काठमाडौं– महालक्ष्मी नगरपालिकामा नेकपा एमालेका तर्फबाट मेयरका उम्मेदवार हरिगोविन्द श्रेष्ठले मौन अवधि सुरु नहुँदै मतदातासमक्ष अपिल गर्नुभएको छ । उहाँले महालक्ष्मी नगरबासी आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरुलाई मतदानमा सक्रियतापूर्वक सहभागी भएर नेकपा एमालेलाई अत्यधिक मतले विजयी बनाउनु हुन अपिल गर्नुभएको छ ।
पहिलो पटक भएको निर्वाचनमा महालक्ष्मी नगरपालिकामा प्रमुख उपप्रमुख सहित १० मध्ये ८ वटा वडामा एमाले विजयी भएको थियो ।
श्रेष्ठले पहिलोपटक निर्वाचित हुनुभएका जनप्रतिनिधिले सङ्घीयताको अभ्यास गर्दै ऐन तथा विभिन्न नीति नियम बनाएको उल्लेख गर्दै विकासका असंख्य कामहरु भएकोसमेत बताउनुभएको छ ।
‘स्थानीय तह संघीय शासन प्रणालीको आधारस्तम्भ हो । तीन वटा सरकारमध्ये नागरिकसँग जोडिएको हाम्रो आफ्नै घर आँगनको सरकार पनि हो । महालक्ष्मी नगरपालिकामा मेरो नेतृत्वमा विजयी हासिल भएपछि हामीले गर्ने कामको रुपरेखा सङ्कल्प पत्रमार्फत सार्वजनिक गरिसकेका छौं । मेरो फेरि पनि सङ्कल्प छ– स्थानीय तहको सरकार भनेको कस्तो हुन्छ महालक्ष्मी नगरपालिकाले मुलुकमै उदाहरण पेस गर्नेछ । विकासका सवालमा, शिक्षा, स्वास्थ्य, खानेपानी, सुशासन, सार्वजनिक सेवा प्रवाह, प्रविधि प्रयोगका क्षेत्रमा पाँच वर्षलाई उपलब्धिपूर्ण बनाइनेछ,’ अपिलमा भनिएको छ ।
श्रेष्ठ महालक्ष्मी नगरपालिका हुनुअघिको तत्कालिन लुभु गाविसका अध्यक्ष हुनुहुन्थ्यो ।
उहाँले भन्नुभएको छ, ‘लामो राजनीतिक यात्रा, विकास निर्माण, शिक्षा, सामाजिक सेवामा चार दशकभन्दा लामो संलग्नताले मैले नगरको समस्या र समाधानको उपाय राम्रोसँग बुझेको छु । निर्णय क्षमता, सहकार्यको भावना र मतदाताको मतको सम्मान, लोकतान्त्रिक आचरण जस्ता विषयमा नगरबासी परिचित नै हुनुहुन्छ । म पदमा रहँदा या नरहँदा सार्वजनिक सम्पत्तिको दुरुपयोग हुन दिने छैन । पारदर्शितामा प्रश्न उठ्न दिने छैन । निर्वाचित भएपछि राजनीतिक आस्था, विचार, धर्म, लिंग, क्षेत्रका आधारमा कसैमा भेदभाव महसुस हुन दिने छैन । नगरका कामहरु, खर्चहरु पारदर्शी हुनेछन् । नगर प्रमुखलाई भेट्न, गुनासो राख्न सहजिकरण गरिनेछ । नगरबासीका गुनासाहरुलाई सदैव स्वागत गरिनेछ ।’
श्रेष्ठले भन्नुभएको छ, ‘खानेपानी महसुल छुट, नगरमै रोजगारको सिर्जना, उद्यमशीलता विकास, धार्मिक साँस्कृतिक प्रवर्द्धन, पर्यटन पूर्वाधार निर्माण, नगरका साँस्कृतिक क्षेत्रको प्रचार प्रसार, कृषि, सञ्चार लगायतका क्षेत्रलाई महत्वका साथ प्राथमिकता दिइनेछ । बृद्धबृद्धा, महिला, बालबालिका, अपाङ्गता भएका व्यक्तिलाई केन्द्रित गरेर कार्यक्रम ल्याइनेछ । नगरको घोषणापत्रलाई विकासको मार्गचित्रको रुपमा अगाडि बढाइनेछ । विकास निर्माण र सेवा प्रवाहमा नगरबासी हरेक नागरिकलाई अपनत्व हुने गरी सहभागितामुलक विकास मोडल विकास गरिनेछ ।’
