चन्द्रागिरिमा आज पनि संघीय संसद र प्रदेश सभाको अनुभव आदान प्रदान कार्यक्रम जारी

चन्द्रागिरिमा आज पनि संघीय संसद र प्रदेश सभाको अनुभव आदान प्रदान कार्यक्रम जारी

काठमाडौं एक्सप्रेस

काठमाडौं– संघीय संसद र प्रदेश सभाको अनुभव आदान प्रदान एवम् अन्तरक्रिया कार्यक्रम शनिबार दोस्रो दिन पनि जारी छ ।

शुक्रबारदेखि सुरु भएको कार्यक्रममा शनिबार सबै प्रदेशका सभामुख, उपसभामुख र प्रदेश सभा सचिवले आफ्नो अनुभवसहित धारणा राख्नेछन् ।

दोस्रो दिनको कार्यशाला सुरु गर्दै सभामुख देवराज घिमिरेले दुवै तहका सभाबीच भएको कार्यक्रमले सभा सञ्चालनका लागि सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । ‘आशा छ संसदलाई जिवन्त र प्रभावकारी बनाउन कार्यक्रमले सहयोग गर्नेछ,’ उहाँले भन्नुभयो ।

सभामुख घिमिरेले कानूनको अडिट गर्ने फोरमको आवश्यकतामा जोड दिनुभयो । उहाँले नेपालमा संसदीय अध्ययन अनुसन्धानको अभ्यास कम भएको बताउँदै आगामी दिनमा सुधार गर्दै लैजानुपर्ने बताउनुभयो ।

२०७५ साल भदौ ३ गते चन्द्रागिरिबाटै संघीय संसद र प्रदेश सभाको अनुभव आदान प्रदान सुरु भएको थियो । अहिलेसम्म यस्तै प्रकृतिका ६ वटा कार्यक्रम विभिन्न प्रदेशमा भएका छन् ।

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कतिपय प्रदेशले छोटो समयमा नै विधि निर्माणमा अनुकरणीय काम गरेको बताउँदै त्यस्ता कार्यहरु संघका लागि पनि फलदायी हुने विश्वास व्यक्त गर्नुभयो ।

आइतबार संसद भवन नयाँ बानेश्वरमा सभामुख, राष्ट्रिय सभा अध्यक्ष र सबै प्रदेशका सभामुख उपसभामुख समेतको उपस्थितिमा भेलाका निष्कर्षहरु सुनाउने कार्यक्रम छ ।

Logo