काठमाडौँ महानगर मात्रै होइन उपत्यकाकै सार्वजनिक यातायात व्यवस्थित गर्ने हाम्रो एजेण्डा होः उपमेयर डंगोल

लोकप्रिय

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका उपमेयर सुनिता डंगोलसँग साझा यातायातका अध्यक्ष कनकमणि दीक्षित र बोर्ड सदस्य सुशील प्याकुरेलले आज भेट गरी काठमाडौँ उपत्यकाको सार्वजनिक यातायातलाई व्यवस्थित, सेवाग्राहीका लागि सहज र थप सर्वसुलभ बनाउने विषयमा छलफल गर्नुभएको छ ।

उपमेयर डंगोलसँग कार्यकक्षमै भेट गरी उहाँहरुले यस विषयमा छलफल गर्नुभएको हो । छलफलका क्रममा उपमेयर डंगोलले आफ्नो चुनावी घोषणापत्रमै महानगर भित्र रहेको यातायातलाई व्यवस्थित तथा आधुिनकीकरण गर्न नयाँ प्रविधियुक्त यातायात पद्धतिको विकास गर्ने विषयलाई समावेश गरेको भन्दै त्यस्ता सन्दर्भमा आफू सकारात्मक रहेको बताउनु भएको थियो । ‘काठमाडौँ महानगरको मात्रै होइन उपत्यकाकै यातायातलाई व्यवस्थित तथा आधुनिकीकरण गर्नुपर्छ भन्ने मेरो मान्यता हो,’ छलफलका सिलसिलामा आफूले राखेको धारणाबारे डंगोलले भन्नुभयो, ‘काठमाडौँ उपत्यकाको सार्वजनिक यातायातलाई व्यवस्थित, सेवाग्राहीका लागि सहज र थप सर्वसुलभ बनाउने एजेण्डा काठमाडौँ महानगरपालिकाको पनि हो ।

साझाको यी एजेण्डामा हामी सकारात्मक छौँ र सहकार्य गर्न तयार छौँ ।’ डंगोलले यस अघि पनि महानगरपालिकाले साझासँग सहकार्य गरेको स्मरण गराउँदै पहिला भएका सम्झौतालाई समेत आधार मानेर विज्ञहरुसँग छलफल गरी थप व्यवस्थित र भरपर्दो तरिकाले अघि बढ्नु पर्नेमा जोड दिनुभएको थियो । भेटमा दीक्षितले नेपालभरि र खासगरी राजधानी उपत्यकामा सहरी सार्वजनिक यातायात कमजोर अवस्थामा रहेको भन्दै यसको सुधारका लागि आफूहरु लागिरहेको बताउनु भएको थियो । ‘दीक्षितले भेटमा २०७६ साल असारमा तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा सरकारले तीन अर्ब लगानी गरी सार्वजनिक यात्रा, जनस्वास्थ्य र अर्थतन्त्रलाई एकैपटक ठूलो परिवर्तन गर्ने योजना अघि बढाएको स्मरण गराउनु भएको थियो । ‘विभिन्न कारणले योजना समयमा अघि बढ्न नसक्दा केही ढिला भयो,’ बोर्ड सदस्य प्याकुरेलले भेटपछि कुराकानी गर्दै भन्नुभयो, ‘अहिले साझाले पहिलो चरणमा करीब ७० करोडमा ४० विद्युतीय बस खरिद गरेकामा तीन ओटा बस आइसकेका छन् । बाँकी ३७ बस दशैँपछि आउँदैछन् ।’ उहाँले सरकारले तीन वर्ष पहिले दिएको रकमबाटै विद्युतीय बस खरिद भएको भन्दै प्याकुरेलले ब्याट्रीबाट चल्ने बस नयाँ प्रविधिको भएकाले तीन चरणमा भित्र्याउने योजना बनाइएको बताउनु भयो ।

पहिलो चरणमा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरी आठ दशमलव पाँच मिटर लामो बस खरिद गरिएको पनि उहाँले जानकारी दिनुभयो ।

प्याकुरेलले मर्यादित यात्रा गराउनु सबैको दायित्व भएको भन्दै उपत्यकाको सार्वजनिक यातायातलाई व्यवस्थित बनाउने बढी दायित्व काठमाडौँ महानगरपालिकाको भएकाले केही दिन अघि मात्रै मेयर बालेन साहसँग र आज उपमेयर डंगोलसँग भेट गरेको पनि उहाँले जानकारी दिनुभयो । ‘काठमाडौँ उपत्यकाको सार्वजनिक यातायातलाई सहज बनाउने उदेश्यले तीन बटा विद्युतीय बस आइसकेका छन् । अब ३७ वटा बस आउँदैछन् । तर, अहिलेसम्म चार्जिङ स्टेशन कहाँ राख्ने भन्ने टुंगो छैन,’ प्याकुरेलले भन्नुभयो, ‘सार्वजनिक यातायातलाई मर्यादित गराउन यात्रा गर्दा टिकट लिनुपर्छ, सुरक्षित विसौनीको व्यवस्था गर्नुपर्छ भन्ने जस्ता विषय महानगरपालिकासँग बढी सम्बन्धित छन् । कानुन बनाउने कुरामा पनि महानगरपालिकाको भूमिका उल्लेख्य हुने भएकाले हामीले उहाँहरुलाई तपाईँहरुले चासो राख्नुपर्छ है भनेर ध्यानाकर्षण गराउन पनि छलफल गरेका हौँ ।’

प्याकुरेलले उपमेयर डंगोलसँगको भेट सरकारात्मक रहेको जानकारी दिनुभयो । ‘उहाँले सार्वजनिक यातायात व्यवस्थापका लागि निकै चासो राख्नु भयो,’ उहाँले भन्नुभयो, ‘उपमेयरलाई राम्रो जानकारी रहेछ । केही राम्रो गरौँ भन्ने उहाँको चासोलाई हाम्रो अध्यक्षज्युले पनि सकारात्मक रुपमा लिनुभयो । हामीले उहाँहरुसँगको भेटमा सकेसम्म उपत्यकाको यातायातलाई व्यवस्थित बनाउने सन्दर्भमा एउटा युनिट नै खडा गरेर अघि बढ्दा राम्रो हुने सुझाव दिएका छौँ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

सामुदायिक विद्यालयमै पुगेर समस्या बुझ्दै महालक्ष्मीका प्रमुख–उपप्रमुख

काठमाडौं– महालक्ष्मी नगरपालिकाका नगर प्रमुख हरिगोविन्द श्रेष्ठ र उपप्रमुख लक्ष्मी महर्जनले सामुदायिक विद्यालयमै पुगेर विद्यालयका समस्या र समाधानका उपाय...

छुटाउनुभयो कि?