डेंगु नियन्त्रणका लागि सफल हुँदै महालक्ष्मीको अभियान

डेंगु नियन्त्रणका लागि सफल हुँदै महालक्ष्मीको अभियान

काठमाडौं एक्सप्रेस

ललितपुर– डेंगु नियन्त्रणका लागि महालक्ष्मी नगरपालिकाले सुरु गरेको अभियान सफल हुँदै गएको सरोकारवालाले जनाएका छन् ।

वर्षायाम सँगै देशभर डेंगु रोगको प्रकोप बढ्दै गइरहेको अवस्थमा महालक्ष्मी नगरपालिकाले रोकथाम र नियन्त्रणका लागि साउन १५ गतेदेखि वडास्तरमा अभियान चलाइरहेको छ । लामखुट्टेको बासस्थान खोज र नष्ट गर अभियान १० वटै वडामा सञ्चालन भएको नगरपालिकाका जनस्वास्थ्य निरीक्षक भरत बोहराले जानकारी दिए ।

बोहराले नगरपालिकाका मेयर हरिगोविन्द श्रेष्ठको निर्देशनमा स्वास्थ्य शाखाले दैनिक अभियान सञ्चालन गरिरहेको जानकारी दिएका छन् । ‘नगरपालिकाको प्रयास सफल हुँदै गएको छ,’ उनले भने, ‘हामीले पहिलो चरणको १० दिने अभियान सम्पन्न गरेका छौं ।’

डेंगु रोगको अभिमुखिकरणपछि सबै वडाहरुमा जनप्रतिनिधि, वडास्तरीय आरआरटी टिम, महिला स्वास्थ्य स्वयंसेविका, समाजसेवी, बुद्धिजीवी, टोल सुधार समितिहरु परिचालित भई खोज र नष्ट गर अभियान सञ्चालन भइरहेको स्वास्थ्य शाखा प्रमुख हिमलाल ज्ञवालीले जानकारी दिए ।

महालक्ष्मी नगरपालिकाले डेंगी संक्रमणबाट जोगिन तीब्र अभियान सुरु गरेको छ । नगरपालिकाका मेयर हरिगोविन्द श्रेष्ठ दैनिक डेंगीविरुद्धको जनचेतना अभियानमा सक्रिय भएका छन् । नगरपालिकाका विभिन्न वडाहरुमा पुगेर मेयर श्रेष्ठले जनचेतना अभियानको नेतृत्व गरेका छन् ।

मेयर श्रेष्ठले स्वास्थ्य सरोकारवालाको अभिमुखिकरणमा डेंगी रोकथामका लागि अधितकतम प्रयास गर्न निर्देशन दिएका थिए ।

डेङ्गु सङ्क्रमण नियन्त्रणका लागि हरेक शुक्रबार बिहान साढे १० बजे १० मिनेट अभियान सञ्चालन गरी सबै सरकारी तथा सार्वजनिक कार्यालयले आफ्ना कार्यालय हाताभित्र र वरपर सबै कर्मचारी सहभागी गराई अनिर्वायरूपमा सरसफाइ अभियान सञ्चालन गर्न अनुरोध गरिएको ज्ञवालीले जानकारी दिए ।

गत वर्षको डेङ्गु सङ्क्रमण अत्यधिक भएको भन्दै यस वर्ष समयमै सचेतना अपनाउन उक्त अभियान सञ्चालन गर्न सरकारीसँगै निजी, सर्वसाधारण तथा सरोकारवाला सबैलाई अनुरोध गरिएको छ ।

Logo