नेम्वाङको निधनप्रति शोक प्रस्ताव पारित

नेम्वाङको निधनप्रति शोक प्रस्ताव पारित

काठमाडौं एक्सप्रेस

काठमाडौँ, २८ भदौ : प्रतिनिधिसभाको आजको बैठकले संविधानसभाका अध्यक्ष, पूर्व सभामुख, वर्तमान प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । बैठकमा सभामुख देवराज घिमिरेले प्रस्तुत गर्नुभएको शोक प्रस्तावलाई बैठकको सर्वसम्मतले पारित गरेको हो ।

बैठकले स्व नेम्वाङको निधनप्रति शोक व्यक्त गर्दै श्रद्धाञ्जलि अर्पण गर्नुका साथै परिवार जनमा गहिरो समवेदना प्रकट गरेको छ । आजको बैठकमा स्व नेम्वाङको चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारणसमेत गरिएको थियो ।

प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा दिवङ्गत संविधानसभाका अध्यक्ष एवम् नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्बाङप्रति १ मिनेट मौनधारण गर्दै उपस्थित साांसद । तस्बिरः प्रदीपराज वन्त / रासस

विसं २००९ फागुन २८ गते जन्मनुभएका नेम्वाङको ७१ वर्षको उमेरमा मङ्गलबार निधन भएको थियो । नेम्वाङ नेकपा (एमाले) पार्टीको तर्फबाट २०४८ साल र २०५२ सालमा राष्ट्रियसभा सदस्य, २०५६ सालमा प्रतिनिधिसभा सदस्य, २०६३ सालमा पुनःस्थापित प्रतिनिधिसभा सदस्य र व्यवस्थापिका संसद् सदस्य, २०७२ मा रुपान्तरित व्यवस्थापिका संसद् सदस्य, २०७४ र २०७९ मा प्रतिनिधिसभा सदस्य हुनुहुन्थ्यो । उहाँ २०६३ सालमा पुनःस्थापित प्रतिनिधिसभाको सभामुख, २०६३ सालमै व्यवस्थापिका संसद्को सभामुख तथा २०६५ साल र २०७० सालको संविधानसभाको अध्यक्ष हुनुहुन्थ्यो ।

यसैगरी, २०५६ सालमा प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखासमिति सभापति हुनुभएका स्वर्गीय नेम्वाङ कानुन, न्याय तथा संसदीय व्यवस्था र सामान्य प्रशासन मन्त्रीसमेत हुनुभएको थियो । संविधानसभामार्फत् नेपालको संविधान निर्माणमा उहाँको अग्रणी भूमिका रहेको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही भदौ २९ गते दिउँसो १ बजे बस्नेछ ।

Logo