तथ्यांक नीति बनाउन उपयोगी : सभामुख

तथ्यांक नीति बनाउन उपयोगी : सभामुख

काठमाडौं एक्सप्रेस

काठमाडौं– सभामुख देवराज घिमिरेले नीति निर्माणका लागि तथ्यांक उपयोगी हुने बताउनुभएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले बुझाएको ‘राष्ट्रिय जनगणना २०७८’ को नतिजा संसद भवन नयाँ बानेश्वरमा सोमबार ग्रहण गर्दै सभामुख घिमिरेले राज्यको नीति तथा कार्यक्रम तय गर्दा तथ्य तथ्यांक जरुरत पर्ने बताउनुभयो । उहाँले पछिल्लो जनगणना प्रतिवेदन पिँधसम्म पुगेर भएको विश्वास व्यक्त गर्नुभयो । ‘२०६८ भन्दा धेरै वस्तुवादी तथ्यांक आएको भन्ने सुनेको छु,’ उहाँले भन्नुभयो, ‘राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन हामीजस्ता नीति निर्माताका लागि सहयोगी हुने छ ।’

राष्ट्रिय जनगणना सफल बनाएकोमा सभामुख घिमिरेले राष्ट्रिय तथ्यांक कार्यालयलाई धन्यवाद व्यक्त गर्नुभयो ।

२०७९ साल चैत १० गते सार्वजनिक भएको नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ ।

पछिल्लो जनगणनाको तथ्यांकले हिमाल र पहाड रित्तिँदै गएको देखाएकोमा चिन्ता व्यक्त गर्दै सभामुख घिमिरेले यसको असर सामाजिक र राजनीतिक दुवैतर्फ पर्ने धारणा राख्नुभयो ।

सभामुखलाई राष्ट्रिय तथ्यांक कार्यालयका सचिव रामप्रसाद थपलिया नेतृत्वको टोलीले ‘राष्ट्रिय जनगणना २०७८’ को नतिजा बुझाएको हो ।

Logo