ललितपुर– महालक्ष्मी नगरपालिका ललितपुरका मेयर हरिगोविन्द श्रेष्ठ चुनावी नतिजापछि पनि निरन्तर घरदैलोमा छन् ।
मतदातालाई धन्यवाद दिन सबैजसो वडाहरुमा पुगेर मेयर श्रेष्ठले प्रत्यक्ष भेटघाट गरिरहेका छन् ।
घरदैलोमा मतदाता तथा नगरबासीले दिएका सुझाव टिपोट गर्दै उनले आगामी बजेट तथा नीति कार्यक्रममा समेट्ने प्रतिबद्धता जनाएका छन् ।
शनिबार नगरपालिकाको पर्यटकीय लाकुरी भञ्ज्याङ पुगेर मेयर श्रेष्ठले मतदातालाई धन्यवाद दिए । उनले वडा नम्बर १० मा रहेको लाकुरी भञ्ज्याङको विकास, समृद्धि र रोजगारीका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने जानकारी दिए ।
नगरपालिका नयाँ बजेटको तयारीमा रहेको बताउँदै मेयर श्रेष्ठले प्रत्यक्ष नागरिकसँग जोडिने आयोजनालाई सिफारिस गर्न वडाका जनप्रतिनिधिलाई निर्देशन समेत दिए ।
सरकारी पैसालाई आफूअनुकूल खर्च गर्ने र व्यक्तिगत स्वार्थका आयोजना सिफारिसबाट जनप्रतिनिधि टाढै रहनुपर्नेमा जोड दिँदै मेयर श्रेष्ठले विकास आयोजना छान्दा आम नगरबासीको समस्या र भावना प्रतिनिधित्व गर्न सचेत समेत गराए ।





