सुनिल शर्मा छुटेपछि सूर्य थापाको प्रतिक्रिया- ‘नारायणकाजीको दिनगन्ती सुरु भयो’

सुनिल शर्मा छुटेपछि सूर्य थापाको प्रतिक्रिया- ‘नारायणकाजीको दिनगन्ती सुरु भयो’

काठमाडौं एक्सप्रेस

काठमाडौं- आफ्नो राजीनामा माग गर्ने सांसदलाई प्रतिशोधपूर्ण तवरले पक्राउ गरेको भन्दै आलोचित गृहमन्त्री नारायणकाजी श्रेष्ठको दिनगन्ती सुरु भएको एमाले नेता सूर्य थापाले प्रतिक्रिया दिएका छन् ।

एमाले सांसद समेत रहेका थापाले गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्टन्टबाजी र पद दुबैको दिनगन्ती सुरू भएको टिप्पणी गरेका छन् । उनले नारायणकाजी हारगुहार गर्न देउवा निवास धाएर अनुनयविनय गर्न थालिसकेको जिकिर पनि गरेका छन् । ‘खासमा गृहमन्त्री पद उनलाई बोकाको मुखमा कुभिण्डोजस्तै उभिन्डो हुन पुगेको स्पष्ट भएको छ । सांसद सुनिल शर्माले उनको प्रतिशोधपू्र्ण सत्ता दुरुपयोगको हर्कतमा गतिलो चड्कन च्यूरा खुवाइसकेको स्पष्टै छ,’ थापाको भनाइ छ ।

काठमाडौं जिल्ला अदालतले सांसद शर्मालाई हत्कडी र हिरासतबाट रिहाइ गरेर नारायणकाजीलाई शक्तिको दुरुपयोगमा हत्कडी लगाउनुपर्ने सन्देश दिएको उनल‍ले बताए । ‘खासमा जनमतबेगरका नारायणकाजी निर्लज्जतापूर्वक उत्तर कोरिया र पाकिस्तानको मोडेलमा सत्तादुरुपयोग र भजनमण्डली परिचालनामा सक्रिय रहेको पोल नराम्रोसँग खुलेको छ,’ थापाले भनेका छन्, ‘नारायणकाजीले प्रतिनिधिसभामा आएर सुनिल शर्मासहित जननिर्वाचित सांसदहरूसँग अब कसरी नजर जुधाउन सक्लान् ?’

गृहमन्त्रीको कदमलाई थापाले ‘नैतिकहराम कदमको विचरा परिणाम’ भनी टिप्पणी समेत गरेका छन् ।

Logo