नास्टमा स्याटेलाइट र रकेट निर्माण सम्बन्धी तालिम

नास्टमा स्याटेलाइट र रकेट निर्माण सम्बन्धी तालिम

काठमाडौं एक्सप्रेस

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टमा स्याटेलाइट र रकेट निर्माण सम्बन्धी तालिम दिइएको छ । राष्ट्रिय विज्ञान दिवस २०८० को अवसर पारेर नास्ट, ऋषिक इनोभेसन्स , द स्क्वाड अफ द चेन्ज मेकर्स र ललित महानगरपालिका-१५ को संयु्क्त आयोजना उक्त ३ दिने कार्यशाला आयोजना गरिएको हो ।

रिडिफाइन स्टिम एजुकेसन शीर्षकमा आयोजना गरिएको सो तालिममा २४ जना विद्यार्थीहरूलाई रकेट, स्याटेलाइट, एस्ट्रोनोमी र रोबोटिक्कस विधामा ३ दिने कार्यशाला गर्दै तालिम दिइएको द् स्क्वाड अफ द चेन्ज मेर्कसका सुमन भट्टराईले जानकारी दिए ।

कार्यशालामा ललितपुर महानगरपालिकाका विभिन्न १२ वटा विद्यालयमा अध्ययनरत २४ जना विद्यार्थीहरू सहभागी थिए । नास्टको मेकर्स स्पेसमा आयोजना भएको सो तालिम नास्टका उपकुलपति प्राडा दिलीप सुब्बाले उद्घाटन गरेका थिए । यस्तै नास्टका सचिव डा रविन्द्र ढकालले तालिमको शुभकामना दिँदै नास्टले नविनतम् प्रविधिको विकासमा जोड दिने बताए ।

तालिममा विद्यार्थीहरूले एउटा नानो स्याटेलाइट, रिमोटबाट नियन्त्रित एयरक्राफ्ट, स्टाकर रोबोट,मोडेल रकेट निर्माण गरेका थिए । यस्तै खगोल विज्ञान विधा अन्तर्गत स्काई म्यापिङ गर्ने र टेलिस्कोप ह्यान्डलिङ र छुद्र ग्रह खोज सम्बन्धी जानकारी दिइएको थियो ।

भट्टराई भन्छन्,’विद्यार्थीहरुलाई विज्ञान र प्रविधिमा अभिरुची बढाउने र स्टिम शिक्षालाई नयाँ रुप दिने उद्देश्य प्रायस स्वरूप यो कार्यक्रमको आयोजना गरिएको हो । ‘

नास्टले यो कार्यक्रमलाई सातवटै प्रदेशमा लैजाने योजना बनाएको छ ।

Logo