सांसदहरुसँग सभामुखले मागे सहयोग, भने- ‘संसद अवरोध हटाउन सहयोग गर्नुस्’

सांसदहरुसँग सभामुखले मागे सहयोग, भने- ‘संसद अवरोध हटाउन सहयोग गर्नुस्’

काठमाडौं एक्सप्रेस

धुलिखेल, २६ साउन : सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठकमा अवरोध हटाउन सांसदहरूलाई आह्वान गर्नुभएको छ ।

राष्ट्रिय मानवअधिकार आयोगले आयोजना गरेको कार्यक्रममा उहाँले संसद् अवरोध कानून निर्माणका लागि बाधक भएको भन्दै अवरोध खोल्न सबै सांसदको सहयोगका लागि आह्वान गर्नुभएको हो ।

“केही सातादेखि संसद् नियमित कारबाहीमा अगाडि बढ्न नसकेको स्थिति छ । कैयौँ विधेयकमाथि छलफल भएको छैन । परिणाम दिने गरी नियम कानून बनाउन सकिरहेका छैनौँ”, सभामुख घिमिरेले भन्नुभयो, “सांसदहरूले संसद् अवरोध खोल्न आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने आवश्यकता देखेको छु ।”

अघिल्लो संसदमा पनि संसद् विघटन, पुनःस्थापना र निर्वाचनका कारण जनमुखी कानून निर्माणमा पर्याप्त छलफल हुन नसकेको स्मरण गराउँदै संसद् अवरोधको परिस्थितिको अन्त्य गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा सभामुख घिमिरेले मानवअधिकार आयोगको स्तर घटुवाजस्ता गम्भीर विषयमा संसद्मा पर्याप्त छलफल हुन नसकेको बताउनुभयो ।

“मानवअधिकार आयोगको स्तर घटुवाजस्ता गम्भीर विषयमा जसरी संसद्मा छलफल गर्नुपर्ने हो, त्यो हुन सकेको छैन”, उहाँले भन्नुभयो “मानवअधिकार आयोगको स्तर घटुवाको विषयले मलाई गम्भीर बनाएको छ । यस विषयमा सरकारले विशेष दायित्व निर्वाह गर्नुपर्ने देखेको छु । संसद्मा पनि यथाशक्य यस विषयमा छलफल हुनुपर्छ ।”

Logo