आज साग समापन, प्रधानमन्त्रीले भिडियो सम्बोधन गर्ने

लोकप्रिय

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)को समापन समारोहलाई मङ्गलबार भिडियो कन्फ्रेन्समार्फत सम्बोधन गर्ने भएका छन् ।

अस्वस्थताका कारण समापन समारोहस्थल दशरथ रङ्गशाला नआइ निवासबाटै प्रधानमन्त्री अ‌ाेलीले भिडियो कन्फ्रेन्समार्फत सम्बोधन गर्ने कार्यक्रम रहेको राष्ट्रिय खेलकूद परिषद् (राखेप) तथा १३औँ दक्षिण एशियाली खेलकूद (साग) मूल आयोजक कमिटीका सदस्य सचिव रमेशकुमार सिलवालले साेमबार पत्रकार सम्मेलन गरी जानकारी दिएका हुन् । सदस्य सचिव सिलवालका अनुसार प्रधानमन्त्री ओलीले बुधबार राष्ट्रका नाममा विशेष सम्बोधन गर्ने कार्यक्रम रहेकाे छ । “प्रधानमन्त्रीले बुधबार खेलकूदलाई मात्र समेटेर राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी रहेको छ । खेलाडीका लागि अहिलेसम्मकै ठूलो प्याकेज घोषणा हुनेछ”, उनले भने । पदकधारी खेलाडीलाई दिइने पुरस्कार तथा अन्य सुविधाबारे प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने सिलवालको भनाइ छ । साग आयोजनाबाट आफू पूर्णरुपमा सन्तुष्ट रहेको र मूल्याङ्कन गर्ने जिम्मा अरुको भएको सिलवालले बताए । सदस्य सचिव सिलवालले दैनिक ‘सेफ दि मिसन’को बैठक बस्ने गरेको र बैठकमा साग अहिलेसम्मकै भव्य र सफल आयोजना भएको चर्चा हुने गरेको जानकारी दिए । मङ्सिर १५ गतेदेखि शुरु भएको १३औँ सागको मङ्गलबार समापन हुँदैछ । समापन समारोहअघि नेपाल र भुटानबीच पुरुष फुटबलको स्वर्ण पदकका लागि खेल हुनेछ । उक्त खेलमा भूटानी समर्थकका लागि छुट्टै बस्ने व्यवस्था गरिएको छ । समापन समारोहमा दर्शकका लागि नेपाली सेनाको गेटबाट मात्र प्रवेशको व्यस्था गरिएको सदस्य सचिव सिलवालले बताए । उनले पूर्वराष्ट्रिय खेलाडी, अन्य खेलका अन्तरराष्ट्रिय पदकधारी खेलाडी, जारी सागका पदकधारी खेलाडी तथा प्रशिक्षकलगायतका लागि रङ्गशालामा सम्मानजनक प्रवेश र बस्ने व्यवस्था गरिने बताए ।

सो दिन दिउँसो १२ बजे सांसद ११ र कर्मचारी ११ बीच मैत्रीपूर्ण फुटबल हुनेछ । समापन समारोह करिब डेढ घण्टाको हुने सिलवालले बताए । समापन समारोहलाई प्रमुख अतिथि उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, दक्षिण एशिया ओलम्पिक काउन्सिल तथा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा र सदस्य सचिव सिलवालले सम्बोधन गर्ने कार्यक्रम छ । समारोहमा आगामी १४औँ साग संस्करणको आयोजक पाकिस्तानलाई झण्डा हस्तान्तरण गरिनेछ ।
– रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

उर्मिला अर्याल राष्ट्रिय सभाको उपाध्यक्ष बन्दै

काठमाडौं-राष्ट्रिय सभा उपाध्यक्षको आज निर्वाचन हुँदै छ । आज मध्याह्न १२ बजे बस्ने राष्ट्रिय सभा बैठकबाट उपाध्यक्ष पदमा अर्याल निर्विरोध...

छुटाउनुभयो कि?