक्त गर्दछौं । लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न भएका विभिन्न आन्दोलनमा सहादत प्राप्त सहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं । उपत्यकाकाकै धार्मिक, साँस्कृतिक र पर्यटकीय नगरी महालक्ष्मी नगरपालिकालाई सुन्दर साँस्कृतिक र समृद्ध नगर बनाउनका लागि योजनाबद्ध विकास मोडल अंगीकार गर्दै हाम्रा प्रतिबद्धताहरु प्रस्तुत गरेका छौं ।

स्वघोषणा
– नेकपा (एमाले)का कुनै पनि जनप्रतिनिधि भ्रष्टाचार, अनैतिक आर्थिक चलखेल, गैरकानूनी क्रियाकलाप र विभेदविरुद्ध उभिनेछौं ।
– सरकारी आर्थिक दोहन, जनताको करको जथाभावी खर्च, पहुँचका आधारमा आर्थिक सहायता अस्वीकार गर्दछौं ।
– आपराधिक र अनैतिक गतिविधिमा सहभागी हुँदैनौं ।
– जनप्रतिनिधिहरु कानूनले बर्जित गरेका क्रियाकलाप र ठेक्कापट्टामा सामेल हुँदैनौं ।
– चुनाव प्रतिस्पर्धाका लागि हो । तर, निर्वाचित भएपछि कोही कसैलाई पनि नगरपालिकाबाट प्रदान गरिने सेवासुविधामा विभेद गदैनौं ।
– राजनीतिक सेवा हो, जागिर होइन भन्ने कुरामा प्रष्ट छौं । नगरपालिकाका हरहिसाब नगरबासीले खोजेका बेलामा जुनसुकै बेला उपलब्ध गराउन वा सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं ।
– निर्वाचित भएपछि हामीलाई यही घोषणापत्र देखाएर प्रश्न गर्नुहोस्– तपाईंले भनेको यो प्रतिबद्धता पूरा भएन नि ? त्यसको जवाफ दिन्छौं ।

‘स्मार्ट चाङ्गाथली’
उपत्यकाकै नमूना वडा बनाउने हाम्रा सङ्कल्प
शिक्षा
पूर्वाधारमा लगानी गरेको देखिन्छ, शिक्षामा देखिँदैन । तर, भविष्यका लागि शिक्षाको लगानी पूर्वाधारको भन्दा पनि कैयौं गुणा महत्वपूर्ण हुन्छ । सम्झौं त– बाटोघाटो एक वर्ष ढिला बन्दा केही हुँदैन तर एउटा कलिलो बच्चाले एक वर्ष पढ्नबाट बञ्चित हुने अवस्था आयो भने त्यसको क्षति कति हुन्छ । तसर्थ हामीले शिक्षालाई जोड दिएका छौं ।

– महालक्ष्मी नगरपालिका वडा नम्बर ७ लाई आकर्षक शैक्षिक हबका रुपमा विकास गरिने छ । ठूला र सुविधा सम्पन्न सरकारी र निजी विद्यालयको अवधारणालाई कार्यान्वयनमा ल्याइनेछ ।
– सरकारी विद्यालयमा निःशुल्क पाठ्यपुस्तकको व्यवस्था मिलाइनेछ ।
– विद्यालयहरुमा ईलाइब्रेरी, कम्प्युटर शिक्षा, अङ्ग्रेजी माध्यमबाट अध्ययनको व्यवस्था मिलाइनेछ ।
– कोभिड–१९ का कारण अभिभावक गुमाएका वडा क्षेत्रभित्रका स्थायीवासी अठार बर्षमुनिका बालबालिकाहरुको अध्ययनका लागि प्रति विद्यार्थी वार्षिक रु २५,००० दुई किस्तामा शैक्षिक सहायता उपलब्ध गराइनेछ ।
– १ देखि ९ सम्म गरिव, जेहेन्दार छात्राहरुलाई निःशुल्क शिक्षाका लागि कार्यविधि निर्माण गरि कार्यान्वयन गरिनेछ ।
– सामुदायिक विद्यालयहरुमा सीटीईभीटीबाट सम्बन्धन लिई प्राविधिक शिक्षा अध्ययन सुरु गरिनेछ ।
– कक्षा– ९ र १० का विद्यार्थीलाई ‘करिअर गाइड’को कक्षा सुरु गरिनेछ । जसले ११ कक्षादेखि आफूले चाहेको क्षेत्रमा अध्ययन गर्न विद्यार्थीले स्वनिर्णय गर्न सक्नेछन् ।
– वडाको एकमात्र सामुदायिक विद्यालय नारायणी आधारभूत विद्यालयलाई स्तरोन्नती गरिनेछ । उक्त विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठनको व्यवस्था गरिनेछ ।
– छात्राहरुलाई निःशुल्क स्यानिटरी प्याड प्रदान गरिनेछ ।

स्वास्थ्य
– आधारभूत स्वास्थ्य सेवा केन्द्र चाङ्गाथलीलाई चौबीसै घण्टा सञ्चालन हुने गरी १० शैय्याको अस्पतालमा स्तरोन्नती गरिनेछ ।
– राष्ट्रिय बिमा बोर्ड लगायत सरकारी तथा गैर सरकारी संस्थासँग समन्वय गरी स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गरिनेछ ।
– ६५ वर्ष नाघेका जेष्ठ नागरिकहरुका लागि प्रत्येक महिना घरदैलोमै गई रक्तचाप, मधुमेह, अक्सिजनको मात्रा जस्ता सामान्य स्वास्थ्य परीक्षण गरी आवश्यक औषधि वितरण सुरु गरिनेछ ।
– सबै वडाबासीको पहुँच पुग्ने गरी निःशुल्क एम्बुलेन्सको व्यवस्था गरिनेछ ।

खानेपानी तथा सरसफाइ
– वडा नम्बर ७ मा खानेपानीको सबै प्रबन्ध गरिनेछ । वडा नम्बर ७ लाई ‘जारमुक्त वडा’ घोषणा गरिनेछ ।
– खानेपानीको न्यूनतम महसुल निःशुल्क गर्ने व्यवस्था गरिनेछ ।
– वडा नम्बर ७ लाई मेलम्ची खानेपानी आयोजनाको क्षेत्रमा विस्तार गरिनेछ ।
– सार्वजनिक स्थानमा कुहिने र नकुहिने फोहोर व्यवस्थापन गर्न डस्टविनको प्रबन्ध गरिनेछ ।
– ‘एक घर एक विरुवा’लाई प्रवद्र्धन गरिनेछ । विरुवा वडाले निःशुल्क प्रदान गर्नेछ ।

सुशासन र सेवा प्रवाह
– वडाबाट हुने सेवा प्रवाहलाई उपत्यकाकै नमूना बनाइनेछ । वडाबाट नागरिकलाई प्रदान गरिने सेवा होम डेलिभरी गरिनेछ ।
– वडाबाट हुने काममा कसैले घूस वा आर्थिक लेनदेनको प्रस्ताव राखेको प्रमाण दिनेलाई पुस्कार प्रदान गर्ने र दोषिलाई कारबाहीको दायरामा ल्याइनेछ ।

कृषि
– तरकारीमा आत्मनिर्भर बन्न वडाले विशेष योजना ल्याउनेछ । खाली जग्गामा तरकारी तथा पशुपालन गर्न प्रोत्साहित गर्नेछ ।
– कोशी खेती कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गरिनेछ । वडामा उत्पादित तरकारीलाई सुपथ मूल्यमा बिक्री गर्न स्मार्ट तरकारी बजारको व्यवस्था गरिनेछ ।

प्रबुद्ध चाङ्गाथली क्लव
– यस वडामा विभिन्न पेसा, व्यवसायका बौद्धिक व्यक्तित्वहरुको बसोबास छ । उहाँहरुको बौद्धिकतालाई वडाको विकासमा सदुपयोग गर्न प्रबुद्ध चाङ्गाथली क्लवको विकास गरिनेछ ।
– चाङ्गाथली क्लवलाई भौतिक सुविधासम्पन्न बनाइनेछ ।

यातायात
– चाङ्गाथली बसपार्कलाई व्यस्थित बनाइनेछ । चाङ्गाथलीबाट हाल ग्वार्को हुँदै लगनखेलमात्रै जाने बसको रुट विस्तार गरिनेछ । अब उप्रान्त बालकोट कौशलटार रुट तथा चाङ्गाथलीदेखि रत्नपार्कसम्मको रुट थप गरिनेछ ।
– विभिन्न विद्यालय जाने विद्यार्थीहरुलाई चढाउन र उत्रन सहज होस् भन्ने उद्देश्यले बस रोकिने स्थानलाई व्यस्थित बनाइनेछ ।
सुरक्षा
– चाङ्गाथलीका सार्वजनिक क्षेत्रमा सडक बत्तीको व्यवस्था गरिनेछ ।
– चाङ्गाथली क्षेत्रमा सीसीटीभी जडान गरिनेछ ।

अपाङ्गता तथा युवा र रोजगार
– युवाहरुलाई सिपमुलक तालिम प्रदान गरिनेछ । कुनै पनि बेरोजगार व्यक्तिले चाहेको सिप सिकाउनका लागि सीटीईभीटीसँग समन्वय गरि निवेदन दिएको दुई साताभित्र नै प्रशिक्षणको व्यवस्था गरिनेछ ।
– ‘म पनि काम गर्छु’ अभियान सञ्चालन गरि गृहिणीहरुलाई पनि दिउँसोको समयमा वडामै काम गर्ने व्यवस्था मिलाउन स्थानीय उद्योग व्यवसाय स्थापना गर्न लगानीकर्ता र उद्यमीलाई प्रेरित गरिनेछ ।
– अपाङ्गता भएका व्यक्तिहरुलाई स्थानीय क्षेत्रमै रोजगारको व्यवस्था गर्ने र वडाबाट दिने सेवा घरमै पु¥याउने व्यवस्था गरिनेछ ।
– लागू औषध दुव्र्यसनविरुद्ध कडा नीति लिइनेछ । दुव्र्यसनबाट मुक्त गर्न युवालक्षित कार्यक्रम ल्याइनेछ ।

भौतिक पूर्वाधार
– नगरपालिका तथा अन्तर नगरपालिका जोड्ने बाटोलाई यथाशीघ्र कालोपत्रे गरिनेछ ।
– ‘मेरो टोल म आफैं बनाउँछु’ कार्यक्रम अन्तर्गत वडाभित्र रहेका तथा टोलका बाटोहरुमा ढुंगा छाप्ने, ढलान गर्ने तथा कालोपत्रे गर्ने कार्यलाई तीब्रता दिइनेछ ।

मेरो वडा हामी सबैको
एउटा परिवारका सबै उमेर समूहका सदस्यहरुलाई लक्षित गरि विशेष कार्यक्रम सुरु गरिनेछ । जस्तैः
– बालबालिकाका लागिः कामकाजी बाबुआमालाई सहज बनाउन डे केयरको व्यवस्था गर्ने ।
– किशोरकिशोरीका लागिः खेलकुद तथा व्यक्तित्व विकासको कार्यक्रम सञ्चालन गर्ने ।
– युवाहरुका लागिः जिमखाना र साप्ताहिक मनोसामाजिक विमर्शको कार्यक्रम सञ्चालन गर्ने ।
– बृद्धबृद्धाका लागिः योगा केन्द्रको स्थापना गर्ने । वडाका तीन स्थानलाई केन्द्र मानेर ‘बा आमा घर’ निर्माण गर्ने । जहाँ बृद्धबृद्धाले आफ्नो मन भुलाउन पाउनुहुनेछ ।

धर्म संस्कृति र पर्यटन
– सबै धर्म र संस्कृतिलाई प्रवद्र्धन गरिनेछ ।
– सबै खलः र गुठीहरुलाई पालिकाबाट निश्चित रकम वार्षिक रुपमा प्रदान गरिनेछ ।
– गोदावारी खोला करिडोर निर्माण गर्दै पार्क तथा धार्मिक स्थानको रुपमा प्रवद्र्धन गरिनेछ ।

….र यो पनि
– वडाका सार्वजनिक स्थानहरुलाई फ्रि वाईफाइ जोन बनाइनेछ ।
– वडाको खर्च विवरण मासिकरुपमा सार्वजनिक गरिनेछ ।
– नगरपालिका वा वडाबा प्रकाशन हुने पत्रपत्रिका तथा सञ्चार संस्थालाई लोककल्याणकारी विज्ञापन उपलब्ध गराइनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

दुई वटा गठबन्धनलाई हराउँदै हरिगोविन्द महालक्ष्मीको मेयर निर्वाचित

ललितपुर- ललितपुरको महालक्ष्मी नगरपालिकामा नेकपा एमालेका हरिगोविन्द श्रेष्ठ मेयर निर्वाचित हुनुभएको छ । कांग्रेस, माओवादीको गठबन्धन र एमालेबाट चोइटिएको नेकपा...

छुटाउनुभयो कि?