काठमाडौं– राष्ट्रिय सभा निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टीबीच तालमेल हुने भएको छ ।
प्रदेश नम्बर २ मा रिक्त हुने चार मध्ये दुई स्थानमा नेकपा र दुई स्थानमा राजपालाई सहयोग गर्ने समझदारी भएको छ ।
सहमितअनुसार नेकपाले महिला र दलित पुरुष तथा राजपाले अन्य पुरुष समूह र अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समूहमा उम्मेदवार उठाउनेछन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार भएको सहमतिपत्रमा नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल तथा राजपा संयोजक राजेन्द्र महतोले हस्ताक्षर गरेका छन् ।
सत्तासाझेदार समाजवादी पार्टीसँगको सहकार्य अस्वीकार गर्दै नेकपाले राजपालाई साथमा लिएको हो । नयाँ सहमतिले उपप्रधानमन्त्री एवं कानुन मन्त्री उपेन्द्र यादव नेतृत्वको समाजवादीलाई थप झड्का लागेको छ ।
दुई बुँदे सहमतिको दोस्रो नम्बरमा राष्ट्रिय राजनीतिका समसामयिक विषयमा नियमित छलफल र सहकार्य गर्ने भन्दै आगामी सत्ता साझेदारीको संकेत गरिएको छ ।
