महालक्ष्मीको खानेपानीमा चिनियाँ चासो

महालक्ष्मीको खानेपानीमा चिनियाँ चासो

काठमाडौं एक्सप्रेस

काठमाडौं- महालक्ष्मी नगरपालिकाको खानेपानी समस्यामा चिनियँ विज्ञहरूले पनि चासो लिएका छन् ।

महालक्ष्मी नगरपालिकामा खानेपानीलाई थप व्यवस्थित बनाउन, छिमेकी राष्ट्र चीनमा खानेपानीको क्षेत्रमा लामो समयदेखि काम गरेका विज्ञ सहितको टिमले नगरपालिकाका विभिन्न क्षेत्रको भ्रमण गरेको छ ।

महालक्ष्मी नगरपालिकाका मेयर हरिगोविन्द श्रेष्ठले चिनियाँ खानेपानी विज्ञ टोलीले खानेपानी प्रशोधन केन्द्र निर्माण गर्न सकिने सम्भावित क्षेत्रहरुको स्थलगत निरीक्षण तथा हाल सञ्चालनमा रहेका आयोजनाको अनुगमन गरेको जानकारी दिए ।

महालक्ष्मीका मेयर श्रेष्ठले दुई वर्षे कार्ययोजना सार्वजनिक गर्दै खानेपानी समस्या समाधानमा अभियान नै सुरु गरेका छन् । मेयर सहितको टोली गत साउन ७ गते मोरेपाटी खानेपानी ट्याङ्कीबाट करिव ८ किलोमिटर पैदलै हिँडेर गोदावरी मुहान पुगेको थियो ।

मेयर श्रेष्ठले नगरपालिकाको कार्ययोजना अनुसार समयमा नै खानेपानीको समस्या समाधान गर्ने बताए । ‘संविधानमा खानेपानी तथा सरसफाइ सुविधालाई जनताका आधारभूत अधिकारका रुपमा प्रत्याभूत गरिएको छ,’ मेयर श्रेष्ठको भनाइ छ, ‘नगर क्षेत्रमा खानेपानीको उपलब्धताका लागि हरसम्भव सबै प्रयास गछौं ।’

मेयर श्रेष्ठ गत साउन १ गते पनि प्रतिनिधि सभा सदस्य प्रेम महर्जन सहित वडा नम्बर ८ का वडाध्यक्ष विश्वराज श्रेष्ठ, ९ का वडाध्यक्ष जयकृष्ण बोगटी र वडा नम्बर १० का वडाध्यक्ष विजय लामा लिएर चापाखर्क मुहान पुगेका थिए ।

नगरपालिकाले नगरको खानेपानी समस्या समाधान गर्ने उद्देश्यले आगामी वर्ष खानेपानी योजनाको लागि एकमुष्ठ ३ करोड ३० लाख रुपैयाँ विनियोजन गरेको छ ।

भदौ ७ गतेसम्म डीपीआर तयार गरी टेन्डरमार्फत ढिलोमा २०८२ साल असार मसान्तसम्म नगरपालिकाको वडा नं. १ र ४ लाई खानेपानी वितरण गराउने मेयरको प्रतिबद्धता छ ।

नगर क्षेत्रभित्र खानेपानीको दीर्घकालीन समस्या समाधानका लागि मेलम्ची आयोजना वितरणलाई पनि नगरपालिकाले प्राथमिकतामा राखेको उनको भनाइ छ ।

Logo