धरानमा राजनीतिका खेलाडीसँग भिड्दै फुटबल खेलाडी

लोकप्रिय

सुनसरी — फुटबलको मैदानमा विपक्षी छक्याउँदै गोल हान्न माहिर स्ट्राइकर किशोर राई यसपटक स्थानीय तहको चुनावी मैदानमा उत्रेका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय उपाध्यक्ष गोल प्रोजेक्टका एन्फा संयोजक, प्रदेश १ का एन्फा अध्यक्षसमेत रहिसकेका नेपाली कांग्रेस धरान उपमहानगर समितिका पूर्वसभापति राई फुटबलको रणनीतिलाई चुनावमा प्रयोग गरेर नगर प्रमुखमा आसीन हुने प्रयासमा छन् ।

२०२४ चैत १७ मा मोरङको बोराबाधमा जन्मेका राईले धरानबाटै फुटबलको पनि करिअर सुरु गरेका थिए । स्थानीय तहको निर्वाचनमा सत्तारूढ पाँच दलीय गठबन्धनबाट धरान उपमहानगरपालिको प्रमुख पदमा किशोर राई उम्मेदवार छन् । उनले भने, ‘अब स्थानीय तहको विकास निर्माणका काम हिजो जस्तो गरेर हुँदैन ।’ धरानको खानेपानी समस्या समाधान गर्ने, करको दर घटाउने, प्रत्येक बर्ष पाँच हजार जनालाई रोजगारी दिने, धरानलाई व्यापारिक केन्द्र बनाउने र सुकुम्बासी समस्या हल गर्न प्रतिबद्ध भएको बताए ।

चुनावी मैदानमा धरान एमालेको स्ट्राइकरमा केन्द्रीय सदस्य र महिला शशक्तिकरण अभियानकी नेतृ ३८ वर्षीया मञ्जु भण्डारी पनि चुनावी मैदानमा छिन् । गठबन्धनका उम्मेदवार राईलाई एमालेकी उम्मेदवार चुनौती हुने प्रारम्भिक अनुमान छ । विद्यार्थी राजनीतिबाट उदाएकी भण्डारीसँग उपप्रमुखको अनुभव त छँदैछ, डेढ वर्ष कार्यवाहक प्रमुख भएर धरान उपमहानगरपालिका हाँकेको अनुभव छ । जिल्ला हुँदै केन्द्रीय सदस्य बनेकी भण्डारी विशुद्ध राजनीतिक खेलाडीको रूपमा उत्रेकी छिन् भने राई फुटबलदेखि राजनीतिमा परिपक्व खेलाडी हुने तरखरमा छन् । उनले भारतको पश्चिम बंगाल, सिलिगुरीका विभिन्न क्लबमार्फत व्यावसायिक खेल थालेका हुन् । त्यसो त राजनीतिमा पनि उनी २०५४ को स्थानीय निर्बाचनमा धरान–१२ को वडा अध्यक्ष, २०५५ मा कांग्रेस धरानको नगर सचिव भएका राई २०५८ सालमा नेपाली कांग्रेस प्रजातान्त्रिकका तर्फबाट धरान नगर सभापति भएका थिए ।

धरानलाई खेलकुदको केन्द्र बनाउन मिनी ब्राजिलको नारा दिएर युवाहरू माझ लोकप्रिय राई स्थानीय तहको चुनावमा भने धरानलाई मिनी हङकङ बनाउने नारा दिएर घरदैलोमा व्यस्त छन् । अनेरास्ववियुको प्रारम्भिक कमिटी सदस्य बनेपछि कम्युनिस्ट राजनीतिमा प्रवेश गरेकी भण्डारी २०७४ को स्थानीय निर्वाचनमा २१ हजार २ सय ५६ मत ल्याएर कांग्रेसकी श्यामा रेग्मीलाई ६ हजार ३ सय ३९ को मत अन्तरले हराउँदै विजयी भएकी थिइन् । भण्डारी भन्छिन्, ‘रुचिअनुसार कम्युनिस्ट राजनीतिको सिद्धान्त मन पराएर विद्यार्थी जीवनमा सक्रिय भएँ । उपप्रमुखको पाँचवर्षे जिम्मेवारीलाई इमानदारसाथ पूरा गरें । यो अवधिमा १ वर्ष पूरा नहुँदै नगरप्रमुख तारा सुब्बाको दुखद निधन भयो । नगरपालिका अभिभावकविहीन भएको अवस्थामा चुनौती थपियो । सिंगो नगरलाई अभिभावकविहीन भएको महसुस हुन नदिइ कार्यवाहक मेयरको रूपमा अभिभावकत्व प्रदान गरेँ ।’

महिला हिंसाविरुद्ध पैरवीकर्ता भण्डारी आफैं पनि सामाजिक तथा विकास अभियानकर्ता हुन् । मानवअधिकार रेडियो श्रोता क्लबको जिल्ला अभियन्तादेखि मानवअधिकार तथा द्वन्द्व रूपान्तरणका लागि अभियान, द्वन्द्व व्यवस्थापनका लागि सञ्चालित बारुदी सुरुङ प्रतिबन्ध अभियानको जिल्ला संयोजक, लैंगिकमैत्री योजना निर्माण र कार्यान्वयनको संयोजनकर्ता, रणनीतिक योजना तथा संस्थागत विकासका काममा उनले योगदान दिएकी छन् ।

यसैगरी महिला हिंसाविरुद्ध सुनसरी जिल्लास्तरमा निरन्तर क्रियाशीलता, महिला तथा बालिकाको न्यायमा पहुँच परियोजनाअन्तर्गत जिल्ला संयोजक, सुनसरी जिल्लामा महिलाहरूद्धारा सञ्चालित सहकारी संस्थाहरूको संस्थागत र व्यावसायिक योजना निर्माण साथै विकासको संयोजन, धराननगर पालिकाको सामाजिक परिचालन समितिको सदस्य तथा नगरको २ वर्षको सामाजिक विकास कार्यक्रमको मूल्यांकन समिति संयोजकको रूपमा काम गरेको अनुभव छ । उनले भनिन्, ‘धरान उपमहानगरको मेयर पदमा एमालेले एउटा महिलालाई उठाएकाले महिलामा उत्साह बढाएको छ । धरानको समग्र विकाससँगै महिलाको पक्षमा केही हुन्छ भन्ने आशा पलाएको छ । योसँगै ०७६ मा भत्केको एमालेको विरासत फर्काएर धरानको खानेपानीको प्राविधिक समस्या, निर्माणाधीन बसपार्क तोकिएको समयमा पुरा गर्न र सुकुम्बासी समस्या समाधान गर्ने सन्दर्भमा इमानदारसाथ प्रतिबद्ध छु ।’

त्यसैगरी धरान उपमहानगरको स्थानीयत तहको चुनावमा गठबन्धनबाट अलगिएका जनता समाजवादी पार्टीका प्रमुख उम्मेदवार ताजुव लिम्बूलाई धरानको विकास निर्माणमा मिसन भिजन भएका युवा बौद्धिक मान्नेको संख्या पनि उतिकै छ । २०५८ सालदेखि राजनीतिक जीवनमा प्रवेश गरेका जनता समाजवादी धरानका अध्यक्ष ताजुव लिम्बू धरानेका लागि नौलो नाम होइन । नेपाल कम्युनिस्ट पार्टी एमालेको विद्यार्थी संगठन अखिल नेपाल विद्यार्थी युनियनबाट प्रभावित बनेर राजनीतिक रुपमा प्रशिक्षित लिम्बु २०६२/६३ को जनआन्दोलनमा एमालेको तर्फबाट २०६४ सालदेखि राजनीतिमा पूर्ण सक्रिय रहे । २०६५/६६ सालदेखि एमालेको भ्रातृ संगठन युवा संघमा रहेर काम गरे । लिम्बू युवासंघमै रहेको समयमा २०६९ मा एमाले परित्याग गरेर तत्कालीन संघीय समाजवादी र अहिले जनता समाजवादीको राजनीतिमा प्रवेश गरेको बताउने लिम्बूले भने, ‘हिजोका ठूला राजनीतिक दलले धरानलाई शिक्षा, स्वास्थ्य, पर्यटनको हब बनाउने भनेर बोले । त्यो कुरा धराने जनताले विश्वास गरेर भोट दिए, जिताए । अबचाहिँ धराने जनताले प्रश्न गर्ने बेला आएको छ । हामीले धरानलाई शिक्षा, स्वास्थ्य र पर्यटनको हब बनाएर लानुपर्छ भनेर भनिरहेका छौं, यसको गुरुयोजना नै बनाएर जनता समाजवादी अगाडि बढ्छ ।’

प्रमुखको स्वतन्त्र उम्मेदवारको रूपमा चुनावी मैदानमा उत्रेका हर्कराज साम्पाङ आफुलाई धरानका चर्चित सामाजिक अभियन्ता भन्न रुचाउँछन् । उनले खानेपानी समस्या, भ्रष्टचारविरुद्ध, सुशासन र पारदर्शिताको मुद्दा उठाउँदै आएका छन् । चुनावमा साम्पाङको तिनै विषयलाई आफ्नो राजनितिक एजेन्डा बनाएका छन् । धरानको मेयरमा अर्का स्वतन्त्र उम्मेदवार रत्न कटवाल र राप्रपा (हलो) का नरेश शाक्य पनि धरानको विकास निर्माण गर्न योग्य उम्मेदवार आफू मात्र भएको दाबी गरेर कांग्रेस र एमालेलाई चुनौती दिइरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

सामुदायिक विद्यालयमै पुगेर समस्या बुझ्दै महालक्ष्मीका प्रमुख–उपप्रमुख

काठमाडौं– महालक्ष्मी नगरपालिकाका नगर प्रमुख हरिगोविन्द श्रेष्ठ र उपप्रमुख लक्ष्मी महर्जनले सामुदायिक विद्यालयमै पुगेर विद्यालयका समस्या र समाधानका उपाय...

छुटाउनुभयो कि?