आयरल्याण्डमा सभामुखको भेटघाट सुरु, सिनेट अध्यक्षसँग भेट

आयरल्याण्डमा सभामुखको भेटघाट सुरु, सिनेट अध्यक्षसँग भेट

काठमाडौं एक्सप्रेस

काठमाडौं– साता लामो आयरल्याण्ड भ्रमणमा निस्कनुभएका सभामुख देवराज घिमिरेले द्विपक्षीय भेटघाट सुरु गर्नुभएको छ । उहाँले मंगलबार साँझ माथिल्लो सदन सिनेट (सिनड एरियन)का अध्यक्ष जेरी बटाइमरसँग शिष्टाचार भेट गर्नुभएको छ ।

भेटमा दुई देशबीच संसदीय आदान प्रदान लगायतका विषयमा छलफल भएको सभामुखका स्वकीय सचिव तेजप्रकश भट्टराईले जानकारी दिएका छन् । उनका अनुसार भेटमा सभामुख घिमिरेले दुई देशबीच कुटनीतिक सम्बन्ध स्थापना भएको २४ वर्षमा उच्चस्तरीय भ्रमण, सहयोग आदान प्रदान लगायतका काम भएको स्मरण गर्नुभएको थियो ।

सभामुख घिमिरेले विगत केही वर्षयता नेपाल र आयरल्याण्डबीच उच्चस्तरीय सम्बन्ध एवं सम्पर्क गहन हुँदै गएको बताउनुभयो ।उहाँले सन् २०१९ सेप्टेम्बरमा आयरल्याण्डको प्रतिनिधि सभाका सभामुखको नेपाल भ्रमणले दुई संसदबीचको सम्बन्धलाई घनिष्ट बनाएको उल्लेख गर्नुभएको थियो ।

सिनड एरियनका अध्यक्ष जेरी बटाइमरले संसदीय आदानप्रदानलाई दुवै देशले महत्वका साथ अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले सुरक्षा परिषदमा नेपालले आयरल्याण्डलाई समर्थन गरेकोमा धन्यवाद दिनुभएको थियो ।

नेपालको शिक्षा तथा पर्यटनका क्षेत्रमा आफ्नो मुलुक लगानी गर्न इच्छुक रहेको अध्यक्ष बटाइमरले जानकारी दिनुभएको थियो ।

Logo