सदन खुलाउन सभामुखको कसरत, कार्यव्यवस्था बैठक आह्‍वान

सदन खुलाउन सभामुखको कसरत, कार्यव्यवस्था बैठक आह्‍वान

काठमाडौं एक्सप्रेस

काठमाडौं- सभामुख देवराज घिमिरेले आज दिउँसो १२ बजे बानेश्वरमा सदनको अवरोध खुलाउने विषयमा छलफल गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक आह्‍वान गरेका छन् ।

सुन काण्ड छानबिनका लागि उच्चस्तरीय छानबिन समिति माग गर्दै एमालेले संसद अबरोध गर्दै आएको छ । सोमबार बोलाइएको बैठक सूचना टाँसेर स्थगित गरेका सभामुखले आजको बैठक खुलाउन निरन्तर पहल गरिरहेका छन् ।

सभामुखले आज बिहान पनि प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग टेलिफोन संवाद गरेका छन् ।

सभामुखले निरन्तर सदन अवरुद्ध हुँदा जनताको आवाज अबरुद्ध हुने भन्दै गम्भीर हुन प्रधानमन्त्री र विपक्षी दलका नेताको ध्यानाकर्षण गराएका छन् । उनले सूचना टाँसेर सदन स्थगित गर्दा संसदीय अभ्यासमा गलत नजिर बस्नेतर्फ समेत स्मरण गराएका छन् ।

सभामुखले सदन अवरोध खोल्ने विषयमा हिजो पनि प्रधानमन्त्री, विपक्षी दलका नेता, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मुख्य दलका प्रमुख सचेतक र सचेतकहरुसँग पटक पटक छलफल गरेका थिए ।

Logo