डेंगी नियन्त्रणका लागि के गर्दैछ महालक्ष्मी नगरपालिका ?

डेंगी नियन्त्रणका लागि के गर्दैछ महालक्ष्मी नगरपालिका ?

काठमाडौं एक्सप्रेस

काठमाडौं– अघिल्लो वर्ष काठमाडौं उपत्यकामा डेंगी संक्रमण उच्च तहमा पुग्यो । खासगरी उपत्यकाकै एकमात्र महानगर काठमाडौं महानगरपालिकाले डेंगी नियन्त्रणमा प्रभावकारी काम नगरेकै कारण आसपासका नगरपालिका संक्रमित भएको भन्दै मेयर बालेन शाहको आलोचना भएको थियो ।

काठमाडौं महानगरपालिकासँग जोडिएको ललितपुरको महालक्ष्मी नगरपालिकाले डेंगी संक्रमणबाट जोगिन यसपटक भने तीब्र अभियान सुरु गरेको छ । नगरपालिकाका मेयर हरिगोविन्द श्रेष्ठ दैनिक डेंगीविरुद्धको जनचेतना अभियानमा सक्रिय भएका छन् । नगरपालिकाका विभिन्न वडाहरुमा पुगेर मेयर श्रेष्ठले जनचेतना अभियानको नेतृत्व गरेका छन् ।

मेयर श्रेष्ठले स्वास्थ्य सरोकारवालाको अभिमुखिकरणमा डेंगी रोकथामका लागि अधितकतम प्रयास गर्न निर्देशन दिएका छन् । ‘नगरपालिकाले डेंगी रोकथामका लागि सबै उपाय अबलम्बन गरेको छ,’ उनले भने, ‘डेंगीको लार्भा खोज र नष्ट गर अभियानलाई टोलटोलमा पुर्‍याउन आवश्यक छ ।’

स्वास्थ्य कार्यालय ललितपुरले डेंगी नियन्त्रणका लागि स्थानीय तहले गर्ने कामबारे जनप्रतिनिधिलाई अभिमुखीकरण गरेको थियो ।

स्वास्थ्यको अभिमुखीकरणपछि मेयर श्रेष्ठको निर्देशनमा वडा वडामा अभिमुखीकरण कार्यक्रम भइरहेको नगरपालिकाका स्वास्थ्य प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत हिमलाल ज्ञवालीले जानकारी दिए । वडा वडामा भइरहेको अभियानमा स्वयं मेयर श्रेष्ठ र उपमेयर लक्ष्मी महर्जन उपस्थित भएर प्रभावकारी काम गर्न निर्देशन दिइरहेका छन् ।

नगरपालिकाका स्वास्थ्य प्रमुख ज्ञवालीका अनुसार वडा वडामा स्वास्थ्यकर्मी, विद्यालय व्यवस्थापन समिति, र्‍यापिड रेस्पोन्ड टिम र स्वास्थ्य स्वयंसेविका सहित स्वास्थ्यका मुख्य सरोकारवालालाई अभिमुखिकरण गरिएको छ । नगरपालिकाले टोल टोलमा डेंगी संक्रमणबारे जनचेतना सामग्री वितरण गरिरहेको छ ।

नगरपालिकाले वडा वडामा लार्भा र खोज र नष्ट गर भन्ने अभियान चलाइरहेको मेयर श्रेष्ठले जानकारी दिए । अभियानमा टोल सुधार समिति र क्लव समेत सहभागी गराउने गरिएको छ । ‘डेङ्गु सङ्क्रमण नियन्त्रणका लागि शुक्रबारदेखि हरेक शुक्रबार बिहान साढे १० बजे १० मिनेट अभियान सञ्चालन गरी सबै सरकारी तथा सार्वजनिक कार्यालयले आफ्ना कार्यालय हाताभित्र र वरपर सबै कर्मचारी सहभागी गराई अनिर्वायरूपमा सरसफाइ अभियान सञ्चालन गर्न अनुरोध गरिएको ज्ञवालीले जानकारी दिए ।

गत वर्षको डेङ्गु सङ्क्रमण अत्यधिक भएको भन्दै यस वर्ष समयमै सचेतना अपनाउन उक्त अभियान सञ्चालन गर्न सरकारीसँगै निजी, सर्वसाधारण तथा सरोकारवाला सबैलाई अनुरोध गरिएको छ ।

Logo