कोशराज रेग्मी राष्ट्रिय पत्रकारिता पुरस्कार राससका अध्यक्ष झालाई

कोशराज रेग्मी राष्ट्रिय पत्रकारिता पुरस्कार राससका अध्यक्ष झालाई

काठमाडौं एक्सप्रेस

मोरङ, २९ भदौ : कोशराज रेग्मी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार-२०८० बाट राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झालाई प्रदान गरिएको छ ।

पिताम्वर–खिलेश्वरी स्मृति प्रतिष्ठान विराटनगर र नेपाल पत्रकार महासङ्घ मोरङद्वारा आज यहाँ आयोजित कार्यक्रममा महासङ्घका पूर्वअध्यक्षसमेत रहनुभएका झालाई कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नगद रु २५ हजारसहित प्रमाणपत्रद्वारा सम्मानित गर्नुभयो ।

सो अवसरमा प्रदेश प्रमुख खापुङले समाज र मुलुकको विकास र हितका लागि सत्य र तथ्य सूचनामा आधारित समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले समाजमा जातीय, धार्मिक सद्भाव कायम राख्नका लागि पनि सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । पत्रकारिताले हिमाल, तराई र पहाडका जातजातिका भाषा, भेष, लिपीको संरक्षण गर्दै मुलुकमा शान्ति र एकता कायम राख्ने जिम्मेवारी सञ्चारमाध्यमको पनि भएको बताउनुभयो ।

राससका कार्यकारी अध्यक्ष झाले विकसित प्रविधिसँगै पत्रकारिताको पनि विकास समयानुकल विकास हुँदै जानुपर्नेमा त्यसो नभएको बताउनुभयो । उहाँले पत्रकारिता क्षेत्रको विकासका लागि राज्यका तर्फबाट लगानी बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले सहभागितामूलक लोकतन्त्रमा पत्रकारिताको भूमिका महत्वपूर्ण हुने भन्दै यसतर्फ ध्यान दिन जरुरी रहेको भनाइ राख्नुभयो ।

मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले सञ्चारकर्मीले समाजक विकृति, विसङ्गति र पछौटेपन हटाउन भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल पत्रकार महासङ्घ मोरङका उपाध्यक्ष मोहन भट्टराई, सचिव नेत्र पी अधिकारी, कविराज न्यौपाने, अनन्तराज न्यौपाने, प्रशान्त निरौलाले सञ्चारकर्मीको समाजप्रति महत्वपूर्ण जिम्मेवारी हुने भन्दै पत्रकार अझ बढी जिम्मवार हुनु आवश्यक रहेको बताउनुभयो ।

सोही अवसरमा प्रदेश प्रमुख खापुङले ६० वर्ष उमेर नाघेका पत्रकारद्वय दिनेश श्रेष्ठ र दुर्गाप्रसाद भट्टराईलाई सम्मान गर्नुभएको थियो ।

Logo