खानेपानी मुहान खोज्दै महालक्ष्मीका मेयर, ८ किलोमिटर हिँडेर पुगे गोदावरी

खानेपानी मुहान खोज्दै महालक्ष्मीका मेयर, ८ किलोमिटर हिँडेर पुगे गोदावरी

काठमाडौं एक्सप्रेस

काठमाडौं– महालक्ष्मी नगरपालिकाको वडा नम्बर १ र ४ मा दुई वर्षभित्र खानेपानी वितरण गर्ने घोषणा गरेका मेयर हरिगोविन्द श्रेष्ठले सक्रियता देखाउन सुरु गरेका छन् ।

दुई वर्षे कार्ययोजना घोषणा समेत गरिसकेका मेयर श्रेष्ठ आइतबार बिहान खानेपानीको मुहान खोज्दै गोदावरीसम्म पुगे । बिहान करिव साढे ७ बजे वडा नम्बर ४ को मोरेपाटी खानेपानी ट्याङ्कीबाट मेयर श्रेष्ठको नेतृत्वमा निस्किएको टोली करिव ८ किलोमिटर पैदलै गोदावरी मुहान पुग्यो ।

मेयरको साथमा उपमेयर लक्ष्मी महर्जन, वडा नम्बर १ का वडाध्यक्ष छिरिङ लामा, वडा नम्बर ४ का वडाध्यक्ष अमृत खत्री, वडा नम्बर ५ का वडाध्यक्ष कपिल केसी, वडा नम्बर ७ का वडाध्यक्ष बाबुराजा महर्जन लगायतका जनप्रतिनिधि, इमाडोलका सामाजिक व्यक्तिहरु पनि रहेका थिए ।

मेयर श्रेष्ठले गोदावरी मुहानसम्मको अवस्था र सम्भाव्यताबारे अध्ययन गरेको बताइएको छ । ‘संविधानमा खानेपानी तथा सरसफाइ सुविधालाई जनताका आधारभूत अधिकारका रुपमा प्रत्याभूत गरिएको छ,’ मेयर श्रेष्ठको भनाइ छ, ‘नगर क्षेत्रमा खानेपानीको उपलब्धताका लागि हरसम्भव सबै प्रयास गछौं ।’

गोदावारी मुहान रहेको इमाडोल खानेपानी मार्फत योजना अगाडि बढाउन आजदेखि डीपीआर तयार गर्न प्राविधिक टोली खटाउने मेयरको पूर्वप्रतिबद्धता थियो ।

मेयर श्रेष्ठ गत साउन १ गते पनि प्रतिनिधि सभा सदस्य प्रेम महर्जन सहित वडा नम्बर ८ का वडाध्यक्ष विश्वराज श्रेष्ठ, ९ का वडाध्यक्ष जयकृष्ण बोगटी र वडा नम्बर १० का वडाध्यक्ष विजय लामा लिएर चापाखर्क मुहान पुगेका थिए ।

नगरपालिकाले नगरको खानेपानी समस्या समाधान गर्ने उद्देश्यले आगामी वर्ष खानेपानी योजनाको लागि एकमुष्ठ ३ करोड ३० लाख रुपैयाँ विनियोजन गरेको छ ।

भदौ ७ गतेसम्म डीपीआर तयार गरी टेन्डरमार्फत ढिलोमा २०८२ साल असार मसान्तसम्म नगरपालिकाको वडा नं. १ र ४ लाई खानेपानी वितरण गराउने मेयरको प्रतिबद्धता छ ।

नगर क्षेत्रभित्र खानेपानीको दीर्घकालीन समस्या समाधानका लागि मेलम्ची आयोजना वितरणलाई पनि नगरपालिकाले प्राथमिकतामा राखेको उनको भनाइ छ ।

Logo