महामारीमा अक्सिजन प्लान्ट खरिद गरेको भुक्तानीमा आनाकानी

लोकप्रिय

  • खरिदकर्ता एनआरएनए बेल्जियमका तत्कालिन अध्यक्ष चित्र सुवेदीले दिए गैरजिम्मेवार जवाफ

काठमाडौं– कोरोना महामारीको दोस्रो लहर सुरुभएपछि नेपालमा अक्सिजनको भयावह अवस्था सिर्जना भयो । अस्पतालमा अक्सिजन अभाव भएकाबेला एजलिड इन्टरनेसनलले जोखिम मोलेर अक्सिजन प्लान्ट आयात गर्‍यो ।

एजलिड इन्टरनेसनलले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालसहितका अस्पताललाई आपतका समयमा अक्सिजन प्लान्ट जडान गरिदिएको थियो । छिमेकी चीन र भारतमा पनि कोरोना महामारी फैलिएका कारण अक्सिजन अभाव भएका कारण कम्पनीले टर्कीबाट अक्सिजन प्लान्ट आयात गरेको थियो ।

जहाज चार्टर गरेर महामारीमा पोखरास्थित संक्रामक तथा सरुवारोग अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्ट खरिद वापतको रकम भने एजलिडले पाएको छैन । जडानपावतको २९ लाख २१ हजार रुपैयाँ नपाएको भन्दै एजलिड इन्टरनेसनले सरोकारवालाको ध्यानाकर्षण गराएको एक वर्षभन्दा बढी समय भए पनि भुक्तानी पाएको छैन ।

गैरआवासीय नेपाली संघ (एनआरएनए), बेल्जियमको नेतृत्वमा पुरी फाउण्डेसन समेतले संक्रामक तथा सरुवारोग अस्पताल पोखराका लागि खरिद गरेको अक्सिजन प्लान्टको रकम दिएका छैनन् । एजलिडका बजार निर्देशक सरोज साजन श्रेष्ठले पटक–पटक ताकेता गर्दा पनि रकम नदिई दुःख दिएको बताए । ‘कोरोना महामारीमा एकजना पनि घरबाहिर निस्कन डराइरहेकाबेला हामीले जोखिम मोलेर टर्कीबाट अक्सिजन प्लान्ट ल्याएका थियौं,’ उनको भनाइ छ, ‘यस्तो बेला उपलब्ध गराएको अक्सिजन प्लान्टको रकम पाएका छैनौं ।’

श्रेष्ठका अनुसार गैरआवासीय नेपाली संघ, बेल्जियम र पुरी फाउण्डेसनले अक्सिजन प्लान्ट र अक्सिजन कन्सन्ट्रेटर ८७ लाख ७८ हजार ३ सय ४२ रुपैयाँमा खरिद गरेका थिए । त्यसमध्ये ५८ लाख ५४ हजार ८ सय ७३ रुपैयाँ भुक्तानी भए पनि बाँकी २९ लाख २१ हजार ४ सय ६८ रुपैयाँ एक वर्षदेखि भुक्तानी भएको छैन ।

अक्सिजन प्लान्ट खरिद गर्दा गैरआवासीय नेपाली संघ, बेल्जियमको अध्यक्ष चित्र सुवेदी थिए । सुवेदीको नेतृत्वमा खरिद र जडान प्रक्रिया भएको थियो । तर, रकम भुक्तानीमा सुवेदी पन्छिएका छन् । कम्पनीका अनुसार सुवेदी आफ्नो जिम्मेवारीबाट पन्छिएकामात्रै छैनन्, अक्सिजन प्लान्ट उठाएर लैजानु भन्दै गैरजिम्मेवार अभिव्यक्ति दिएका छन् ।

सुवेदीले एजलिड इन्टरनेसनललाई पैसा तिर्न बाँकी रहेको स्वीकार गरे । ‘कम्पनीलाई पैसा दिन बाँकी छ,’ उनले संवाददातासँग भने, ‘एनआरएनएको यूरोप बैठकपछि कुरा गर्छौं । प्रदेश सरकार र पोखरा महानगरपालिकाले भुक्तानी दिएको छैन ।’

एजलिड इन्टरनेसनलले भने एनआरएनए बेल्जियमको नेतृत्वमा पुरी फाउण्डेसन समेतले खरिद गरेकाले अन्य पक्षबारे आफूहरुलाई जानकारी नभएको जनाएको छ । ‘एनआरएनए बेल्जियमले हामीबाट खरिद गरेको हो, अरु को–कोबाट पैसा उठाउन बाँकी छ, हाम्रो सरोकार भएन,’ श्रेष्ठले भने, ‘भुक्तानी रोक्नु एनआरएनए बेल्जियम र पुरी फाउण्डेसनबाट भएको गम्भीर गल्ती हो । यस्तो विषय सम्बन्धित संस्थामा गम्भीर छलफलको विषय बन्नुपर्छ ।’

पोखरास्थित संक्रामक तथा सरुवारोग अस्पतालका निर्देशक डा. विकास गौचनले पनि एनआरएनए बेल्जियमको नेतृत्वमा र पुरी फाउण्डेसनले अक्सिजन प्लान्ट खरिद गरेर जडान गरिदिएको बताए । ‘एनआरएनए बेल्जियमको नेतृत्वमा पुरी फाउण्डेसन समेतले अक्सिजन प्लान्ट खरिद गरेर जडान गरिदिनुभएको हो,’ उनले भने, ‘उहाँले स्थानीय मिडियामा आफूहरुले खरिद गरेको भनेर प्रचार पनि गर्नुभएको छ । भयावह अवस्थामा यहाँ अक्सिजन प्लान्ट आएको हो । आज पनि चाहिने अक्सिजन उत्पादन भइरहेको छ ।’ उनले खरिद गरेको रकम भन्दा बढीको अक्सिजन उत्पादन भइसकेको जानकारी दिए ।

कम्पनीले लामो समयसम्म आफूहरुले पर्खंदा पनि बेवास्ता भएको भन्दै कानूनी प्रक्रिया अगाडि बढाइने जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

प्रदेश सांसद श्रेष्ठलाई निवासमै बोलाएर अध्यक्ष ओलीले दिए बधाई

ललितपुर– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ललितपुर क्षेत्र नम्बर २ (१)बाट निर्वाचित सांसद रामेश्वर श्रेष्ठलाई निवासमै बोलाएर बधाई...

छुटाउनुभयो कि?