सभामुखलाई प्रधानमन्त्रीले भने, ‘सहमतिको कोसिस गर्नुभएकोमा धन्यवाद’

सभामुखलाई प्रधानमन्त्रीले भने, ‘सहमतिको कोसिस गर्नुभएकोमा धन्यवाद’

काठमाडौं एक्सप्रेस

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख दलहरुबीच सहमतिको प्रयास गरेकोमा सभामुख देवराज घिमिरेलाई धन्यवाद दिएका छन् । सदनको अवरोध खुलाउन पहल गरेकोमा सभामुखलाई प्रधानमन्त्रीले धन्यवाद दिएका हुन् ।

सभामुख घिमिरेले सूचना टाँसेर बैठक स्थगित गर्दै सहमतिको पहल गरिरहेका छन् । आजमात्रै सभामुखको पहलमा दुईपटक शीर्ष नेताहरुको बैठक बसेको थियो ।

आजमात्र होइन, सभामुख घिमिरेले पटक पटक सदनमा असहज अवस्था सिर्जना हुँदा प्रमुख शीर्ष नेताहरुसँग वार्ता संवाद गरिरहेका छन् । उनले यसअघि चारपटक आफ्नै पहलमा शीर्ष नेताहरुलाई जुटाएका छन् ।

६ महिनामा शीर्ष नेताहरुसँग सभामुखको पहलमा ६ वटा बैठक बसेका छन् । तीन पटक सिंहदरवारस्थित सभामुख कार्यकक्षमा, एक पटक आफ्नै सरकारी निवासमा, एकपटक एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा र एकपटक बानेश्वरस्थित संसद भवनमा रहेको सभामुख कार्यकक्षमा शीर्ष बैठक बसेको छ ।

पूर्वसभामुख अग्निप्रसाद सापकोटाले लामो समय सदन अवरोध हुँदा पनि ३२ महिने कार्यकालमा एकपटक पनि शीर्ष नेताहरुको सामूहिक बैठक नराखी बिदा भएका थिए ।

सोमबारको बैठकमा लामो छलफल हुँदा पनि सहमति भएन । तर, प्रधानमन्त्री दाहालले सभामुखले सहमतिका लागि धैर्यतापूर्वक पहल गरेको भन्दै प्रशंसा गरेका थिए । जवाफमा सभामुखले भनेका थिए, तपाईंहरु पनि उपस्थित भएर छलफलमा सहभागी हुनुभएकोमा धन्यवाद । उनले भने, ‘आज संसद बैठक खुलाउन प्रधानमन्त्रीसहित शीर्ष नेताहरुले गम्भीरतापूर्वक छलफल गर्नुभयो । तर, सत्तापक्ष र प्रमुख विपक्षी दलका नेताहरु पूर्ण निष्कर्षमा पुग्न सक्नुभएन ।’

भोलि बिहान साढे १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा सभामुखको समेत उपस्थितिमा बैठक बोलाइएको छ । सभामुखले भोलि सहमति हुने अपेक्षा राखेका छन् । उनले भने, ‘आशा छ, भोलि दिउँसो ३ बजे बस्ने बैठक अगावै दलहरुबीच सहमति हुनेछ । सहमतिको विकल्प छैन । संसद अवरोध हुँदा जनताका आवाज रोकिएका छन् । माननीयहरुले प्राकृतिक विपत् लगायतका धेरै जनसरोकारका विषय सदनलाई जानकारी दिन सक्नुभएको छैन । मैले अधितकतहरुपमा लचिलो भएर दलहरुलाई सहमतिका लागि सकारात्मक दबाब दिइरहेको छु ।’

सभामुख घिमिरेले आफू दलहरुबीच आपसी विश्वास, एकता र सहकार्यको पक्षमा उभिँदै आएको बताए । उनले भने, ‘यही अनुरुप मैले सूचना टाँसेर पटक पटक बैठक स्थगित गरेको हो । तर, सूचना टाँसेर बैठक रोक्ने नजिर स्थापित गर्ने पक्षमा छैन । आशा छ, भोलिदेखि हामी सदनको नियमित कारबाहीमा जानेछौं ।’

आज दुई पटक भएको बैठकमा सभामुखसहित प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी भएका थिए । सहयोगीको रुपमा कांग्रेसबाट रमेश लेखक, एमालेबाट सुवासचन्द्र नेम्वाङ र महेश बर्तौला तथा माओवादी केन्द्रबाट हितराज पाण्डे सहभागी भएका थिए ।

साउन १० गते बसेको प्रतिनिधि सभाको बैठकमा प्रमुख विपक्षी दलले सुन काण्डबारे उच्चस्तरीय छानबिन समिति माग गर्दै बैठक अबरुद्ध गरेपछि त्यसपछिका दुई वटा बैठक सूचना टाँसेर स्थगित भएको छ ।

सभामुखले साउन १५ र १६ गते प्रधानमन्त्री र विपक्षी दलका नेतासँग दुई–दुईपटक टेलिफोन संवाद गरेका थिए । प्रमुख दलका प्रमुख सचेतक र सचेतकहरुसँग विभिन्न चरणमा ६ पटक भन्दा बढी छलफल गरेका थिए ।

आइतबार सिंहदरवारमा प्रमुख सचेतकहरुसँग छलफल गर्नुभएका सभामुखलाई सदनको अवरोध खुलाउन शीर्ष नेताकै तहमा बैठक बस्नुपर्ने सुझाव नेताहरुले दिएका थिए ।

Logo