सुनिल शर्माले असंसदीय भाषा बोल्नुभएको छैन : कानून मन्त्री

सुनिल शर्माले असंसदीय भाषा बोल्नुभएको छैन : कानून मन्त्री

काठमाडौं एक्सप्रेस

काठमाडौं- कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले बैठकमा नेपाली कांग्रेसका सांसद सुनिल शर्माले २९ साउनको बैठकमा प्रयोग गरेको शब्द असंसदीय नभएको जिकिर गरेका छन् ।

सभामुख देवराज घिमिरेले आइतबार सिंहदरवारमा बोलाएको बैठकमा कानून मन्त्री गुरुङले शर्माले बोलेको भाषालाई असंसदीय भन्न नमिल्ने बताए ।

मोरङ ३ बाट निर्वाचित कांग्रेस सांसद शर्माले आफूलाई पूर्वाग्रह राखेर पक्राउ गरेको भन्दै २९ साउनको संसद बैठकमा भनेका थिए, ‘यो देशको गृहमन्त्री र प्रधानमन्त्री आंकतकारी सरकारको नेतृत्व गर्दै हुनुहुन्छ कि डेमोक्रेटिक सरकारको ?’ कानून मन्त्री गुरुङले शर्माले गृहमन्त्री र प्रधानमन्त्रीलाई आतंककारी नभनेको बताउँदै भने, उहाँले गृहमन्त्री र प्रधानमन्त्रीले कस्तो सरकारको नेतृत्व गर्नुभन्छ भन्ने प्रश्न गरेको हो भन्ने मलाई लाग्छ । कानून मन्त्रीले बैठक चलिरहँदा शर्माको ८ मिनेट लामो बक्तव्य पूरै सुनेका थिए ।

१० साउनयता अवरुद्ध सदन सञ्चालन गर्ने प्रयासमा सभामुख देवराज घिमिरेले आइतबार दलका प्रमुख सचेतकहरुसँग छलफल गरेका थिए ।

बैठकमा माओवादी प्रमुख सचेतक हितराज पाण्डेले सांसद शर्माले सरकारलाई आतंककारी भनेको र यो शब्द असंसदीय भएकाले संसदको रेकर्डबाट हटाउनुपर्ने बताए । उनले शर्मा बोलेकै दिन पनि संसदमा नियमापत्ति गरेका थिए ।

शर्माको दल नेपाली कांग्रेसकी सचेतक सुशीला थिङले बैठकमा शर्माको भनाइ अध्ययन गर्नुपर्ने बताएकी थिइन् । तर, कानून मन्त्रीको तर्कपछि उनी शर्माको शब्द हटाउनु नपर्ने निष्कर्षमा पुगेकी थिइन् । बैठकपछि सञ्चारकर्मीसँग पनि थिङले शर्माको भनाइ रेकर्डबाट हटाउनु नपर्ने जिकिर गरेकी थिइन् ।

एमाले प्रमुख सचेतक पदम गिरी र रास्वपा प्रमुख सचेतक सन्तोष परियारले पनि शब्द आफैं असंसदीय नहुने जिकिर गर्दै शर्माको भनाइलाई हटाउन नमिल्ने तर्क गरेका थिए ।

Logo