सामुदायिक विद्यालयमै पुगेर समस्या बुझ्दै महालक्ष्मीका प्रमुख–उपप्रमुख

लोकप्रिय

काठमाडौं– महालक्ष्मी नगरपालिकाका नगर प्रमुख हरिगोविन्द श्रेष्ठ र उपप्रमुख लक्ष्मी महर्जनले सामुदायिक विद्यालयमै पुगेर विद्यालयका समस्या र समाधानका उपाय खोजी गर्न सुरु गर्नुभएको छ ।

नगर शिक्षा समितिको आयोजनामा सम्बन्धित विद्यालयमा नै पुगेर प्रमुख श्रेष्ठ र उपप्रमुख महर्जनले विद्यालय व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी, अभिभावकका प्रतिनिधिसँग छलफल गरिरहनुभएको छ । प्रमुख शिक्षा अधिकृत चिरञ्जीवी पौडेलका अनुसार शुक्रबारसम्म नगरका ११ वटा विद्यालयमा पुगेर छलफल र अन्तर्क्रिया गरिएको छ । शुक्रबार वडा नम्बर ९ स्थित सिस्नेरी मावि पुग्नुभएका नगर प्रमुख श्रेष्ठ र उपप्रमुख महर्जनले विद्यालयको समस्याबारे छलफल गर्नुभयो ।

नगर प्रमुख श्रेष्ठले पहिलो चरणमा शिक्षा समिति र विद्यालय व्यवस्थापनबीचको छलफल सकिएपछि समस्या समाधानका लागि दोस्रो चरणमा शिक्षा समितिले विद्यालय व्यवस्थापन समिति र शिक्षकहरुसहितको छलफल गर्ने जानकारी दिनुभयो । ‘पहिलो चरणको छलफलमा उठेका विषयहरु, समस्याहरु समाधान गर्न दोस्रो चरणको छलफल फलदायी हुने अपेक्षा लिएको छु,’ उहाँले भन्नुभयो ।

नगर प्रमुख श्रेष्ठले विद्यार्थी, शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समितिको साझा पहलले मात्र समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो । अनुगमनका क्रममा कतिपय विद्यालयमा भवन अभाव रहेको तर विद्यार्थी संख्या उल्लेख्य रहेको, कतिपय विद्यालयमा भवन र भौतिक पूर्वाधार राम्रो भए पनि विद्यार्थी कम भएको उहाँले जानकारी दिनुभयो ।

नगर प्रमुख श्रेष्ठले नगरका सबै विद्यालयलाई एक अर्काबीच प्रतिस्पर्धी र गुणस्तरीय बनाउने कार्ययोजना ल्याउन सुझाव दिनुभयो ।

कार्यक्रममा उपप्रमुख महर्जनले सामुदायिक विद्यालयमा पढाइ राम्रो हुँदैन भन्ने भ्रम रहेकाले महालक्ष्मीका सबै सामुदायिक विद्यालयलाई गुणस्तरीय शिक्षामा अब्बल बनाउनुपर्ने बताउनुभयो । उहाँले सामुदायिक विद्यालयको शैक्षिक वातावरण सुधारका लागि नगरपालिकाले सबै सहयोग गर्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा सामाजिक विकास समितिका संयोजक एवं वडा नम्बर ७ का वडाध्यक्ष बाबुराजा महर्जन, वडा नम्बर ९ का वडाध्यक्ष जयकृष्ण बोगटीले बलियो आत्मबलसहित काम गर्न शिक्षकहरुलाई प्रोत्साहित गर्नुभयो ।

कार्यक्रममा प्रमुख शिक्षा अधिकृत चिरञ्जीवी पौडेलले पाँच वर्षे दीर्घकालीन लक्ष्यसहित नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक सुधारको काम गरिरहेको जानकारी दिनुभयो । उहाँले राम्रा अभ्यासलाई अवलम्बन गर्दै सिकाइ वातावरणलाई सुधार गर्नुपर्नेमा जोड दिनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन तण्डुकार, प्रधानाध्यापक चेतनाथ पन्त लगायत शिक्षक, विद्यार्थी तथा अभिभावकहरुले खेलकुद मैदान प्रयाप्त नरहेको, सूचना प्रविधिसहितको अध्यापनमा प्राविधिक समस्या रहेको, कम्प्युटर मर्मत गर्ने जनशक्ति र स्रोत अभाव रहेकोलगायतको गुनासो गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

देशमा भ्रष्टाचारको अन्त्य गर्ने सङ्कल्पसहित अगाडि बढ्न आवश्यक छ : डा.भट्टराई

काठमाडाैं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले नेपाललाई बदल्न देशमा भ्रष्टाचारको अन्त्य गर्ने सङ्कल्पसहित नेता अगाडि बढ्नुपर्ने...

छुटाउनुभयो कि?