बाग्लुङ- साहसिक खेलको रुपमा रहेको बञ्जीजम्प पछिल्लो समय स्वदेशी र विदेशी पर्यटकको रोजाइमा पर्दै गएको छ ।
त्यसैलाई मध्यनजर गरी बागलुङ र पर्वतको सीमा कालीगण्डकी नदीमाथि पुल निर्माणको काम अघि बढिरहेको छ ।
बाग्लुङ र पर्वतको सीमा छुट्याउने कालीगण्डकी नदीमाथि बञ्जीजम्प खेलाउनकै लागि विगत तीन वर्षदेखि पुल निर्माण भइरहेको छ ।
करिब २० करोड रुपैयाँको लगानीमा बञ्जीजम्प, स्काई साइकिलिङ र सुविधा सम्पन्न रिसोर्ट समेत निर्माण भइरहेको व्यवसायी राजनकुमार जोशीले बताए ।
द क्लिप प्रालिले निर्माण गरिरहेको यो पुल प्यारा मोहन कन्ट्रक्सन प्रालिका राधाकृष्ण मल्लिकको डिजाइनमा निर्माण गरिँदै छ । यसले बञ्जीजम्प गर्ने पर्यटकलाई आकर्षित गर्ने विश्वास लिइएको छ ।
कालीगण्डकी नदीमा बनेको पुल ५ सय २५ मिटर लामो २ सय २८ मिटर अग्लो रहेको छ । नमूना पुलबाट बञ्जीजम्प गर्न निर्माण कम्पनीले निश्चित दर रेट राख्ने तयारी गरिरहेको छ ।
बाग्लुङ–पर्वत ओहोरदोहोर गर्नेलाई पनि निश्चित शुल्क असुल्ने कम्पनीको तयारी छ ।
पर्यटन विकासको सम्भावना बोकेका बाग्लुङ र पर्वतलाई यसले प्रवद्र्धन गर्नमा टेवा पुग्ने पर्यटन व्यवसायी राजनकुमार जोशीको भनाइ छ ।
निर्माणाधीन उक्त पुललाई एसियाकै नमूना पुल हुने पनि बताइएको छ ।