घट्दै स्तनपान, बोतलको दुध खुवाउने बढे

घट्दै स्तनपान, बोतलको दुध खुवाउने बढे

काठमाडौं एक्सप्रेस

सहरका भन्दा गाउँका आमा सचेत

काठमाडौं- जन्मने वित्तिकै स्तनपान गर्न पाउनु प्राकृतिक रुपमै शिशुको नैसर्गिक अधिकार हो । शिशु जन्मेपछि केही दिनसम्म आउने बाग्लो, पहेँलो बिगौती दुधमा रोगसँग लड्ने एक प्रकारको प्रतिरोधात्मक तत्व रहेको हुन्छ । जसले शिशुलाई संक्रमक रोग लाग्नबाट बचाउने हुनाले स्तनपानलाई पहिलो खोपको रुपमा लिइन्छ ।  त्यसकारण शिशु जन्मिएपछि जतिसक्दो चाँडो एक घण्टा भित्रमा उसलाई आमाको विगौती दूध अनिवार्य रुपमा खुवाउनु पर्छ ।

शिशु जन्मेको छ महिनासम्म आमाको दूधमात्र खुवाउनुपर्छ भन्दै जनचेतनाका लागि विभिन्न रेडियो, टेलिभिजन र पत्रपत्रिका मार्फत जानकारी दिँदै आइरहेको अवस्थामा नेपालमा पछिल्लो समय स्तनपान गराउने आमाहरुको संख्या घट्दै गएको तथ्याङ्कले औँल्याएको छ ।

स्तानपान सप्ताह २०८० को सन्दर्भमा परिवार कल्याण महाशाखाले आज आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सरोकारवालाले बजारमा पाइने दूधजन्य पेय पदार्थहरु बन्द गर्न सुझाव दिएका छन् । सन् १९९६ देखि २०२२ सम्म स्तनपान भन्दा दुधदानीबाट दुध खुवाउनेको संख्या बढेको तथ्याङ्कले देखाउँछ । आज आयोजिना एक अन्तरक्रिया कार्यक्रमर्माफत जानकारी दिँदै नेपालमा २७ वर्षदेखि स्तानपान गराउने आमाहरुको संख्या ह्वात्तै घटेको बताइएको हो ।

अगस्ट १ देखि ७ सम्म करिब १२० देशहरुमा विश्व स्तनपान सप्ताह मनाइँदैछ । नेपालमा सप्ताह मनाउनु स्तनपानलाई प्रवर्द्धन गर्ने र स्तनपानका फाइदाहरुका बारेमा समुदायस्तरमा जनचेतना फैलाउनुका साथै स्तनपानलाई सकरात्मक विधिमा निरन्तरता दिन प्रेरित गर्न र प्रभावकारी ढङ्गले आमाहरुको स्तनपान गर्ने बानी व्यवहारमा परिवर्तन ल्यानु मुख्य उद्देश्य रहेको छ ।

नेपालमा १९९६ बाट स्तानपान सम्बन्धी तथ्याङ्क संकलन गर्न थालिएको महाशाखाले जनाएको छ ।  तथ्याङ्क संकलन पाँच वर्षमा एकपटक गरिन्छ । हाल सम्म नेपालमा ६ पटक स्तनपान सम्बन्धी तथ्याङ्क संकलन गरिएको छ ।

पहिलो पटक सन् १९९६ मा नेपालमा स्तनपान गराउने आमाहरुको संख्या ७५ प्रतिशत थियो । अहिले उक्त संख्या घटेर सन् २०२२ सम्म ५६ प्रतिशतमा झरेको छ । स्तनपान नगराउने आमाहरुको संख्या ३ प्रतिशतबाट बढेर २२ प्रतिशत पुगेको छ ।

पोषण महाशाखाका प्रमुख लिलाविक्रम थापाले अन्धविश्वास र जानकारी नभएका कारणले पनि नेपालमा स्तनपान गराउने आमाहरुको संख्या घट्दै गएको बताए । सामाजिक परिवेश र ज्योतिषलाई हेराएर बच्चा जन्माउनेको संख्या पनि पछिल्ला समय बढ्दै गएकोले पनि स्तनपान घटेको थापाको भनाइ छ । अपरेसन गरेर बच्चा जन्माएपछि स्तनपान गराउनु हुँदैन, आमाले सक्दैन, असजिलो हुन्छ भन्ने विचारले पनि स्तनपानमा कमी आएको उहाँले बताउनुभयो ।

सहरमा स्तनपान गराउनेको संख्या घटेको भए पनि न्युन आय र कम महिलाहरु स्तनपान तुलनात्मक रुपले बढेको उनको भनाइ छ । वर्ड भिसियोन अन्तरगत स्वास्थ्य तथा पोषण प्रविधिक प्रमुख गणेश पाण्डेले भने, ‘आमाको दूध नआउने भन्ने कुरै हुँदैन । आमाको दुध आफैँ निस्कँदैन बच्चाले आमाको दूध चुस्नै पर्छ अनिमात्र आमाको दुध आउँछ ।’

आमाको दुध आएन भन्दैमा बोतलबाट दुध खुवाउन नहुने उनको तर्क छ । पाण्डेले थपे, ‘किन एक घण्टा भित्र भनेको भने बच्चा जन्मिने वित्तिकै जति ऊसँग पावर हुन्छ विस्तारै दुध नपाएसम्म उसलाई भोक लाग्छ बच्चा कमजोर हुँदै जान्छ त्यसको मसलटर्निक कमजोर हुँदै जान्छ चुस्ने दर र क्षमता पनि कम हुँदै जान्छ । त्यही भएर जन्मेको एक घण्टाभित्र दुध चुसाउनु भनेको हो ।’

Logo