काठमाडौंमा सुरु भयो सहिष्णुता र सामाजिक शान्ति प्रवर्द्धन गोष्ठी

काठमाडौंमा सुरु भयो सहिष्णुता र सामाजिक शान्ति प्रवर्द्धन गोष्ठी

काठमाडौं एक्सप्रेस

काठमाडौं– मुस्लिम आयोगको आयोजनामा काठमाडौंमा सहिष्णुता र सामाजिक शान्ति प्रवर्द्धन सम्बन्धी दुई दिने गोष्ठी सुरु भएको छ ।

मुस्लिम आयोग र साउदी अरब दूतावास काठमाडौंको संयुक्त आयोजनामा सोमबारदेखि सुरु भएको गोष्ठीको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उदघाटन गरेका छन् ।

कार्यक्रम उदघाटन गर्दै अध्यक्ष तिमिल्सिनाले मुस्लिम आयोगले गरेका कामको प्रशंसा गरेका छन् । उनले आयोगलाई अझै सशक्त र बलियो बनाउनुपर्नेमा जोड दिए । मुस्लिम आयोगले वास्तवमै राम्रको काम गरिरहेको छ । तर, केही नीतिगत सुधार गर्नुपर्ने आवश्यकता देखेको छु, उनले भने, आयोगलाई स्रोतको अभाव छ । बजेट तलब भत्तामा मात्रै पुग्ने अवस्था छ ।

अध्यक्ष तिमिल्सिनाले संवैधानिक आयोगहरुले प्रभावकारी र सृजनशील काम गरेर आफूलाई स्थापित गराउनुपर्ने बताए । उनले नेपालको संविधानमा नै मुस्लिम समुदायको संवैधानिक हक अधिकार उल्लेख गरेको स्मरण गरे ।

कार्यक्रममा साउदीको इस्लामी मामिला मन्त्रालयका सचिव डा. दावा बिन सब्दी अलनाजीले विश्वमा देखिएको आतंकवाद र अतिवादी सोचलाई शान्तिको माध्यमबाट मध्यस्थता गर्नुपर्नेमा जोड दिए ।

मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले गएको अगष्टमा विश्व शान्ति सम्बन्धी साउदीमा भएको कार्यक्रमको निरन्तरता स्वरुप नेपालमा उच्च स्तरको कार्यक्रम आयोजना गरिएको जानकारी दिए । शान्तिको विषयमा, धार्मिक सहिष्णुताको विषयमा र भाइचारा सम्बन्ध कायम गर्न गोष्ठी सफल हुने उनको भनाइ छ ।

कार्यक्रममा साउदी अरबको इस्लामिक मामिला मन्त्रालयका सचिव लगायत ५ जना सहभागी छन् । नेपालबाट भने इस्लामिक संघ, जमियते उल्मा नेपाल, मर्कजी जमियत अहलेहदिस, ओल्मा काउन्सिलसहित मुस्लिम समुदायका सांसदहरु, प्रदेश सभाका सदस्यहरु, पूर्वमन्त्रीहरु, संविधानसभा सदस्यहरु र प्रमुख दलका मुस्लिम नेताहरु लगायत डेढ सय सहभागी छन् ।

कार्यक्रमको उदघाटन सत्रमा नेपालस्थित युएई, कतार, इजिप्ट, मलेसिया र साउदी अरबका राजदूतहरुको पनि सहभागिता थियो ।

Logo