लुभु–इमाडोल सडक किनार वृक्षारोपण महालक्ष्मी नगरपालिकालाई हस्तान्तरण

लुभु–इमाडोल सडक किनार वृक्षारोपण महालक्ष्मी नगरपालिकालाई हस्तान्तरण

काठमाडौं एक्सप्रेस

ललितपुर– डिभिजन वन कार्यालय, ललितपुरले लुभु–इमाडोल सडक किनार वृक्षारोपण महालक्ष्मी नगरपालिकालाई हस्तान्तरण गरेको छ ।

महालक्ष्मी ५ च्यानडाँडामा शुक्रबार बिहान भएको कार्यक्रममा वागमती प्रदेशका वन तथा वातावरण मन्त्री मसिना खड्काले नगरपालिकाका मेयर हरिगोविन्द श्रेष्ठलाई वृक्षारोपण हस्तान्तरण गरेकी हुन् ।

कार्यक्रममा मन्त्री खड्काले नगरपालिकाकाले संरक्षकत्वमा लुभु–इमाडोल सडक किनारमा हरियाली प्रवर्द्धन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । उनले रोपिएका विरुवालाई बच्चा हुर्काएजस्तै संरक्षण गर्न सुझाव दिइन् ।

बागमती प्रदेशका पूर्वस्वास्थ्यमन्त्री एवं प्रदेश सांसद रामेश्वर श्रेष्ठले वृक्षारोपणले नगरको हतियाली प्रवर्द्धन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले लाँकुरी भञ्ज्याङ्गमा रेन वाटर हार्भेस्टिङ्ग एन्ड ग्राउन्ड वाटर रिचार्ज योजना ल्याउन प्रदेश मन्त्रीको ध्यानाकर्षण गराए । वाटर हार्भेस्टिङ योजना ल्याउन सके नगरपालिकाका १ देखि ४ नम्बर वडामा खानेपानी समस्या समाधान गर्न सहयोगी हुने उनले धारणा राखे ।

नगरपालिकाका मेयर हरिगोविन्द श्रेष्ठले इमाडोल लामाटार सडक खण्डमध्ये ७ सय मिटरबाहेक सबै सडक किनारमा वृक्षारोपण भइसकेको जानकारी दिए । उनले नगर क्षेत्रका कर्मनाशा र मनोहरा क्षेत्रमा पनि नगरपालिका र नगर क्षेत्रमा शाखा कार्यालय रहेका बैंकको सहयोगमा वृक्षारोपण गरिने जानकारी दिए । उनले नगरपालिकाले हतियाली प्रवद्र्धनका लागि ४० लाख रुपैयाँ छुट्याएको जानकारी दिँदै वृक्षारोपणको अपनत्व नगरपालिकाले लिने बताए ।

नगरपालिकाका उपमेयर लक्ष्मी महर्जनले स्वच्छ सफा हरियाली शहर बनाउन नगरपालिकाले हरसम्भव प्रयास गरेको बताइन् । उनले विरुवा हुर्काउन सिँचाइका लागि चाहिने पानी ट्यांकर उपलब्ध गराउन मन्त्री खड्काको ध्यानाकर्षण गराइन् ।

डिभिजन वन कार्यालयका प्रमुख रामकुमार भण्डारीका अनुसार १८ लाख रुपैयाँको लागतमा रोपिएका ४ सय १७ विरुवा नगरपालिकालाई हस्तान्तरण गरिएको हो । उनले नगरपालिकाले वृक्षारोपणका लागि राम्रो अभिभावकत्व निर्वाह गरेको भन्दै खुसी व्यक्त गरे ।

वडा नम्बर ५ का वडाध्यक्ष कपिल केसीले नगरपालिकाले वृक्षारोपण हुन बाँकी सबै वडामा कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा नगरपालिकाका वडाध्यक्षहरु ध्रुव केसी, कुवेर केसी, कपिल केसी, बाबुराजा महर्जन, विश्वराज श्रेष्ठ, जयकृष्ण बोगटी, कार्यपालिका सदस्य माधव श्रीमाली लगायतका जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिृकत रुद्रलाल भूसाल, शिक्षा अधिकारी चिरञ्जीवी पौडेल लगायतको उपस्थिति थियो ।

Logo